६ श्रावण २०८३, बुधबार
,
Latest
थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकैको खोस्टा उपयोगका लागि तालिम



अ+ अ-

तनहुँ। केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ ।

यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ । जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजना तथा व्यास नगरपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा मङ्गलबारदेखि यहाँ सुरु भएको पाँचदिने तालिममा ४० जना महिला सहभागी छन् ।

तालिममा सहभागीहरूलाई मकैको खोस्टालाई उपयोग गर्न विभिन्न आकारमा मोड्दै, गाँस्दै र सजावटी सामग्री बनाउने अभ्यास गराउन थालिएको छ ।

वडाध्यक्ष अनुप रानाले खेर गइरहेको मकैको खोस्टाको उपयोग गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिमपछि व्यवहारिक अभ्यासका लागि पनि प्रोत्साहन गरिने र उत्पादित सामग्रीको बजारीकरणका लागि कार्यालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । “सीप सिकेरमात्रै पुग्दैन, त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ । यस कार्यमा सहयोग गर्छौं”, वडाध्यक्ष रानाले भन्नुभयो ।

व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठले सीपलाई आयआर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताउनुभयो । उहाँले स्थानीयस्तरमा खेर जाने सामग्रीबाट लाभ लिन यस्ता कार्यक्रमको निरन्तरताका लागि पनि आग्रह गर्नुभयो ।

महिला उद्यमी सङ्घ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लले मकैको खोस्टाजस्तो सामान्य वस्तुले पनि राम्रो आम्दानी दिन सक्ने बताउनुभयो । “सिर्जनशीलता र मिहिनेत जोडियो भने खेर जाने वस्तु पनि अवसर बन्न सक्छ । त्यसैले तालिमलाई अवसरका रूपमा लिँदै आत्मर्भिर बन्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

वडासचिव सावित्री आचार्यले वडा कार्यालयले समुदायका विभिन्न समूहलाई लक्षित गरी नियमित रूपमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास बढाउनुका साथै स्वरोजगारको अवसर सृजना गर्ने उहाँको भनाइ थियो ।

जनभावना नेवाः खल मिसाः पुचकी अध्यक्ष रश्मिला ताम्राकारले महिलालाई आर्थिक गतिविधिसँग जोड्न र स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

सचिव सरिता श्रेष्ठले आमा समूह, टोल विकास संस्था तथा पुचका सदस्यहरूबाट छनोट गरी तालिम दिन थालिएको बताउनुभयो । यही जेठ २३ गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ । रासस