
देवीदेवतालाई प्रसन्न गराउन महङ्गा र सुन्दर मूर्ति बनाएर, स्थापनापूर्व रथयात्रा गराएर, भेटी चढाएर, गुठी राखेर, फूलबारीले सजाउँछन् । भजन, मन्त्र जप, होम र पाठलगायतका कार्य अनवरत गराउँछन् । भक्तहरूको भीड, साधकको आइरो, पर्यटकको चाप, धार्मिक अनुष्ठानले मन्दिरप्रति विश्वास वृद्धि गराउँछ । ज्यानलाई हत्केलामा राखेर दर्शनार्थ पुगेकाहरूले मूर्तिमा शिर झुकाए, दक्षिणा अर्पण गरे, परम्पराअनुसार पुजेर संस्कारको संरक्षण गरेका छन् । परिवार, समाज, राष्ट्रदेखि शास्त्रसम्मले देवीदेवताको पूजन, प्रशंसा एवं बखान खूब गरे । दिनको शुरुवात ईश्वरको स्मरणबाट हुन्छ, खाँदा र काम गर्दा सम्झन्छौँ, आपत बिपतमा पुकार्छौँ, धूपदेखि धनसम्म समर्पण गर्छौं । प्रकृतिले पूज्ने, प्राणीले भक्ति गर्ने, दैवीऊर्जा सम्पन्न मूर्ति बनाउन ऋषिमुनिहरूले कैयौँ शताब्दी अनुसन्धानमा खर्च गरे । ठूला तपस्वी, प्रशस्त मूर्तिहरू हुँदा पनि नेपाल र नेपालीको सर्वाङ्गिण अवस्था दयनीय हुँदै गएपछि मन्दिर किन जाने ? देवीदेवता किन पुज्ने ? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो ।
हामीले मठमन्दिरबाट अंकगणितीय प्रतिफलको आशा गर्छौँ जब कि ज्यामितीयरूपमा लाभ भएको पत्तै पाउँदैनौँ । मूर्तिले पुकार सुन्छ, दु:ख बुझ्छ, शान्ति दिन्छ, आशा जगाइदिन्छ, दृढसंकल्पी बनाउँछ । ईश्वरप्रतिको आस्था, शास्त्रको ज्ञान, साधुसन्तको मार्गदर्शन, धर्मानुरागीको तपोबलले जिउने तागत दिन्छ । मन्दिरले परमात्माको शक्तिलाई मूर्तिमा, भक्तको पुकारलाई ईश्वरसम्म, ब्रम्हाण्डको ऊर्जालाई प्रकृतिमा प्रवाह गर्दछ । अदृश्य शक्ति (देवीदेवता)सँग भेट गराउने विश्वविद्यालय नै मन्दिर हो, दुर्लभ ज्ञान र ऊर्जा दिलाउने यन्त्र नै मूर्ति हो । मूर्ति र मन्दिरसँग धर्म जोडिएको छ, संस्कार अडिएको छ, संस्कृति टाँसिएको छ, राष्ट्रको पहिचान छ, पुर्खाको इतिहास, वैदिक सभ्यता र आर्यहरूको आराधना यसैको नर्सरीमा मौलाएको छ ।
नेपाललाई विदेशले सगरमाथाको देश, बुद्धको जन्मभूमि, वीर गोरखालीको मातृभूमि, पशुपतिको मुलुक, मन्दिरैमन्दिरको राष्ट्रका रूपमा चिन्दछन् । पुर्खाले आर्जेको गौरवबाहेक अहिलेसम्म छुट्टै पहिचान र परिचय बनाएर विश्वसामु उभिन सकेका छैनौँ, पुरानै विरासतमा ठडिने प्रयासमात्र गरेका छौँ । यहाँको प्राकृतिक सुन्दरता, धार्मिक वैभव, सांस्कृतिक विविधता, दैवी भण्डारमा रमाउन विदेशीहरू ओइरन्छन् । पशुपति, स्वयम्भू, लुम्बिनी, जनकपुर, मुक्तिनाथसहित हिमाल, नदी, गुफा आदि नभए यहाँ पर्यटक होइन डुलुवामात्र आउँथे । विभिन्न पर्व, तिथि र अवसरले फरक जात, संस्कार र भूगोलका मानिसलाई भेटाउँछ । धार्मिक र प्राकृतिक सम्पदाले राष्ट्रको शिर ठाडो बनाउँछ, जनताको मनोबल बढाउँछ, इतिहासको वैभव जोगाउँछ, मनमा गर्व उब्जाउँछ । धार्मिक धरोहरहरू राष्ट्रको सम्पत्ति, पुर्खाको चिनारी, अग्रजको आशीर्वाद, समाजका स्मारक, पसिनाका उपज, खोजका बिम्ब भएकाले समयानुकूल सदुपयोग र संरक्षण गर्नुपर्छ । धार्मिक कार्यले आर्थिक लाभ, मनोवैज्ञानिक फाइदा, सांस्कृतिक र सामाजिक समन्वय, सामुदायिक सद्भाव, रोजगारको सृजना, राष्ट्रिय आयमा वृद्धि हुन्छ । मूर्तिले हामी कसका पूजक र उपासक, कुन प्राणीका सन्तान, कस्तो विज्ञान र विचारका अनुयायी, कस्तो जीवनशैली र संस्कारका वंशज हौँ भन्ने जानकारी दिन्छ ।
देवीदेवताको पहिरन, आयुध, गण, गतिविधि आदिले जीवन र विज्ञानको बोध, जगत् र ज्ञानको खोज, माटो र मृत्युको शोध गर्न प्रेरणा दिन्छ । हिमाल र मशानघाटमा तपस्यारत महादेवले योग, व्याकरण, तन्त्र, औषधि, त्याग, नृत्य आदिका माध्यमबाट जीवन र ज्ञानको रहस्य, अमृत र आनन्दको स्रोत बताएका छन् । ज्ञान, त्याग र तपस्याले जीवन र जगत् बचाउने जानकारी महादेवले दिइरहेका छन् । समुद्रमाथि शेषनाग बिछ्याएर सुतेका विष्णुको पाउमा बसेकी लक्ष्मीले–‘पैसा जीवनका लागि हो, जीवन पैसाका लागि होइन, ज्ञानलाई माथ (टाउको)मा पैसालाई हातमा राख’ भन्ने सूचना र सूत्र दिन्छिन् । विद्या चाहनेले सरस्वती, धन चाहनेले लक्ष्मी, तेज चाहनेले सूर्य, उपचार चाहनेले अश्विनीकुमार, यन्त्र बनाउनेले विश्वकर्मा, युद्ध जित्न चाहनेले भीमसेन, शत्रु पराजय गर्न हनूमान्, अवरोध हटाउन भैरव, शक्तिशाली शुत्रमाथि विजय पाउन दुर्गा आदि पूजा गर्दछन् । हामीलाई आवश्यक पर्ने शक्ति, ज्ञान र लाभ तुरुन्त लिन तत्तत् देवीदेवताको मूर्तिको पूजा गरी कम श्रम र समयमा अधिक लाभ लिन सकिन्छ । मठमन्दिर, धर्मशाला, जलाशय, यज्ञकुण्ड, तीर्थस्थलमा राखिएका शिलालेखले पुरातात्वीक सम्पदाहरूको संरक्षण गराउँछ । मठमन्दिर पुर्खाको चिनो हो, शक्तिको मुञ्ज, इतिहासको पुञ्ज, धर्मको कुञ्ज हो, सन्ततिको सुन्दर भविष्य बनाउन अमृत बोकेर बसेको छ ।
दोलखाभीमसेन, पलाञ्चोकभगवती, उग्रचण्डी (काभ्रे), मनकामना (गोरखा), उग्रतारा, शैलेश्वरी, त्रिपुरासुन्दरी आदि मूर्तिहरू ऊर्जावान् पत्थरबाट विधिपूर्वक निर्माण गरी अद्भूत शक्ति भएको भूमिमा राखिएका छन् । यसकारण मूर्तिहरूद्वारा आमाको आशीर्वाद एवं परमात्माको दर्शन मिल्छ । नेपालका मूर्तिहरूले विपत्तिको सङ्केत दिन्छन्, भक्तको पुकार सुन्छन्, ब्रम्हाण्डको गतिविधिलाई बताउँछन्, प्राणी र प्रकृतिको संरक्षण गर्छन्, पीडा र दु:खलाई पखाल्छन्, अभिभावकको भूमिका निर्वाह गर्छन् । पाटनका राजा सिद्धिनरसिंह मल्लले पशुपतिमा बसेर ध्यान गरेपछि छोरा जन्मिए । अन्तिम समयमा सिद्धिनरसिंह मल्ल बौद्धभिक्षु भई राजगद्दी त्याग गरे । शक्तिवल्लभले जयरत्नाकरनाटकमा पृथ्वीनारायण शाहले सन्तान पाउनुपूर्व दरौँदीको किनारमा श्रीमतीसहित शिवलिङ्कको आराधना गरेको लेखेका छन् । नेपाल एकीकरण गर्न, अङ्ग्रेज र मुसलमानको आक्रमण रोक्न, प्राकृतिक विपत्ति निराकरण गर्न मूर्तिकै शक्ति प्रयोग गरिएको थियो ।
नेपालका मूर्तिहरूले सूचना, सुख, सन्तान र मुक्ति दिन्छन् । नेपाल संवत् ७८७ मा मच्छिन्द्रनाथको आँखाबाट आँशु आउँदा गोकर्णदेखि पशुपतिसम्म वाग्वती दूधजस्तै बगेकी थिइन् । नेपाल संवत् ८१२ मा भैरवको मुखबाट पसिना आउँदा आग्लागी भएको थियो । नेपाल संवत् ८३६ मा महामारी फैलिएर धेरैको मृत्यु हुनुपूर्व कीर्तिपुरस्थित बाघभैरव, मच्छिन्द्रनाथमा अपशकुन देखिएको थियो । वि. सं. १८९५/९६ मा रानीपोखरी अचानक रातो भयो र त्यही समयमा भीमसेन थापाले आत्महत्या गरेका थिए ।
वि. सं. १९९०, वि. सं. २०४५ र वि. सं. २०७२ को महाभूकम्प, वि. सं. २०५८मा दरबारहत्याकाण्ड, वि. सं. २०६२/०६३ को आन्दोलन, वि. सं. २०७६ मा कोरोनाको महामारी आउनपूर्व, वि. सं. २०७७ पौष ५ गते तात्कालिक प्रधानमन्त्री के. पी. ओलीले संसद् भङ्ग गर्नुपूर्व भीमेश्वर, पलाञ्चोक, उग्रचण्डीमा पसिना आएको थियो । के यस्ता पूर्वसूचना अन्य धर्मका तीर्थ र देवस्थलबाट आउँछ ? राजा जगज्जयको पालामा मूर्ति चोरी हुँदा एक कन्याको शरीरमा देवी चढेर चोरको बारेमा बताएकी थिइन् । राजा गुणकामदेवलाई महालक्ष्मीले सपनामा मन्दिर बनाउने आदेश दिई इन्द्रचोकमा आएर बसेकी थिइन् । राजा शंकरदेवको शासनकालमा उपत्यका आएका नृसिंह ठाकुरलाई सपनामा गुह्वेश्वरीले भनेकै स्थानमा मन्दिर बनाइयो । नान्यदेवका वंशज हरिहरसिंहका समयमा दिल्लीका शासकले उनको राज्य तहसनहस गर्नुपूर्व तुलजादेवीले जानकारी दिएकी थिइन् । तुलजादेवीकै आशीर्वादले हरिसिंहदेवका २८ पुस्ता (रणजीत मल्ल)सम्मले भक्तपुरमा शासन गरे ।
तुलजाले यसपछि पश्चिमतर्फका क्षत्रिय राजा आएर शासन गर्नेछन् भनेकी थिइन् । जसअनुसार काठमाडौँउपत्यकाबाट पश्चिमतर्फ रहेको गोरखाराज्यका राजा पृथ्वीनारायणले वि. सं. १८२५मा काठमाडौँ र ललितपुर, वि. सं. १८२६मा भक्तपुरलाई जिते । पृथ्वीनारायणले एकीकरणमा साधुसन्तको सल्लाह, गोरखानाथको आशीर्वाद, सल्यानदेवी र नुवाकोटभैरवीबाट दैवी शक्ति प्रशस्त लिए । जुम्लाका प्रभावशाली राजा बलिराज शाहीलाई चन्दननाथको आशीर्वाद थियो । राणाशासन लामो समय टिक्नमा दैवी शक्ति एउटा कारण थियो । गोरखनाथकै आशीर्वादले द्रव्य शाहदेखि ज्ञानेन्द्रवीरविक्रमसम्मले नेपालमा राज्य गरे ।
मठमन्दिरका आम्दानीले बालाश्रम, वृद्धाश्रम, पाठशाला, गौशाला, अनाथालय सञ्चालन हुँदै आएका छन् । मठमन्दिर, चैत्य, गुम्बाको आडमा बसेर भिक्षाटन, धार्मिक अनुष्ठान, व्यापार गरी जीवन चलाएका छन् । मठमन्दिर, चैत्य आदिले मानिसलाई सामाजिक प्राणी, संस्कारी जीव, चेतनशील जीवात्मा बनाएको छ । मूर्तिलाई पुज्दा, मन्दिरलाई बुझ्दा, तीर्थस्थलको दर्शन गर्दासम्म विदेशीका नजरमा नेपालीजाति श्रद्धेय, वीर, स्वाभिमानीका रूपमा परिचित थिए । काका वा मामाले भतिजाभतिजी र भाञ्जाभाञ्जीको संरक्षण गर्थे । ठूलाबा र सानीमाले टुहुरा भएका भाइ र दिदीबहिनीका सन्तानलाई हुर्काउँथे । साधुसन्त, मठमन्दिर र गुरुकुलले नि:शुल्कमा पढाउँथे, पालनपोषण गर्थे, आश्रय र आधार दिन्थे । भोलेनाथको भूमिमा कोही अनाथ र असक्त हुनै पर्दैनथ्यो । भोजन, साहारा र विद्याको आधारभूमि मन्दिर एवं तीर्थस्थल थिए । अन्नक्षेत्रले नि:शुल्क खान दिन्थे । मठमन्दिरको आयले राष्ट्रसेवा र जनकल्याणको काम गर्दथे । जोगी र मन्दिरलाई अर्पण गरेको सम्पत्ति अन्तत: जनहित र राष्ट्र कल्याणमा लगानी गरिन्थ्यो ।
प्रवचनका माध्यमबाट समाजमा शान्ति, विद्याको संरक्षण, राष्ट्रिय सद्भाव कायम गराउँथे । ईश्वरमा भक्ति, कुलपूजा, धार्मिकग्रन्थको पाठ र तीर्थस्थलको दर्शन हुँदासम्म अमानवीय व्यवहार, अराजक राजनीति थिएन । अध्यात्मबिनाको अर्थ, योग्यताबिनाको पद, परिश्रमबिनाको प्रतिष्ठाले आनन्द दिँदैन, कल्याण गर्दैन । वैदिक शिक्षाको अपमान, गुठीको दुरुपयोग, निर्माण र सुधारका नाममा भएका ब्रéलुटले समाज अराजक भयो, शासकहरू शोषक भए, परिवार नै परिस्थितिवादी बन्यो । मन्दिरका सम्पत्तिको नाश गरे “६० हजार वर्षसम्म दिसामा बस्ने किरा हुनेछ” भन्ने विश्वास अब उखानमा बदलिएको छ । प्राचीन कालदेखि विभिन्न कोटकोटमा स्थापना गरेका देवी, भूमे, मण्डली, देउराली आदिका मूर्ति र मन्दिरले त्यो भूमि, समाज एवं राष्ट्रकै कल्याण गर्थे । वेद र तन्त्र, वास्तु र संगीत, पूजा र चिन्तनले नेपालको गरिमा बढाए, ऋषिमुनि र वीरलाई जन्माए । मूर्तिले माटोलाई, मन्दिरले मानवलाई, पूजाले प्रकृतिलाई जोगायो ।
नेपालको इतिहास हेर्दा राष्ट्रलाई विपद् पर्दा मठमन्दिरबाट सुन, चाँदी, पैसा लिएर फिर्ता गरेको देखिन्छ । पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतिरबाट घेर्दै ल्याएपछि काठमाडौँका राजा जयप्रकाश मल्लले मठमन्दिरबाट आर्थिक सहयोग लिए । भीमसेन थापाले ६२हरण गर्दा, अङ्ग्रेजसँगको युद्धले निम्त्याएको आर्थिक विपत्तिबाट नेपाललाई जोगाउन पशुपतिलगायतका मन्दिरबाट आर्थिक सहयोग लिए । मन्दिरको आम्दानी नेपाली समाजको सम्पत्ति हो । पाथीभराबाट पैसा साटेर ल्याउँदा लक्ष्मीको बास र व्यापार वृद्धि हुन्छ भन्ने विश्वास छ । देवीदेवताका मूर्ति वा मन्दिरका तस्बिर राखेर अनेकौँ लाभ लिन्छन् । राष्ट्रले मठमन्दिरको सम्पत्ति सबै जात, धर्म, क्षेत्र र वंशलाई लाभ मिल्ने गरी खर्चेको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालबाट दासप्रथा खारेज गर्न पशुपतिमन्दिरबाट आर्थिक सहयोग लिएका थिए । राज्यलाई गाह्रो पर्दा मठमन्दिरले आशीर्वादसहित आर्थिक सहयोग गरेको इतिहास अन्यत्र कहाँ छ ? वैभावशाली मन्दिर ले समाज सबल बन्छ, राज्यले ऋण खोज्न अन्यत्र जानुपर्दैन, रोजगारलाई बढाउँछ ।
मठमन्दिरको सम्पत्ति खाए, जग्गा अतिक्रमण गरे मुक्ति हुँदैन, बाँचुञ्जेल सुख शान्ति पाउँदैन, वंशनाश एवं मृत्युपछि नरकबास हुन्छ भन्ने जनविश्वासले मठमन्दिरलाई सबल बनायो । देवीदेवताका नाममा छोडिएका पशुपंक्षीले अन्नबाली खाएमा पुण्य प्राप्त हुन्छ, जमिन दान गरे एक्काइस कुल तर्छ भन्ने श्रद्धाले गुम्बा, चैत्य, मन्दिर आदि आर्थिक, धार्मिक र सांस्कृतिक रूपमा बलिया थिए, भौतिक रूपमा सफा एवं आध्यात्मिक रूपमा सुन्दर बने । मूर्ति, गजुर, गुठी आदि लुट्ने र चोर्ने, विधिविहीन पूजा, भ्रष्ट पूजारी, राजनीतिक हस्तक्षेत्रले नेपाल कंगाल भयो, समाजको आत्मीयता मेटियो, दैवी ऊर्जा लुप्त भयो । मुसलमानले भारतको सोमनाथदेखि नेपालको पशुपति, स्वयम्भू आदि देवस्थलमाथि आक्रमण गर्नुको कारण राजनीतिकमात्र होइन मन्दिरको सम्पन्नता थियो । नेपालमा वि. सं. २०४६ पछिको राजनीतिक परिवर्तनले गुठीको रामधुलाई भयो । गणतन्त्रसँगै मन्दिर र गुम्बामा पार्टीका कार्यकर्ता नियुक्तले पुराना मूर्ति, शिलापत्र, गजुरहरू हराए, पखेँटा हाले, लुटिए, ढुट्टिए र मरुभूमि बने । आफ्ना कुलदेवता, इष्टदेवता, पितृ र स्थानीय देवीदेवतालाई पुज्न छोडेर विदेशका प्रेतलाई परमेश्वर सम्झने रोगले ताण्डव मच्चायो । यसले मन्दिर भत्किन, मूर्ति नासिन, मन्त्रहरू दन्तेकथा बन्न, यन्त्रहरू प्रयोजनविहीन हुँदा हामी पूर्णरूपमा नाङ्किन थाल्यौँ ।
धर्मे वर्धति वर्धन्ति सर्वभूतानि सर्वदा ।
तस्मिन् ह्रसति ह्रीयन्ते तस्माद्धर्म नलोपयेत् ।।–महाभारत (शान्तिपर्व ९०।१७)
अर्थात्, “धर्म बढेमा सम्पूर्ण प्राणीको अभिवृद्धि र घट्दा सबैको ह्रास हुन्छ त्यसैले धर्म लोप हुने काम नगर्नु ।” कमजोर अर्थतन्त्रले धर्म खुम्चिन्छ, रुग्ण धर्मले जनतालाई दुब्लाउँछ, दुब्ला जनतामाथि राजनीतिले व्यापार गर्छ, बिग्रेको राजनीतिले राष्ट्रको सर्वनाश हुन्छ । धर्म, भगवान् र समाजको डर नभएपछि अवसरवादले सबैलाई पतन गराउँछ । मूर्ति पूजा, ग्रन्थको पाठ, मठमन्दिरको संरक्षण हुँदासम्म बुबा–आमाले वृद्धाश्रममा बस्नुपरेन, भ्रूणहत्यामा अबोध सन्तानको सर्वनाश भएन, कपुतको हातमा शासन परेन । मूर्तिको ऊर्जा, बुद्धको शान्ति, सीताको सहनशीलता, महादेवको ज्ञान, विष्णुको कुटनीतिले नेपालमा नेपाली थिए, हरेक बस्तीमा प्रह्लाद र भृकुटी बस्थे, प्रत्येक समाजलाई जनकको ज्ञानले जगाएको थियो, वीर र शहीदको इमानले सजाएको थियो ।
मठमन्दिर र तीर्थस्थलकै ऊर्जाले नेपाल सम्झनासाथ मन शान्त हुन्थ्यो, हृदयमा उमड्ड आउँथ्यो, बुद्धि निर्मल हुन्थ्यो, भाकल र मनोकांक्षा पूरा हुन्थ्यो । डिप्रेशन, एक्लोपन, एन्जाइटी, प्रेसरलगायतका रोगहरूको औषधि मठमन्दिर, गुम्बा र तीर्थस्थलहरू थिए । मठमन्दिर साझा घर, साझा सम्पदा र सजिलै देवीदेवता भेट्ने स्थल हो । शास्त्र, शिक्षा र समाजको जग मठमन्दिरकै आश्रयमा अडिएको हुन्छ । हरेक सफलताका लागि कुलदेवता र पितापुर्खाको आशीर्वाद, राष्ट्र तथा स्थानीय देवीदेवताको कृपा दृष्टिसमेत चाहिन्छ ।
तीर्थस्थल र देवीदेवताको निकटमा प्राण जाओस्, अन्त्येष्टी शिवालयनजिकै प्राण होस् भनी बस्दथे । बुढेशकालमा काशी, बराहक्षेत्र, देवघाट र पशुपतिको शरणमा जान्थे । जीवनशेषपछि तत्क्षेत्रको श्रीवृद्धिमा आफ्नो सम्पत्ति अर्पण गरिदिने हुनाले मठमन्दिर आर्थिक रूपले सम्पन्न भई आश्रितलाई जीवनयापन गर्न सजिलो हुन्थ्यो । अहिलेसम्म भूकम्प, बाढी, आँधी, कोरोनालगायतका दैवी प्रकोपमा मठमन्दिरले सहयोग गरिरहेका छन् । पर्यटकहरूसमेत मठमन्दिर, चैत्य, गुम्बाको दर्शनबाट आनन्दित भई हाम्रा पुर्खाप्रति नतमस्तक हुन्छन् ।
संस्कृति मन्त्रालयको रेखदेखभित्र राखिएका धार्मिक धरोहरमा पार्टीका कार्यकर्ताले रोजगार पाउने, निश्चित समूहले आय आर्जन गर्ने क्रम बढ्दोछ । मठमन्दिरका श्रीवृद्धि, तीर्थस्थलको संरक्षणतर्फ सरकार उदासीन हुँदै गएको छ, बाँदरको हातमा नरीवलजस्तै बनेको छ । यो पैतृक सम्पत्तिलाई सन्ततिमा हस्तान्तरण गरौँ, नसके पुर्खाको चिनोलाई चितामा नजलाऊँ । मठमन्दिरले ईश्वर चिनाए, शान्ति दिए, शिलालेख राखेर इतिहास बचाए, कला र सीपलाई जगाए, वास्तु र तन्त्रलाई जोगाए, आत्मा चिनाए, अर्थतन्त्र सबल बनाएकाले धार्मिक धरोहरको सुरक्षा र संरक्षण गरौँ । ऋषिका सन्तान, वेदका अनुयायी, आर्यावर्तका बासिन्दा, तपस्वीका वंशज, ईश्वरका उपासक, दानवीरका पुत्रपुत्री भएकाले मठमन्दिरको महत्व बुझ्नुपर्छ ।