१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

सङ्क्रमणकालीन न्याय प्रक्रियाः स्वतन्त्र, निष्पक्ष र समक्ष व्यक्ति सिफारिस गर्नुपर्ने

सङ्क्रमणकालीन न्याय प्रक्रियाः स्वतन्त्र, निष्पक्ष र समक्ष व्यक्ति सिफारिस गर्नुपर्ने
अ अ+ अ-

काठमाडौँ । सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाउन निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई पदाधिकारी सिफारिस गर्नुपर्नेमा सरोकारवालापक्षले जोड दिएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र एम्नेष्टी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा आज आयोजित ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता’ विषयक अन्तरक्रियामा मानवअधिकारकर्मी चरण प्रसाईँले पदाधिकारी निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई छनोट गर्नुपर्ने बताउनुभयो ।

“विश्वसनीय ढङ्गबाट प्रक्रिया अगाडि बढाउनुपर्छ, यो अन्तिम अवसर हो”, उहाँले भन्नुभयो, “सिफारिस समितिको हातमा ठूलो अवसर छ, यो पटक चुक्नु हुँदैन, विस्तृत शान्ति सम्झौताको कार्यान्वयन गर्नुपर्छ ।” उहाँले नियुक्ति गर्ने पदाधिकारी उपयुक्त भएनन भने सबै नेपालीलाई लज्जाबोध हुने धारणा राख्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सूर्य ढुङ्गेलले दुवै आयोगमा पदाधिकारी सिफारिस प्रक्रिया निष्पक्ष ढङ्गले गर्नुपर्ने बताउनुभयो । “स्वतन्त्र, सक्षम र निष्पक्ष पदाधिकारी सिफारिस गर्न जरुरी छ । यसअघि पदाधिकारी सिफारिसमा चुकेको हो”, उहाँले भन्नुभयो, “नेतृत्वको मुख ताक्न लागियो भने यो प्रक्रिया र छनोटलाई निष्पक्ष बनाउन सक्दैनौँ ।” उहाँले पीडितलाई न्यायको पर्खाइ लामो भएको र सिफारिस समितिले राजनीतिक हस्तक्षेपबिना काम गर्न ध्यान दिनुपर्नेमा सुझाव दिनुभयो ।

पूर्वमन्त्री तथा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले सिफारिस प्रक्रिया विश्वसनीय बनाउनका लागि रोजगारीका लागि नभएर स्वतन्त्र र सक्षम व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने बताउनुभयो । “यो जागिर खाने संस्था होइन, नैतिकता, क्षमता, ज्ञानका आधारमा काम गरिदिनोस् भनेर ल्याउने ठाउँ हो”, उहाँले भन्नुभयो, “अहिलेसम्मको प्रक्रियालाई हेर्दा राम्रा पदाधिकारी सिफारिस हुनेमा विश्वास मलाई छ ।”

मानव अधिकारकर्मी मन्दिरा शर्माले कुनै दलका व्यक्तिलाई व्यवस्थापन गर्न आयोगमा नपठाउन र सक्षम व्यक्ति सिफारिस गर्नका लागि खबरदारी आवश्यक भएको बताउनुभयो । “दलका मान्छेलाई व्यवस्थापन गर्न गर्ने ठाउँ होइन, स्वतन्त्र, सक्षम र निष्पक्ष रुपमा काम गर्न सक्ने व्यक्ति चाहिन्छ, हजारौँपटक छलफल र बहस भएको छ”, उहाँले भन्नुभयो, “न्याय, सत्य र परिपूरण चाहिएको छ भनेर पीडितहरुले भनिरहनुभएको छ, पीडितको चाहनालाई ध्यान दिन जरुरी छ ।” सिफारिस समितिले जवाफदेही भएर पदाधिकारी छनोट गर्नुपर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा अधिवक्ता राजुप्रसाद चापागाईंले ‘सङ्क्रमणकालीन न्याय प्रक्रियाको विश्वसनीयता’ कार्यपत्र प्रस्तुत गर्दै पीडितको पीडा समयमै सम्बोधन गर्न सकिएन भने विस्फोट हुने खतरा भएको बताउनुभयो ।

“न्यायलयले पनि पीडितको आवाजमा साथ दिएको छ, अन्तर्राष्ट्रियस्तरमा पनि त्यतिकै चासोको विषय बनेको छ”, उहाँले भन्नुभयो, “यो सत्ता राजनीतिको कार्ड पनि बन्यो, पीडितको भोगाइ नमिठो र तीतो भयो, यो पीडितलाई न्याय दिने कुरा मात्रै होइन, यो देशको दशा र दिशा बदल्ने अवसर हो, योभन्दा ठूलो मानव अधिकारको विषय नेपालका लागि अरु केही छैन ।”

उहाँले सङ्क्रमणकालीन न्याय प्रक्रियाका पीडितको मात्रै विषय नभएर आमजनताको मुद्दा भएको र सङ्क्रमणकालीन न्यायलाई छाडेर मुलुक अगाडि बढ्न नसक्ने बताउनुभयो । नेपाल ल क्याम्पस उपप्राध्यापक रुक्मणि महर्जनले सङ्कमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउन उपयुक्त पदाधिकारी सिफारिस गर्नु नै प्रमुख भएको बताउनुभयो । उहाँले पदाधिकारी नियुक्ति पारदर्शी, नैतिकता तथा इमानदारितामा बढी ध्यान दिनुपर्ने र उपयुक्त पदाधिकारी नियुक्त हुनेमा आशावादी भएको बताउनुभयो ।

गम्भीर मानवअधिकार उल्लङ्घन पीडितहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष अध्यक्ष राम भण्डारीले पदाधिकारी सिफारिस प्रक्रिया विश्वसनीय बनाउन आवश्यक रहेको र पीडितलाई न्याय दिने खालको पदाधिकारी आउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले ९० प्रतिशत पीडित कुन अवस्थामा छन् भन्ने बारेमा खोजी नै नभएको गुनासो गर्नुभयो ।

द्वन्द्वपीडित महिला सञ्जालका अध्यक्ष सिर्जना श्रेष्ठले लैङ्गिक सम्वेदनशीलतालाई ध्यानमा राखेर पदाधिकारी नियुक्त गर्नुपर्ने र त्यसले द्वन्द्वमा महिलामाथि भएको ज्यादतीलाई समेट्नुपर्नेमा जोड दिनुभयो । द्वन्द्वपीडित महिला सञ्जालका महासचिव सुशिला चौधरीले पीडितको नजरमा जागिर खाने दुई थान आयोग मात्रै देखिँदै आएको विगतको नजिर अब नहो¥याउनका लागि सर्वस्वीकार्य पदाधिकारी सिफारिस गर्नुपर्ने भनाइ राख्नुभयो ।

एम्नेष्टी इन्टरनेशन नेपालका निर्देशक निराजन थपलियाले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाएर न्यायको लामो पर्खाइमा रहेका पीडितलाई न्याय हुने गरी सिफारिस समितिबाट पदाधिकारी नियुक्त गर्न मिलोस भन्ने उद्देश्य कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भइसकेको छ । तर सङ्क्रमणकालीन न्यायको प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस हुने चरणमा छ । सिफारिस समितिमा पदाधिकारीका लागि एक सय ५६ व्यक्तिको आवेदन परेको छ । सिफारिस समितिले स्वतन्त्र, सक्षम र निष्पक्ष व्यक्तिलाई सिफारिस गरेर सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्नेमा मानव अधिकारकर्मी, पीडित तथा पत्रकारको सुझाव थियो । रासस