२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छः उपराष्ट्रपति



फाइल फोटो
अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाइसहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले सो आवशयकता औँल्याउनुभएको हो ।

उपराष्ट्रपति यादवले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक आवाज उठाउने अवसरका रूपमा पनि यस दिवसलाई लिन सक्नुपर्ने उल्लेख गर्दै संविधानमा उल्लेखित लैङ्गिक समानताका प्रावधानलाई व्यवहारमा उतार्न तथा सामाजिक चेतना फैलाउन यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “महिला अधिकारको प्रत्याभूतिबिना समाजको समान विकास सम्भव छैन, शिक्षा, स्वास्थ्य, सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, कानुनी सुधार र नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा सबै क्षेत्रबीच सहकार्य अपरिहार्य छ ।”

सम्पत्तिमा समान हक, स्थानीय तहमा महिलाको अनिवार्य प्रतिनिधित्व, राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिलाको सहभागिता तथा समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा एक तिहाइ महिलाको सुनिश्चितता, यी संवैधानिक व्यवस्थाले महिलाको अधिकारलाई संस्थागत बनाएको उपराष्ट्रपति यादवको भनाइ छ ।

महिला अधिकारका क्षेत्रमा भएका ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप हरेक वर्ष जेठ १६ गते यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । आमा वा बुबामध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा एकतिहाइ महिलाको सहभागिता सुनिश्चित गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानुनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धताजस्ता उपलब्धि दिवसका आधारस्तम्भ भएको उपराष्ट्रपति यादवले बताउनुभएको छ ।

दिवसले महिला अधिकारको संरक्षण र प्रवर्धनसँगै लैङ्गिक समानता, महिला सशक्तिकरण, न्याय र समावेशी समाज निर्माणको मार्गलाई थप सशक्त बनाउँदै अघि बढ्न उत्प्रेरित गर्ने उपराष्ट्रपति यादवको विश्वास छ ।

उहाँले भन्नुभएको छ, “राष्ट्रिय महिला अधिकार दिवसले हामीलाई लैङ्गिक समानता र महिला सशक्तीकरण समाजको समृद्धि तथा राष्ट्रको प्रगतिका लागि अनिवार्य शर्त हुन् भन्ने तथ्यलाई अंगिकार गर्न उत्प्रेरित गर्दछ, राष्ट्रिय महिला अधिकार दिवसले न्याय, समानता, समावेशिता र सशक्तीकरणका लक्ष्य प्राप्त गर्न सबैलाई एकजुट भई अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।” रासस