३० श्रावण २०८३, शनिबार
,
Latest
लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन



अ+ अ-

पर्वत। पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८०० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

कालीगण्डकी करिडोरको मालढुङ्गा-बेनी खण्डमा पर्ने फर्से बस्तीबाट दैनिक करिब ८१२ लिटर दूध निर्यात हुँदै आएको हो ।

यहाँका ३६ वटा व्यावसायिक पशुपालन फार्मबाट उक्तमात्रामा दूध उत्पादन हुने गरेको छ । स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थामा आबद्ध कृषकले व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएका छन् ।

बजारको समस्या नभएपछि यहाँका किसान व्यावसायिक पशुपालनमा लागेका हुन् । प्रत्येक किसानले न्यूनतम पाँचदेखि ३० वटासम्म गाईभैँसीपालन गरेका छन् ।

दैनिक ५० देखि १०० लिटरसम्म दूध उत्पादन गर्ने किसानले बस्तीमा रहेको सङ्गम दुग्ध उत्पादक सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री गर्दै आएका छन् ।

यहाँ सङ्कलित दूध छिमेकी जिल्ला बागलुङमा रहेको दुग्ध सहकारी संस्थाले खरिद गर्दै आएको छ । उक्त संस्थाले प्रतिलिटर रु ९० देखि गुणस्तरका आधारमा रु १२५ सम्मका दरले किसानबाट दूध लिने गरेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दूध बिक्रीबाट वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।

सहकारीमा दूध सङ्कलन गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयले प्रतिलिटर रु पाँचका दरले ढुवानी अनुदानसमेत दिँदै आएको छ । ढुवानी अनुदान पाएपछि किसानलाई सहज भएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार दूध उत्पादक किसानलाई सहकारीले बैंक खातामा रकम भुक्तानी दिने गरेको छ ।

दुधालु गाईभैँसीको बिमासमेत गरिएकाले किसानको पशुधन सुरक्षित भएका सहकारीका सचिव हरेमबहादुर खत्रीले बताउनुभयो । बजारको समस्या नभएकाले र पर्याप्त मूल्य पाउने भएकाले यहाँ पशुपालन गर्नेको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ ।

स्थानीय किसान राजन सापकोटाले आफूले लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकामा पछिल्लो समय गाईपालनतर्फ लागेको बताउनुभयो ।

तरकारीभन्दा गाईपालनमा कम परिश्रम र बढी मुनाफा हुने भएकाले तरकारीखेतीको विकल्प रोजेको उहाँको भनाइ छ । उहाँले मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लाग्नुभएका नारायण जिसीले विदेशमा भन्दा आफ्नै माटोमा प्रशस्त आम्दानी हुने देखेपछि वैदेशिक रोजगारी छोडेको बताउनुभयो । उहाँका अनुसार दैनिक ८० लिटर दूध उत्पादन हुन्छ ।

पशुपालन छाडेर आठ वर्ष खाडीमुलुक साउदी अरब बस्नुभएका जिसीले फेरि फर्केर यही पेसालाई निरन्तरता दिनुभएको हो । उहाँले वार्षिक रूपमा रु २५ देखि ३० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । रु १५ लाख लगानी गरेर व्यवसाय थाल्नुभएका जिसीले व्यवसायलाई अझै बढाउने योजना बनाउनुभएको छ ।

यहाँ आएर पशुपालन गर्ने हो भने कोही पनि युवायुवती विदेश जानु नपर्ने स्थानीय किसान बताउँछन् । गाईपालनसँगै व्यावसायिक तरकारीखेतीमार्फत प्रशस्त आम्दानी गर्न सकिने यहाँका किसानको अनुभव छ ।

जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिलिटर दूध ढुवानीमा रु पाँचका दरले अनुदान दिँदै आइएको बताउनुभयो । यसबाहेक चालु आर्थिक वर्षमा बृहत्तर पशु विकास कार्यक्रममार्फत रु आठ लाख कार्यालयले सहयोग गरेको छ ।

उक्त सहयोगले किसानले भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध सङ्कलनका लागि क्यानलगायत सामग्री खरिद गरेका छन् । जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउनका लागि कार्यालयले कृषक, पशुपालन गर्ने सहकारी र दुग्ध डेरीलाई विभिन्न प्राविधिक सहयोगका साथै अनुदानसमेत दिँदै आएको श्रेष्ठले बताउनुभयो । रासस