१८ आश्विन २०८१, शुक्रबार
,
Latest
राहत सामग्री नपाएको बाढीपीडितको गुनासो अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचार गर्न हेलिकोप्टर चाटर्ड



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका १० जिल्लाका कतिपय बिरामीहरु सुर्खेत तथा काठमाडौंमा हेलिकोप्टर चाटर्ड गरी उपचार गर्न आउने गर्छन् । छोटो दुरीमा रहेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार नगराई सुर्खेत र काठमाण्डौ जाँदा हेलिकोप्टर चाटर्डमा राज्यकोषको ठूलो रकम दुरुपयोग भईरहेको छ ।

कर्णाली प्रदेशको १० वटै जिल्लालाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय सैया छन् । प्रतिष्ठानले सबै जिल्लाका बिरामीलाई उपचार गर्न सक्ने क्षमता पनि राख्दछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हेर्दा कुनै विकसित शहरको मेडिकल अस्पताल भन्दा कम लाग्दैन । तीन बेडको सघन उपचार कक्ष (आइसीयु) पनि सञ्चालनमा छ । मेडिकल कलेजको रुपमा विकास गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेक किसिमका जटिल रोगहरुको पनि उपचार संभव छ । तर छोटो दुरीको प्रतिष्ठानमा उपचार नगराई त्यस क्षेत्रका विरामीलाई सुर्खेत र काठमाण्डौ लैजाने गरिएको र सो क्रममा राज्यकोषको ढुकुटी दुरुपयोग भएको दाबी जिल्ला समन्वय समितिको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगत विकास तथा प्रविधि समितिको अनुगमन टोलीसंगको अन्र्तरक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले हेलिकोप्टर चाटर्ड गर्दा राज्यको लाखौं रुपैया दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो । नजिकै सुविधा सम्पन्न अस्पताल हुदा हुदै उपचारको नाममा भएको रकमको दुरुपयोग रोक्ने प्रयास नगरि राज्यले आफ्नो निरिहता देखाएको आरोप पनि उहाँले लगाउनुभयो ।

डोल्पा, हुम्ला लगायतका स्थानबाट आधा घण्टामा प्रतिष्ठानमा हेलिकोप्टरबाट पुग्न सक्ने भएपनि त्यस क्षेत्रका बिरामीलाई सुर्खेत तथा काठमाडौं ल्याईने गरिएको छ । त्यसो गर्दा लामो दुरीका कारण कतिपय विरामीको बाटो मा नै मृत्यु हुने गरेको छ । प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन कुमार रोकायले २० जना मेडिकल अफिसर र विशेषज्ञ चिकित्सकहरु सहित २८ जनाले सेवा दिईरहेको बताउनुभयो ।

दुर्गम हिमाली जिल्ला भएकाले प्रतिष्ठानमा विद्युतको समस्या सबैभन्दा बढी छ । विद्युत कै कारण विभिन्न मेडिकल उपकरणहरु सञ्चालनमा समस्या रहेको डा. रोकायले बताउनुभयो । उहाँले हिंउँदमा हिउँ पर्ने र वर्षादको समयमा बाटो अवरुद्ध हुने हुुँदा औषधिको अभाव हुन गई विरामीको उपचारमा कठिनाई हुने गरेको समेत बताउनुभयो । तर पनि चिकित्सकहरुको सावधानी र विज्ञताले जटिल रोगहरुको उपचार तथा सल्यक्रिया पनि भईरहेको उहाँले बताउनुभयो ।

दुर्गम क्षेत्र भएकाले प्रतिष्ठानमा विद्युत् आपूर्ति, औषधी, रगत तथा रगतजन्य सामग्रीहरुको अभाव हुँदा बिरामीको उपचारमा बेला बेलामा समस्या देखिने गरेको छ । यस्ता समस्यालाई सम्बोधन गर्दे उपचार संभव भएर पनि ठूलो रकम खर्चेर टाढाको अस्पताल लैजाने प्रवृत्तिको अन्त्य गर्ने तर्फ सरकारले समयमै सोच्नुपर्ने देखिन्छ । अन्यथा प्रतिष्ठान र उपचारको नाममा हेलिकोप्टर चाटर्डमा राज्यकोषबाट हुने दोहोरो खर्च रोकिने देखिदैन ।