२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारू समुदायमा अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै



अ+ अ-

कञ्चनपुर। यहाँका थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ । बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो ।

परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङको प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा भगवान् श्रीकृष्णसहित अन्य जीवनशैलीमा आधारित परम्परागत चित्र बनाउने प्रचलन रहेकामा उक्त प्रचलन हट्दै गएको स्थानीय कालुराम चौधरीले बताउनुभयो ।

“पहिला अष्टिम्कीका अवसरमा घरको बैठक कोठामा सुन्दर र आकर्षक चित्र बनाउने हतारो हुन्थ्यो”, उहाँले भन्नुभयो, “कसैले परम्परागत तरिकाले तयार गरेका रङ र कसैले बजारबाट खरिद गरेर ल्याएका रङको प्रयोग गरी चित्र बनाउनमा व्यस्त हुन्थे, विशेषगरी व्रतालु महिलाहरू चित्र बनाउने कार्यमा संलग्न हुन्थे ।”

उहाँका अनुसार कुनै गाउँमा वरघरिया (गाउँको मुख्य व्यक्ति)को घरमै चित्र कोरेर सामूहिक रूपमा त्यहाँ जम्मा भएर भगवान् श्रीकृष्णको पूजाआजा गर्ने परम्परा थियो । केही गाउँमा घरघरमा वा टोलका कुनै एक घरमा चित्र बनाएर पूजा गर्ने चलन थियो ।

“अष्टिम्की पर्वका अवसरमा आजभोलि पनि पूजा हुन्छ, तर परम्परागत शैली परिवर्तन भएको छ”, शुक्लाफाँटा नगरपालिका–१० का गुरुवा हिमाली चौधरीले भन्नुभयो, “पहिलेको जस्तो चित्र बनाउन जान्ने बूढापाका गाउँमा छैनन्, युवाहरूले सीप सिक्नै मान्दैनन् । सोही कारणले बजारबाट बनिबनाइएका अधुनिक पोष्टर ल्याएर पूजा गर्ने चलन चल्न थालेको छ ।”

थारू समुदायका घरघरमा रहेका बैठक कोठामा अष्टिम्कीमा मानव जातीले जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलाप आकर्षक चित्रका माध्यमबाट देखाउने गरी कोर्ने परम्परा रहेको थारू सामाजिक अभियन्ता हबलदार चौधरीले जानकारी दिनुभयो ।

“ब्रह्ममुहूर्तमा दर खाएपछि घरमा रहेको ब¥ही (बैठक) कोठमा व्रतालु थारू महिलाले आफ्नै हातले कान्हा अर्थात् भगवान् श्रीकृष्णको चित्रसहित अन्य लोकचित्रहरू बनाउने गर्दछन्”, उहाँले भन्नुभयो, “चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गङ्गटा, सर्प, कुकुर, रूखमा बसेका बाँदर, गड्याँैला, कछुवा, हात्ती, घोडा, गोरु, ऊट, कुखुरा, मयूर, बिच्छी, बासुकी नागलगायत जलचर र थलचर प्राणीका चित्र बनाउने गरिन्छ ।”

यी चित्रहरू अन्न राख्ने भाँडो र भित्तामा बनाउने गरिएको सामाजिक अभियन्ता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार चित्र बनाउने व्यक्तिलाई बीच भागमा दुलही अन्माउँदा दुलहीलाई लैजाने डोलेसहित डोलीको चित्रका माध्यमले देखाउने गरिन्छ ।

हाल यस्ता चित्र बनाएर अष्टिम्की पर्व मनाउने चलन कम थारू गाउँमा जीवित रहेको अभियन्ता चौधरीले बताउनुभयो । “अधिकांश गाउँमा अष्टिम्कीमा चित्र कोर्ने चलन हराइसकेको छ”, उहाँले भन्नुभयो, “केही गाउँमा मात्रै जीवित छ, थारू संस्कृति र पहिचानसँग जोडिएको यो लोककलालाई जीवन्त राख्नका लागि थारू अगुवाहरूले पुस्तान्तरणमा जोड दिनुपर्छ ।”

पहिले महिलाहरूले मात्रै अष्टिम्कीका बेला चित्र बनाउने उल्लेख गर्दै उहाँले पछि पुरुषहरूले पनि चित्र बनाउन थाका स्मरण गर्नुभयो । अहिले कला, संस्कृति पुस्तान्तरण नहुँदा बजारबाट पोष्टर ल्याएर घरका भित्तामा टाँस्ने र पूजा गर्ने चलन बढ्दै गएको उहाँको भनाइ छ ।

“सिलौटामा पिँधेको चामल, धानको भुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाएर रङमा डुबाई चित्र बनाउने गरिन्थ्यो”, थारू समाजसेवी रेवन चौधरीले भन्नुभयो, “त्यसपछि बजारमा पाइने आधुनिक रङहरूमा कुचीको प्रयोग गरी चित्र बनाउने गरिन्थ्यो, हाल त्यो पनि देख्न पाइँदैन ।”

सृष्टिको रचनादेखि मानव जातिलाई बाँच्नका लागि आवश्यक पर्ने वस्तुहरू चित्रका माध्यमले व्यक्त गर्ने भएकाले थारू समुदायको लोक चित्रकलाको अत्यधिक महत्व रहेको उहाँले बताउनुभयो । थारू संस्कृतिका जानकारका अनुसार यो समुदायमा पाँच हजार वर्षअघि देखि चित्र बनाउने कलाको सुरुआत भएको थियो ।

थारू समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेँडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाइने जनाउँदै समाजसेवी चौधरीले चित्रमा लगाइने रङहरूको आ–आफ्नै महत्व र विशेषता रहेको बताउनुभयो ।

उहाँका अनुसार काले रङ शून्यताको प्रतीक, रातो जीवनको उमङ्ग, हरियो धैर्यताको प्रतीक, पहेलो रङ बुद्धिमताको, खैयर शरीरको संवेगात्मक अवस्थाको र नीलो रङलाई परम्परा र मूल्यमान्यताको प्रतीकका रूपमा लिने गरिएको छ ।

अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्ने कार्य गरेपछि महिलाले निराहार व्रत बसी परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने परम्परा रहेको दानसिंह दहितले जानकारी दिनुभयो । “घरका सबै सदस्य पूजा गर्ने ठाउँमा जम्मा भएर पूजाका गतिविधिका सहभागी हुन्छन्”, उहाँले भन्नुभयो, “व्रतालु महिलाले चोखो गरी पकाएका खाना र फलफूल प्रसादका रूपमा सबैले ग्रहण गर्दछन् ।”

अष्टिम्कीको रातभरि जाग्राम बसी घरका सबैले श्रीकृष्णको परम्परागत लोकभाखामा गीत गाउने र नाच्ने गर्दछन् । अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी चालमसहितको दियो बनालेर नदी वा तलाउमा विर्सजन गरी स्नान गरेर परिवारका सबै सदस्य घर फर्कछन् । घरमा बनाइएका पकवानको केही भाग भगवान्लाई अर्पण गरी व्रतालु महिलाले भोजन ग्रहण गर्दछन् ।  रासस