१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो
अ अ+ अ-

महोत्तरी । वर्षेनी दलित र गरीब बस्तीलाई लक्षित गरी विद्यालय भर्ना कार्यक्रम चलाइए पनि महोत्तरी जिल्लाका मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन धौधौ हुने गर्दछ । प्रत्येक वर्ष बैशाखमा घर–घर पुगेर मुसहर र बाँतर बस्तीका बालबालिकालाई ल्याएर भर्ना गरिए पनि उनीहरु विद्यालयमा टिक्न नसक्नुमा गरीबी र अशिक्षा नै मुख्य कारण भएकोे बताइएको छ ।

जिल्लामा मुसहर र बाँतर जातिका दलित समुदायको मुख्य बसोबास भएको ठाउँमा भङ्गाहा नगरपालिका क्षेत्र पहिलो नै मानिन्छ । यी जाति समुदायका बस्तीबाट वर्षेनी बालबालिका ल्याएर विद्यालय भर्ना गरिए पनि केही वर्षभित्रै उनीहरुको विद्यालय आउने क्रम टुट्ने गरेको भङ्गाहा–५ स्थित माध्यमिक विद्यालयका शिक्षक कमलबहादुर श्रेष्ठ बताउनुहुन्छ । “म करीब ३० वर्षदेखि यसै विद्यालयमा कार्यरत छु”, उहाँले भन्नुभयो, “मुसहर, बाँतर समुदायबाट एसइई उत्तीर्ण विद्यार्थी सङ्ख्या नगन्य रहेको छ ।” “मुसहर टोलबाट विद्यार्थी ल्याउनै गाह्रो, ल्याए टिकाउनै गाह्रो” श्रेष्ठले भन्नुभयो, “मुसहर र बाँतर टोलमा धेरैपटक घरदैलो गरेर बल्लबल्ल नानीहरु ल्याइन्छ तर उनीहरु यहाँ टिक्दैनन्, त्यसमा पनि छोरीलाई त विद्यालय ल्याउन झनै गाह्रो छ ।”

भङ्गाहा–३ का रिङ्कु सादाले ९ कक्षासम्म पुगेर पनि विद्यालय आउन छाडिन् । रिङ्कु मात्र नभएर सोही बस्तीकी १४ वर्षीया अम्बिका सादा ८ कक्षा पढ्दापढ्दै विद्यालय आउन छाडिन् । त्यसैगरी ७ कक्षामा पढ्दै गरेकी बिना सादा, ६ कक्षामा पढ्दै गरेका बिसालु, रुबी, रितम र पविता सबै विद्यालय आउन छाडेका छन् । जम्मा ११० घर रहेका भङ्गाहा–३ को मुसहरी टोलबाट अहिलेसम्म एउटै पनि छात्राले १० कक्षा पुगेका छैनन् भने छात्रमा पनि एक मात्र सिमल सादाले एसइई उत्तीर्ण गरेका छन् ।

भङ्गाहा–१ र २ को सिङ्ग्याही–३ को सकरी, ४ को पलार, ५ को सिद्धपुर र कर्पुरगञ्ज–६ को हतिसर्वा मजरा, ८ को धर्मपुर अन्हारवन र भङ्गाहा–९ हरिनमरीमा रहेका बाँतर बस्तीका नानी पनि विद्यालयमा टिक्न सकेका पाइँदैनन् ।

नगर क्षेत्रभित्र पाँच माध्यमिक र २५ आधारभूत तहका समेत ३० सामुदायिक विद्यालय छन् । यी विद्यालयका सेवा क्षेत्रभित्र मुसहर र बाँतर समुदायको धेरै बसोबास भए पनि यी समुदायबाट एसइई उत्तीर्ण गर्ने कक्षा १० नाघ्न नसकेका भङ्गाहा नगर कार्यपालिकाको कार्यालयमा शिक्षा शाखामा कार्यरत अरुण भुजेल बताउनुहुन्छ ।

