
महोत्तरी। संसारभरी आज सुरक्षित तथा स्वच्छ पानीको महत्व दर्साउन विश्व पानी दिवस मनाइँदा महोत्तरीको उत्तरी क्षेत्रका स्थानीयले भने यसपटक चैतमै खानेपानीको सङ्कट खेप्नु परेको गुनासो गरेका छन् । चैत सुरु भएसँगै जिल्लाका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानी मुहान सुक्दैजाँदा यहाँ खानेपानीको सङ्कट गहिरिँदै गएको छ ।
एक दशकअघिसम्म जेठमा मुहान सुक्दा पानीको समस्या झेल्नुपरे पनि पछिल्ला वर्षमा फागुन नसकिँदै समस्या सुरु हुने गरेको बर्दिबास–१४ का राम अधिकारी बताउनुहुन्छ । “पहिलेपहिले पनि सुख्खा खडेरी लाग्थ्यो, त्यतिखेर नदीनाला र खोल्साखोल्सीमा पानी घट्थ्यो तर सधैँ त्यस्तो हुँदैनथ्यो”, उहाँले स्मरण गर्नुभयो,“पछिल्ला वर्षमा त बर्सेनि चैतमै खानेपानीको हाहाकार हुने गरेको छ ।” जिल्लाका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिकाका बस्तीमा धारा, चापाकल र इनारमा पानी आउन छाडेपछि अब वैशाख र जेठमा झन के होला भन्ने चिन्ता बढेको अधिकारीले बताउनुभयो ।
बर्दिबासका अधिकांश बस्तीमा धाराबाट पानी आपूर्ति हुँदै आएको छ । चैत सुरु भएसँगै धारामा दिउँसो पानी झर्न छाडेको छ । राती अबेर धारामा पानी आउने गरे पहिलेको भन्दा थोरै पानी आउने भएकाले समस्या हुने गरेको बर्दिबास–२ ॐशान्तिचोककी नगिना महतोको गुनासो छ । “बिहान उज्योलो भएदेखि नै दिउँसभरि धारामा पानी आउन छाडेको एक साता नाघ्यो । राति सुत्ने बेला पानी पर्खेर बस्नुपर्छ”, उहाँले भन्नुभयो ।
दिनभरि पानी नआएपछि पिउन, नुहाइधुवाइ र सरसफाइका लागि राति नै जोहो गर्नुपरेको नगिनाले दुःखेसो पोख्नुभयो । बर्दिबासका १४ वडाभित्र रहेका ५० भन्दाबढी टोलमध्ये करिब ३० वटा बस्तीमा खानेपानीको मुख्य स्रोतका रूपमा धारा रहेको छ । केही बस्ती इनार र चापाकलमा निर्भर छन् ।
धारामा पानी आपूर्तिका लागि नदी तथा खोल्साखोल्सीको पानी मुख्य स्रोतका रूपमा रहेको छ । हाल नदी र खोल्साखोल्सीका मुहानमा पानी सुक्दै गएपछि चैतको सुरुमै खानेपानीको सङ्कट बढेको हो । यसैगरी इनारबाट पानी प्रयोग गरिने वडा नं ७, ८, ९ , १२ र १३ का बस्तीमा पनि खानेपानीको समस्या बढ्दै गएको छ ।
इनारमा पानीको सतह घट्दै छ । त्यसैले पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाडेको बर्दिबास–९ पशुपतिनगरकी गृहिणी शैल महतो बताउनुहुन्छ । बर्दिबास–१२ का केही बस्तीमा चापाकलको पानी प्रयोग गरिन्छ । यी बस्तीका चापाकलमा पनि पानी निकै कम आउने गरेको बर्दिबास–१२ बिजलपुराकी प्रतिमा कोइरालाले बताउनुभयो ।
यसैगरी गौशाला र भङ्गाहा नगरपालिकाका केही बस्तीमा पनि पानीका मुहान सुक्दै गएका छन् । गौशाला नगरक्षेत्रमा पनि धेरैजसो बस्तीमा धाराबाट खानेपानीको आपूर्ति हुँदै आएको छ । यहाँका धारामा पनि पानी ल्याइने स्रोतका मुहान सुकेपछि समस्या बढ्दै गएको हो । गौशालाका दक्षिणी भेगमा चापाकलको पानी प्रयोग गरिन्छ । यहाँका चापाकलमा पनि पानी निकै कम आउन थालेको गौशाला–६ का तेजनारायण यादवले जानकारी दिनुभयो ।
यस्तै, नौ वटा वडा रहेको भङ्गाहा नगरपालिकाका वडा नं ४ र ५ मा खानेपानीको समस्या हुनथालेको छ । इनार र चापाकल मुख्य स्रोत रहेका यहाँका पलार, रामनगर, प्रेमनगर, टोका, धतीयाटोल, भूचक्रपुर र राजपुरसहितका बस्तीका इनार र चापाकल सुक्न थालेका छन् । इनारमा पानीको सतह निकै तल पुगेको भङ्गाहा–४ रामनगरकी दीपमायाँ श्रेष्ठ बताउनुहुन्छ ।
