१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

भगवानको भरोसामा चल्दै दुर्गमका स्वास्थ्य संस्था

भगवानको भरोसामा चल्दै दुर्गमका स्वास्थ्य संस्था
अ अ+ अ-

जाजरकोट । सौर्य ऊर्जा तथा विद्युत्को अभावमा यहाँका दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा सल्लीको दियालो बालेर सुत्केरी सेवा दिन बाध्यता रहेको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणसँग जोडिन नसकेको जाजरकोटका दुर्गम गाउँ र डोल्पाका अधिकांश गाउँमा सल्लाको दियालोको भरमा दैनिक स्वास्थ्य संस्थामा आउने गर्भवतीको सुत्केरी गराउनु पर्दा अनेक समस्या आउने गरेको चिकित्सकहरु बताउँछन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरमा रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसुति केन्द्रमा बत्तीको अभावमा मोबाइलको लाइटको भरमा सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । त्रिपुराकोट स्वास्थ्य चौकीका इञ्चार्ज अहेब तुलबहादुर श्रेष्ठले भन्नुभयो, “गएको साउनयता मात्रै १६ जना सुत्केरीको मोबाइल टर्च र दियालो बालेर सुत्केरी गराइएको छ । सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशील कामका लागि उज्यालो र न्यानो ठाउँको आवश्यकता पर्ने भए पनि त्रिपुराकोट स्वास्थ्य चौकीमा भरपर्दो बत्तीको व्यवस्था छैन ।”

उहाँले थप्नुभयो, “चिसोमा आमा र बच्चा दुवैको ज्यान जोगाएर सफल सुत्केरी गराउन विभिन्न तरिका अपनाउनुपर्ने भएकाले हिटरलगायतका उपकरण प्रयोग गर्न र उज्यालोका लागि भरपर्दो बत्ती नभएकाले मोबाइल टर्चलगायत दियालोको उज्यालोका भरमा पनि सुत्केरी गराउनुपर्ने बाध्यताले समस्या छ ।” दुई वर्षको सुनिश्चित भनिएपनि ‘स्वच्छता’ नामक संस्थाले जोडेको सोलार एक वर्ष नपुग्दै बिग्रेपछि त्रिपुराकोट स्वास्थ्य चौकीअन्तर्गतको प्रसूति केन्द्रमा समस्या आएको हो ।

डोल्पामा रहेका स्वास्थ्य चौकीमा दक्ष अनमी नहुँदा र सुत्केरीसम्बन्धी तालीम नलिएका करारका कर्मचारीले सुत्केरी गराउँदा पनि समस्या सिर्जना हुने गरेको छ । सुत्केरी गराउनका लागि छुट्टै प्रसूतिसम्बन्धी तालीम लिएको अनमी आवश्यक पर्छ । प्रसूति केन्द्र सञ्चालन गरिएका प्रत्येक स्वास्थ्य चौकीमा एक जना एसबीआई तालीम प्राप्त अनमी अनिवार्य हुनुपर्ने भनिए पनि स्वास्थ्य चौकीमा गत साउनदेखि तालीम नलिएका अनमीले सुत्केरी गराउँदै आएका छन् ।

नगरपालिकाले करारमा भए पनि तालीम प्राप्त अनमी भर्ना गर्नुपर्ने स्वास्थ्य चौकीका प्रमुख अहेब तुलबहादुर श्रेष्ठले बताउनुभयो । दुई जना स्थायी अनमी दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल एक जना करार त्यसमा पनि तालीम नलिएकी अनमी र एक जना मासिका मात्र कार्यरत छन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु, पहाडा, सुँ र त्रिपुराकोटसहितका पाँच वटा स्वास्थ्य चौकीमध्ये चार वटा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनमा रहे पनि बत्ती नहुँदा प्रसूति सेवा प्रवाहमा समस्या भएको छ । फुल्चिङ स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री पठाइए पनि काम शुरु भएको छैन । मुड्केचुला गाउँपालिका–३ काशीलखोलामा गएको पहिरोबाट विद्युत् उत्पादन गृह बगाएपछि फेम्ली अस्पतालको सेवा ठप्प हुँदै आएको छ । उपल्लो डोल्पामा वर्षमा एकपटक मात्र औषधि पुग्ने गर्दछ ।

यहाँका अधिकांश महिला सुत्केरी सेवादेखि नियमित स्वास्थ्य सेवा प्रवाह यहाँ गुम्बामा रहेका आम्चीले गर्दै आएका छन् । भगवान्को भरोसमा उपल्लो डोल्पाका गर्भवती सुत्केरी हुँदै आएको बताएका छन् । तल्लो डोल्पाका अधिकांश ठाउँमा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा असुरक्षितरुपमा घरमै सुत्केरी हुन बाध्य भएको जगदुल्ला गाउँपालिका–४ का रामे रोकायले बताउनुभयो ।

जाजरकोटको जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकाका स्थानीय महिला नियमित स्वास्थ्य परीक्षण नगरी घरमै सुत्केरी हुने गरेका छन् । स्वास्थ्य संस्था टाढा हुँदा उनीहरु घरमै असुरक्षितरुपमा सुत्केरी हुन बाध्य भएका हुन् ।

जाजरकोट र डोल्पाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा लिइएको १८ जना सुत्केरीले नियमित स्वास्थ्य संस्था गएर जाँच नगरेको बताएका थिए । गाउँमा रहेका स्वास्थ्य संस्थामा प्राप्त मात्रामा उपकरण नहुँदा हातले छामेर उपचार गर्दा सबै कुरा थाहा नहुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।