मुसहर र बाँतर समुदायका बालबालिका विद्यालयमा टिक्न नसक्नुमा गरीबी र अशिक्षा मात्र नभई विद्यालयभित्रको कुशल व्यवस्थापन हुन नसक्नु पनि कारण रहेको मुसहर किशोरी बताउँछन् । “समयमा हामीलाई भनिएको छात्रवृत्ति दिइँदैन, पैसाको अभावले कापी, कलम जुटाउन सकिन्न अनि के जानु स्कूल ?” आठ कक्षामा पढ्दापढ्दै विद्यालय जान छाडेकी सोही बस्तीकी अम्बिका सादाले भनिन्, “हामीले सोधेको कुरा पनि शिक्षकहरुले राम्ररी जवाफ दिनुहुन्न । उल्टै हप्काउनुहुन्छ, बुझेका हुँदैनौँ, परीक्षा आइपुग्छ, अनि के लेख्न जानिन्छ र स्कूल जानु ?” आफहरु अझै पढ्न चाहे पनि परिवार, विद्यालय र वरपर समाज सहयोगी नभएका कारण शिक्षा आर्जनबाट बञ्चित रहनुपरेको मुसहर किशोरीको गुनासो छ ।

माध्यमिक विद्यालय भङ्गाहाका प्रधानाध्यापक श्रीराम यादव यो गुनासोसँग सहमत हुनुहुन्न । “विद्यालयभित्र मुसहर, बाँतर बालबालिकाले पठनपाठनको अवसर नपाएका भन्ने होइन, सबै विद्यार्थीसँग हामीले समान व्यवहार गरेका छौँ”, यादवले भन्नुभयो, “दलितका लागि भइआएको व्यवस्थाअनुसारको सुविधा दिएका छौँ ।”

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भने आफ्नो नगर राज्यबाट उपेक्षित भएको हुँदा शिक्षामा सुधार आउन नसकेको बताउनुहुन्छ । “नगरपालिकामा शिक्षा शाखा हेर्न उपसचिव स्तरका कर्मचारीको कल्पना गरिएको छ तर बिडम्बना हाम्रो नगरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिलेसम्म एकजना खरदार पनि पठाएको छैन”, प्रमुख साहले रोष व्यक्त गर्दै भन्नुभयो ।

जिल्लामा मुसहर जातिको धेरै बसोबास भएको बर्दिवास, गौशाला, औरही, लोहारपट्टी र बलवा नगरपालिका र एकडारा गाउँपालिकाका विद्यालयमा पनि मुसहर बालबालिका टिकेका पाइँदैनन् । पठनपाठनको समय बाहिरको समयमा ‘टाल–पुल्ली’ ९काठको टुक्रा डण्टाले उडाएर खेलिने एक प्रकारको खेल० खेल्ने प्रयोजनबाहेक विद्यालय परिसरमा यिनीहरु जाँदैनन् ।

बाँतर समुदाय भने भङ्गाहाबाहेक अन्यत्र खासै देखिँदैनन् । खासमा मुसहर समुदायका बालबालिकाका हातमा कापी, कलम नभई मुसा खोज्न दुलो खन्ने खुर्पी (माटो खन्ने सानो फलामे औजार) लिएर हिँडेको गरेको देखिन्छ ।

मुसहर र बाँतर समुदायका पछिल्लो पुस्ताका किशोरीहरुमा विस्तारै पढ्नुपर्छ भन्ने भावना जागृत हुन थालेको छ । “पढ्ने रहर छ, घरनजिकै स्कूल पनि छ”, गौशालाको मनर्वा बस्तीको मुसहरीटोलकी १६ वर्षीया समुन्द्री सादाले भनेकी थिइन्, “घरपरिवार, छरछिमेक र विद्यालयका शिक्षक सहयोगी नहुँदा पढ्न पाइएन ।” किशोरावस्थामा टेकेपछि बाबुआमाले नै पनि विद्यालय जान नदिएका मनर्वाका मुसहर किशोरी बताउँछन् ।

जिल्लाका मुसहर बालबालिकालाई विद्यालयमा टिकाउन थप पहलकदमी शुरु नगरिए कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने सरकारको लक्ष्य हासिल गर्न कठिनाइ हुने शिक्षाविद् बताउँछन् । सामुदायिक विद्यालयका शिक्षकमा सेवा भन्दा जागिरे मनस्थिति हुनु, राजनीतिक दल र जनप्रतिनिधिले विद्यालयलाई राजनीतिक अखडा बनाउनु र विद्यालयबाट प्रवाह हुने सेवाबारे उदासिन बन्नुजस्ता कारणले सामुदायिक विद्यालयको पठनपाठन राम्ररी हुन नसकेको उहाँहरुको तर्क छ ।