• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बेन्जेमाको ह्याट्रिकसहित पिएसजीलाई पाखा लगाउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजीलाई) ३-१ गोलले र समग्रमा ३-२ ले हराउँदै रियलले अन्तिम ८ मा स्थान बनाएको हो । 

रियललाई जित दिलाउन करिम बेन्जेमाले ह्याट्रिक गरे । पिएसजीका लागि एम्बाप्पेले एक गोल फर्काए । 

बेन्जेमाले ६१, ७६ र ७८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । 

रियलको मैदानमा भएको खेलमा २१ औं मिनेटमा पिएसजीका नेयमारले प्रहार गरेको बललाई रियलका गोलकिपर कोर्तुआले बचाउ गरे । 

यस्तै, २४ औं मिनेटमा बेन्जेमाले प्रहार गरेको बल केही बाहिर गयो । खेलको ३० औं मिनेटमा नेयमार र लियोनल मेसीको कम्बिनेसन सदुपयोग हुन सकेन । नेयमारले मेसीलाई बलउपलब्ध गराएपनि मेसीले स्कोर गर्न सकेनन् ।

यस्तै, ३२ औं मिनेटमा पिएसजीका किलियन एम्बाप्पेले गरेको गोल मान्यता भएन, उनी अफसाइड रहन पुगे । 

३६ औं मिनेटमा रियलका बेन्जेमाले हेडमार्फत हानेको बल पोस्टको थोरै माथिबाट बाहिरिन पुग्यो । ३८ औं मिनेटमा नेयमारले दिएको पासलाई एम्बाप्पेले गोलमा परिणत गरे । 

यसैगरी खेलको ५३ औं मिनेटमा फेरि नेयमार र एम्बाप्पेको कम्बिनेसनमा गोल भएपनि उक्त गोलले मान्यता पाएन । नेयमारले एम्बाप्पेलाई पास उपलब्ध गराएका थिए । त्यसलाई एम्बाप्पेले गोल गरे तर, उनी अफसाइड रहन पुगे । 

६१ औं मिनेटमा पिएसजीका गोलकिपर डोनारुम्माले ठूलो गल्ती गर्दा त्यसको अवसर रियलका बेन्जेमाले उठाए । डोनारुम्माले गरेको मिस पासलाई रियलका भिनिसियस जुनियरले बेन्जेमालाई पास उपलब्ध गराउँदा बेन्जेमाले त्यस बललाई गोलमा परिणत गरे । 

७६ औं मिनेटमा लुका मड्रिचले दिएको पासलाई बेन्जेमाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । यस्तै, ७८ औं मिनेटमा पिएसजीका मार्किन्होसले हानेको बल बेन्जेमाले सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे ।