१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोको पिरलोमा सर्वसाधारण



file photo
अ+ अ-

ताप्लेजुङ । ताप्लेजुुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङस्थित मुक्तुरा बस्तीका सात घर परिवार गत वर्ष गएको पहिरोका कारण विस्थापित बने । बस्तीको बीच भागबाट ठूलो पहिरो झरेपछि उनीहरु अन्यत्रै सरेका हुन् । पहिरोको आसपासका १० घर परिवार अहिले जोखिम मोलेर बसेका छन् । निरन्तरको झरीले रातभर ढुक्कले सुत्ने अवस्था छैन । केही दिनयता निरन्तर वर्षा भइरहेको छ । शनिबार राति ठूलो वर्षा भएपछि त्यहाँका वडाध्यक्ष पूर्ण लिम्बूले राति नै फोन गरेर सतर्क र सुरक्षित रहन आग्रहसमेत गरे । 

यता फक्ताङलुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभूत विद्यालय आसपासका बासिन्दा गत असार २ गते यता पहिरोको त्रासमा छन् । असार २ गते माथिबाट झरेको पहिरोले सोही विद्यालयको भवन नै बगाएको र बस्तीमा पहिरोको थप जोखिम भएको भन्दै स्थानीय तीन घर परिवार आजकल छिमेकीको घरमा गएर सुत्ने गरेका छन् । 

“पानी नपर्दा घरैमा सुत्छौँ, पानी पर्ना साथ छिमेकिको घरमा पुग्छौँ, ज्यान जोगाउनै पर्यो”, स्थानीय भक्त लाबुङले भने । विद्यालयको चार कोठे भवनसँगै लाबुङको समेत भान्सा घर र सुँगुर बगाएको थियो । केही दिनयता निरन्तर पानी परिरहेको र पहिरो झरिहाल्छ कि भन्ने पिरले राति सुत्न छिमेकीकहाँ जाने गरेको लाबुङले बताए । 

तमोर नदी किनारमा पर्ने दोभान बजारलगायतका बासिन्दालाई पनि बाढीले बगाउला कि भन्ने पिर छ । मनसुन सक्रिय भएसँगै जिल्लाका अधिकांश क्षेत्रका बासिन्दा पहिरोको पिरलोमा परेका छन् । बर्सेनि यो जिल्लामा पहिरोले क्षति पुर्याउँदै आएको छ । चार वर्षअघि मात्रै जिल्लाको लिवाङ, खोक्लिङलगायतका ठाउँमा पहिरोले ५९ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको थियो । 

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खनिएका सडकले समेत पहिरोको जोखिम बढाएको स्थानीयवासी बताउँछन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार विपद् व्यवस्थापनमा स्थानीय तहसमेत जिम्मेवार छ तर स्थानीय तहले भने विपद्का घटना तथा जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना तथा कार्यक्रम बनाउन नसकेको भन्दै सर्वसाधारणले गुनासो गर्ने गरेका छन् । 

यता जिल्ला विपद् व्यवस्थापन समितिले गएको शुक्रबार बैठक बसेर सबै सुरक्षा एकाइलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । स्थानीय तहका प्रमुख साथै वडाध्यक्षहरुलाई समेत विपद्का घटनाको जोखिम व्यवस्थापनका लागि ध्यान दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष डोरेन्द्र निरौलाले जानकारी दिए ।