२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ ।

नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री डा देउवाले इजिप्ट सरकार समक्ष सो आग्रह गर्नुभएको हो ।

आजै मन्त्री डा देउवाले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । हाल कतारमा रहनुभएका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेशमन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने बताउनुभएको थियो ।

हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला, बालबालिका एवं नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपिनको पनि रिहाइका लागि पहल गरिदिन मन्त्री डा देउवाले दुवै देशका सरकारलाई आग्रह गर्नुभएको हो ।

यसअघि पनि गत बुधबार मन्त्री डा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग सो आग्रह गर्नुभएको थियो ।

हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा बृद्धबृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार बाहिरिएपछि मन्त्री डा राणाले विपिनको रिहाइका लागि पुनः कूटनीतिक पहल अघि बढाउनुभएको हो ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरुका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा समेत परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आउनुभएको छ ।