३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी उद्योगको प्रतिष्पर्धात्मक क्षमता बढाउन भन्सार र करको दर पुनरावलोकन गर्न संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ। सङ्घीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महशुल र करका कारण नेपाली उत्पादन महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समितिका सभापति रहबर अन्सारीले उद्योग मन्त्री, राजश्व सचिव, भन्सार विभागका महानिर्देशक र उद्योग सचिवसहित सरोकारवालाहरूसँगको छलफलपछि सरकारलाई नीतिगत सुधारका लागि निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार नेपाली उद्योगीहरूले लामो समयदेखि कच्चा पदार्थको आयातमा लाग्ने उच्च करका कारण स्वदेशी उत्पादनको लागत बढ्दै गएको र आयातित वस्तु सस्तो हुँदा बजारमा प्रतिस्पर्धा गर्न नसकिएको गुनासो गर्दै आएका थिए ।

समितिले अर्थ मन्त्रालयलाई दिएको निर्देशनमा कुन उद्योगलाई कस्तो सुविधा दिने भन्ने विषयमा स्पष्ट खाका तयार पार्न र हालसम्म प्रदान गरिएका अनुदान तथा छुट (रिबेट) हरूको प्रभावकारिता अध्ययन गरी पुनरावलोकन गर्न भनिएको छ । साथै, स्वदेशमै उपलब्ध कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरूलाई विशेष प्रोत्साहन र सुविधा उपलब्ध गराउन समेत समितिले निर्देशन दिएको छ ।

त्यसैगरी, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने सुर्तीजन्य र मदिराजन्य पदार्थ जस्ता ‘नेगेटिभ लिस्ट’ मा रहेका वस्तुहरूको कर नीतिलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप बनाउन समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

सभापति अन्सारीकाअनुसार यी वस्तुहरूको करको दायरा र भन्सार महसुललाई समयसापेक्ष परिमार्जन गरी अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुकूल बनाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइनेछ ।

समितिको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद मातृका यादवले नेपालको औद्योगिक विकासका लागि सरकारी निकायहरूबीचको समन्वय अभाव र नीतिगत विरोधाभास मुख्य वाधक रहेको बताउनु भयो ।

पूर्वमन्त्री समेत रहनुभएका यादवले सरकारका विभिन्न मन्त्रालयहरूबीच एकरूपता नहुँदा उद्योगी व्यवसायीले समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । सांसद यादवले उद्योग मन्त्रालयले उद्योग प्रवद्र्धन गर्न खोज्ने तर अर्थ मन्त्रालयको ध्यान केवल राजश्व सङ्कलनमा मात्र केन्द्रित हुने प्रवृत्तिले अन्तरविरोध सिर्जना गरेको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारी अधिकारको दुरुपयोग गरी कर्मचारीले जसरी पनि निजी क्षेत्रलाई दुःख दिने र आर्थिक लाभ खोज्ने प्रवृत्ति हावी भएको बताउनु भयो । समितिको बैठक केवल ‘कर्मकाण्डी’ मात्र हुन नहुने तर्क गर्दै उहाँले ठोस कार्ययोजना ल्याउन माग गर्नुभयो ।

औद्योगिक समस्या समाधानका लागि उद्योग, अर्थ, कृषि, वन, ऊर्जा, भौतिक पूर्वाधार र भूमिसुधार मन्त्रालयका मन्त्री तथा सचिवहरू एकै ठाउँमा बसेर छलफल गर्नुपर्ने उहाँको सुझाव छ । सांसद यादवले अनुभवी उद्योगी, विज्ञ र सचिवहरूसँगको परामर्शका आधारमा देशको उद्योग क्षेत्रलाई अगाडि बढाउने ठोस प्रतिवद्धता र नतिजामुखी मार्गचित्र सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उद्योग मन्त्रालय उद्योग कसरी फस्टाउँछ भन्छ, अर्थ मन्त्रालय पैसा कसरी आउँछ भन्नेमा मात्र चिन्तित देखिन्छ । भन्सार र कर प्रशासनले कर्मचारी र प्रहरी लगाएर उद्योगीलाई त्रसित बनाउने काम भइरहेको छ । शासक र प्रशासकसँग सरकारी कलमको शक्ति हुन्छ, तर त्यसको प्रयोग विकासका लागि भन्दा पनि अवरोध सिर्जना गरेर भेटी उठाउन भइरहेको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न र खाद्य वस्तुहरूको स्वस्थताका आधारमा वर्गीकरण गर्न सरकारसँग माग गर्नुभयो ।

नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले यस्ता हानिकारक वस्तुहरूमा नेपालमा दक्षिण एसियाकै न्युन कर हुनु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।

संसद्मा आफ्नो धारणा राख्दै सांसद न्यौपानेले नसर्ने रोगहरूको व्यवस्थापनका लागि न्युन बजेट विनियोजन भइरहेको अवस्थामा मदिरा र सुर्तीजन्य उत्पादनमा उच्च दरमा कर बढाउनु आवश्यक रहेको बताउनु भयो ।

सांसद न्यौपानेले खाद्य वस्तुहरूको गुणस्तर र त्यसले स्वास्थ्यमा पार्ने प्रभावका आधारमा ‘कलर कोडिङ’ वा निश्चित चिन्हद्वारा वर्गीकरण गर्नुपर्ने प्रस्ताव समेत अघि सार्नुभयो । खाद्य सामग्रीको प्याकेटमै उक्त वस्तु कति स्वस्थकर छ भन्ने स्पष्ट जानकारी (त्रिभुज, वृत्त वा वर्ग जस्ता चिन्ह) राखिएमा उपभोक्तालाई खरिदको निर्णय लिन सहज हुने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘मदिरा र सुर्तीजन्य वस्तुमा वर्षेनी न्यूनतम दरमा मात्र कर बढाउने परिपाटी उचित छैन । यसमा कर बढाउँदा को रिसाउँछ वा को खुसी हुन्छ भन्ने भन्दा पनि नागरिकको स्वास्थ्य हितलाई प्राथमिकतामा राख्नुपर्छ । हामी उद्योगी व्यवसायीलाई सँगै लिएर हिँड्छौँ भनिरहँदा उपभोक्ताको अधिकार र स्वास्थ्यलाई पनि बिर्सनु हुँदैन। उपभोक्ताले आफूले प्रयोग गर्ने वस्तु कति स्वस्थकर छ भन्ने थाहा पाउनु उनीहरूको अधिकार हो ।’

निजी क्षेत्र र उद्योग व्यवसायलाई प्रोत्साहन गर्दा उपभोक्ताको अधिकारलाई बिर्सन नहुने बताउनु भयो । उहाँले विगतमा पनि खाद्य वस्तुको वर्गीकरणको अवधारणा आएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै अब यसलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल