१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिका कार्यालयमा तालाबन्दी



अ+ अ-

बर्दिया । विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकामा वडाध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष र सदस्यहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आज गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको, शिक्षा कार्यविधिलगायतका ऐन निर्माणमा एकलौटी रुपमा थाहा नदिई पास गरेको, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीको सेवा सुविधा अनावश्यक रुपमा थप गरिएको, शिक्षक निर्देशिका विपरीत अनावश्यक शिक्षक र विषय थप गरी नयाँ शिक्षकको विज्ञापन गरिएको भन्दै तालाबन्दी गरेको बताइएको छ ।

त्यसैगरी शिक्षकको विज्ञापन शिक्षा सेवा आयोगले लिने शिक्षक अनुमतिपत्रको परीक्षासँग जुधेको हुँदा परीक्षा स्थगित गरी र तत्काल शिक्षक तथा विद्यार्थीको अनुपातमा शिक्षक मिलान गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले कार्यालयमा तालाबन्दी गर्दा जनप्रतिनिधिहरुले कुनै सल्लाहसमेत नगरी कर्तव्य र मर्यादा विपरीतको काम गरेको आरोप लगाउनुभयो । गाउँसभाले जनाताका चाहना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेकाले जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु नसुहाउने उहाँको भनाइ छ ।