९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको सुझावलाई बेवास्ता गरेर निजामती सेवा ऐन आयो भने आन्दोलनको ज्वारभाटा सुरु गर्छौं : अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलनको ज्वारभाटा सुरु गर्ने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष ढकालले मुलुक संघीय व्यवस्थाअनुसार अघि बढिरहेको सन्दर्भमा संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि पनि संघको ऐन राम्रो बनाउनुपर्ने धारणा राखे ।

साक्षात्कारमा बोल्दै उनले भने,‘हामीले हाम्रो तर्फबाट सल्लाह र सुझावहरु दिएका छौं । सरकारले हाम्रा सुझावहरुलाई कार्यान्वयन गर्छ भन्नेमा आशावादी छौं । यदि हाम्रा सुझाव बेवास्ता गरियो भने फेरि मुलुकमा आन्दोलनको ज्वारभाटा सुरु हुन्छ । त्यसपछि के–के हुन्छ ? भन्ने कुरा थाहा छैन् । अहिले नै सबैको ध्यान पुगोस्।’

सरकारले ऐन बनाउँदा सरोकारवाला पक्षसँग गहन र गम्भिर छलफल गर्नुपर्ने उनको धारणा छ । तर, सरकारले आफूहरुसँग सरसल्लाह नगरेकोमा ढकालले असन्तुष्टि पोखे । उनले भने,‘हामीसँग सरकारले छलफल गर्नुपर्छ । हामी कुममा कुम र काँधमा काँध मिलाएर छलफल गर्न तयार छौं ।’
ढकालले अहिले निजामती कर्मचारीलाई सामूहिक राजीनामा गराउने कुरापनि गाईँगुँई चलेकोप्रति टिप्पणी गर्दै यो बेतुकको हल्ला भएको बताए । उनले भने,‘सामूहिक राजीनामाको कुरा त थप उत्तेजित र आतंकित बनाउने प्रयत्न हो ।’

उनले सबैले संविधानको मूल मर्म र भावनाअनुसार चल्नुपर्ने र बुझ्नुपर्ने धारणा राखे । उनले भने,‘निजामती प्रशासनलाई सधैं दपेट्ने काम भएको छ । निजामती कर्मचारी भनेको मौरी हो । सकारात्मक ढंगले लिईयो भने राम्रो मह दिन्छ । होईन भने मौरीको खिल हेरौं ।’
उनले आफूहरुले कोहीपनि भ्रष्ट कर्मचारीलाई जोगाउनुपर्छ भनेर नहिँडेको बताउँदै सरकारलाई राम्रो काममा सहयोग पुर्याउँदै आएको सुनाए । उनले आफुहरुको संयमतता र धैर्यतालाई कमजोरीको रुपमा नआँक्नपनि चेतावनी दिए ।

उनले आफूहरुले कोहीपनि भ्रष्ट कर्मचारीलाई जोगाउनुपर्छ भनेर नहिँडेको बताउँदै सरकारलाई राम्रो काममा सहयोग पुर्याउँदै आएको सुनाए । उनले आफुहरुको संयमतता र धैर्यतालाई कमजोरीको रुपमा नआँक्नपनि चेतावनी दिए ।