१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत

रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत
अ अ+ अ-

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको छ ।

आजदेखि सौराहामा सुरु गरिएको विस्तारित बैठकमा अर्यालले ३४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको स्वीकार गर्नुभयो । प्रतिवेदनमा भनिएको छ, “रास्वपाले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन माग गरेको छ, जसमा दोषीलाई कारबाही गरिनुपर्छ ।” उहाँले घटना योजनाबद्ध भएको आशङ्का गर्दै दोषीलाई कारबाही नगरे न्याय स्थापित नहुने बताउनुभयो ।

आजबाट सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनाबद्ध हो कि भन्ने आशङ्कालाई पनि बढाएको छ ।”

दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन नसक्ने भन्दै प्रतिवेदनमा दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढ्ने उल्लेख गरिएको छ । दोषीलाई कारबाही गरेर मात्र पीडितले न्याय पाउँछन् र कानुनी राज्यको प्रत्याभूति हुनेछ भन्ने उल्लेख गरिएको छ । छानबिनबाट मात्र भविष्यमा राज्यले बल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, भीड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिने उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई आफ्नो ‘अर्जुनदृष्टि’ बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने राजनीतिक कार्यदिशा तय गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यवाहक सभापति अर्यालले चुनाव केन्द्रित रणनीति र त्यसका लागि वैकल्पिक शक्तिहरूबीच एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गरेको बताउनुभयो ।

प्रतिवेदनमा आगामी चुनावलाई देशको रूपान्तरणका लागि निर्णायक अवसरका रूपमा चित्रण गरिएको छ । पार्टीले स्पष्ट बहुमतको सरकारले मात्र देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य गर्न, नीतिगत स्थिरता प्रदान गर्न र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सक्ने ठहर रास्वपाले गरेको छ ।

महामन्त्री बुर्लाकोटीे तीन जिल्लाबाहेक अन्य जिल्लामा सङ्गठनको संरचना पुगेको बताउनुभयो । ७४ जिल्लमा साङ्गठनिक संरचना बनिसकेको र विभिन्न आयोग तथा साङ्गठनिक संरचना निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । हालसम्म चार सय ६४ पालिकामा अधिवेशन सम्पन्न भइसकेको उहाँको प्रतिवेदनमा उल्लेख छ ।

दुवै जनाको प्रतिवेदनमाथि सातवटा समूह बनाएर छलफल जारी रहेको छ । शनिबार तीनवटा प्रतिवेदनमाथि छलफल हुनेछ । जसमा उपसभापति स्वर्णिम वाग्लेको चुनावी बाचापत्र, सहमहामन्त्री विपिन आचार्यको उम्मेदवार छनोटसम्बन्धी प्रतिवेदन र रास्वपा सभापतिको रिहाइका लागि सङ्कलन गरिएको हस्ताक्षरसम्बन्धी प्रतिवेदन पेस हुनेछ । ती प्रतिवेदनमा सामूहिक छलफलसँगै आगामी कार्यदिशासहित विस्तारित बैठक सकिने महामन्त्री बुर्लाकोटीलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा देशभरका पाँच सय १२ जना प्रतिनिधि सहभागी भएका छन् ।

बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी सङ्गठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूको उपस्थिति रहेको थियो । रासस