२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण



अ+ अ-

गोरखा: नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् । “गोरखा दरबार सङ्ग्रहालयमा नेपाल एकीकरणको इतिहास बुझ्न र अध्ययन गर्न पाइन्छ”, प्रमुख कार्कीले भन्नुभयो, “शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट यहाँ अवलोकन गर्न विद्यार्थीहरू आइपुग्छन् ।”

यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेको उहाँको भनाइ छ । प्रमुख कार्कीकाअनुसार साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् । यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण गरेका छन् । सङ्ग्रहालयमा पर्यटकहरूले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायत शाहवंशीय राजाहरूको इतिहास अध्ययन गर्न पाउने व्यवस्था छ ।

सङ्ग्रहालयमा पृथ्वीनारायण शाहको चिना, भाँडाकुँडा, मानापाथी, हातहतियार तथा विभिन्न कलात्मक सामग्रीहरू अवलोकनका लागि राखिएका छन्भने काष्ठकलाले भरिपूर्ण तीनमुखे झ्याल, टुँडाल, १६ वटा थामको कलात्मक बरण्डा सङ्ग्रहालयको थप आकर्षणका रूपमा रहेको छ ।

यस्तै, विभिन्न जातजातिको संस्कृति र परम्परा झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष, धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनीकक्ष सङ्ग्रहालयमा रहेका छन् । यो सङ्ग्रहालय विंस २०६५ देखि सञ्चालनमा आएको हो ।रासस