यसपालि हिउँदे वर्षा नहुँदा नदी, खोल्साखोल्सी चाँडै सुकेकाले चैतमै पानीको सङ्कट देखिन थालेको जानकारहरू बताउँछन् । हाल नदी र खोल्साखोल्सीबाट भण्डारण गरिएको पानी समय तालिकाअनुसार सबैतिर वितरण गर्दा केही घण्टा धारामा पानी छोड्न नसकिएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । प्राकृतिक कारणले पानीका स्रोत सुक्दै गएपछि भण्डारणगृह र धारामा पानी कम भएको संस्थाका अध्यक्ष भुलन सेन ठकुरीले बताउनुभयो । यस संस्थाले बर्दिबासका वडा नं १, २, ३, र १४ मा पानी आपूर्ति गर्दै आएको छ ।
“धारामा चौबिसै घण्टा पानी दिइन्थ्यो, अहिले मुहानमा पानी घट्दा केही घण्टा बिराएर पानी दिइएको छ”, अध्यक्ष ठकुरी भन्नुहुन्छ, “अब यसको दीर्घकालीन समाधान खोजिदैछ, कतिपय ठाउँमा ४०० फिट गहिराइसम्म बोरिङ्ग जडान गरेर मोटरबाट टङ्कीमा पानी भण्डारण गर्न थालिएको छ ।” यसरी साउनदेखि फागुनसम्म नदी, खोल्साखोल्सीको पानी र गर्मी बढ्दा बोरिङ्गबाट पानी व्यवस्थापन गर्दा आपूर्ति सहज हुने उहाँको विश्वास छ । पानीको सङ्कट बढ्दै जाँदा मानिसमात्र नभएर घरपालुवा जनावर, चराचुरुङ्गी र वन्यजन्तुलाई पनि समस्या भएको छ । यसैगरी बालीनाली पनि पहेंलिएर सुक्दैछन् ।
“गर्मी बढ्दो छ, पानीका स्रोत धमाधम सुक्दैछन्, अब पानीको सङ्कट निकै बढ्लाजस्तो छ”, भङ्गाहा–४ रामनगरका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुर भन्नुहुन्छ, “अब लगत्तै पानी नपर्ने हो भने एक सातापछि थप समस्या हुनेछ ।” पछिल्ला केही वर्षयता बर्सेनिजसो पानीको सङ्कट बढ्दै गएको उहाँले बताउनुभयो ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीयतहमा पानीको अभाव बढ्दै गए पनि जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरक्षेत्रमा भने समस्या अलि बढी छ । यहाँ बस्तीबस्तीका पोखरी, डबराडबरी (साना पोखरी) सबैजसो सुकीसकेका छन् । यसले पशुपक्षीलाई समेत निकै सकस भएको पशुपालक किसानको गुनासो छ ।
पछिल्लो दशकयता बर्सेनि खानेपानीको समस्या बढ्नुमा विश्वव्यापी जलवायु परिवर्तनको असर। स्थानीय नदीनाला, वनजङ्गल, खोल्साखोल्सी र चुरे पहाड शृङ्खलामा बढ्दो अतिक्रमण र अनियन्त्रित उत्खनन् मुख्य कारण रहेको चुरे तथा जलाधारविज्ञ डा विजयकुमार सिंह बताउनुहुन्छ । “विश्वव्यापि जलवायु परिवर्तन, खडेरी, बाढीपहिरो र असन्तुलित वर्षाजस्ता समस्या प्राकृतिकभन्दा बढी मानव सिर्जित हुन्”, उहाँले भनुभयो, “यी प्राकृतिक सम्पदाको संरक्षणका लागि तत्काल प्रभावकारी पहल नचाल्ने हो भने पानीका लागि भौतारिने दिन आउनेछन् ।” चुरेक्षेत्र, नदी, खोल्साखोल्सी, वनजङ्गल संरक्षण तथा उपयोग नीति बनाउन र त्यसको कार्यान्वयनका लागि खासमा स्थानीय तहले पहलकदमी लिनपर्ने डा सिंहको सुझाव छ ।
अचेल गाउँ÷नगर, बस्तीमात्र नभएर वनक्षेत्रका पानी अडिने स्थानमा समेत छेडखानी भएपछि चराचुरुङ्गी र वन्यजन्तुलाई पनि त्यत्तिकै जोखिम छ । पूर्वपश्चिम राजमार्गका वनक्षेत्रमा पानी नभेटेपछि वन्यजन्तु बस्तीमा पस्न थालेका छन् । हरिण, मृग, जरायोसहितका वन्यजन्तु उत्तरको चुरे काछतिरका बस्तीमा र बँदेल, नीलगाई र दुम्सीसहितका वन्यजन्तु दक्षिणका सघन बस्तीमा पसिरहेका छन् ।
यसरी पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गर्दा किसान दोहोरो मारमा परेका छन् । हिउँदमा पानी नपर्दा अन्नबाली र अन्य फसलमा गम्भीर असर परेकाले उत्पादनमा समेत त्यसको असर पर्ने निश्चित छ ।