९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी विरोधी ऐन आउँदैन भन्नेमा विश्वस्त छौं: अध्यक्ष कोइराला



अ+ अ-

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष लेखनाथ कोइरालाले आफुहरुसँग प्रत्यक्ष सरोकार राख्ने ऐन बनाउँदा सरकारले पर्याप्त छलफल नगरेकोमा आक्रोश पोखका छन् । उनले भने,‘अहिले संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा छ, दफाबार छलफल चलिरहेको छ ।’ उनले ऐन बनाउँदा आफूहरुजस्ता सरोकारवाला पक्षसँग छफल गर्नुपर्ने सुझाए ।

उनले भने,‘सरकार कानून र संविधानअनुसार चल्नुपर्छ । यस्तो महत्वपूर्ण ऐन बनाउँदा हामीसँग अनिवार्य रुपमा छलफल गर्नुपर्छ ।’ कर्मचारी विरोधी ऐन आउँदैन भन्नेमा आफुहरु आशावादी भएको पनि उनले सुनाए । उनले कर्मचारीहरुलाई सामूहिक राजीनामा गराउने विषयमा टिप्पणी गर्दै भने,‘यो बोल्न सजिलो हुन्छ, तर कार्यान्वयन गर्न निकै कठिन हुन्छ ।

अहिले देशमा ३५ जना एनेस्थेसिया डाक्टरहरुले एकैपटक राजीनामा दिए भने त कुनैपनि शल्यक्रिया हुँदैन् । कर्मचारीहरुको सामूहिक राजीनामा गराउँदा के होला ? अनुमान गर्नुभएको छ ? ।’ उनले कर्मचारीहरु सचिव र मन्त्रीहरुको चाकडी गर्ने व्यक्ति नभएको पनि स्पष्ट पारे । उनले भने,‘हामी सरकारलाई सहयोग गर्न चाहन्छौं । हामी मौरी हौं । राम्रोसँग सहकार्य गरौं ।’ ऐनमा नमिलेका कुराहरुलाई संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

उनले कर्मचारीको सरुवा पारदर्शी र चक्रिय बनाउनुपर्नेमा आफुहरुले जोड दिएको पनि सुझाए । उनले भने,‘स्वचालित सरुवा भयो भने कुनै चलखेल हुँदैन् ।’ उनले कर्मचारीलाई केहीपनि होईन भन्ने कुरा नठान्नपनि सरकारलाई चेतावनी दिए । उनले थपे,‘यो देशमा परिवर्तन ल्याउन हामीले धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेका छौं । लोकतन्त्र र गणतन्त्र ल्याउन हामीले अग्रपँत्तिमा रहेर भूमिका निर्वाह गरेका छौं ।’

आफूहरु वर्तमान दुई तिहाई बहुमतको सरकारलाई काँधमा बोकेर हिँड्न तयार रहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । उहाँले ट्रेड युनियनको आवश्यकत्ताबारे सकारात्मक प्रतिक्रिया दिनुभएको छ। तर बीचमा कसले घुसपैठ गरिरहेको छ, हामीले बुझ्न सकेका छैनौं ।’ उनले अब आउने ऐन आफूहरुको र जनताको पक्षमा आएर पारित भए स्वागतयोग्य हुने कुरापनि बताए ।