१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे



फाईल फोटो
अ+ अ-

काठमाडौं । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ ।

बाढीपहिरोका कारण अहिले विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्यराजमार्ग अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई उडानको भाडादरमा उल्लेख्य वृद्धि भएपछि आलोचना भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने बताउनुभयो । “विमान कम्पनीहरुले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ”, उहाँले भन्नुभयो । उहाँले विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रह समेत गरिएको बताउनुभयो ।

वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज बनाउन आफूहरु लागेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हवाई भाडादरको माथिल्लो शुल्क नलिनका लागि आजै बैठक बसेर कम्पनीहरुलाई भनिसकेका छौँ, अहिले सस्तो दरमा मात्रै टिकट बिक्री भइरहेको छ ।”

श्री एयरलाइन्सका संस्थागत प्रवन्धक अनिल मानन्धरले नियमित दरमै टिकट उपलब्ध गराइरहेको दाबी गर्नुभयो । “सिटको उपलब्धताको आधारमा टिकट बिक्री गरिरहेका छौँ, सरकारले तोकेको दरभन्दा बढी रकम लिएका छैनौँ”, उहाँले भन्नुभयो ।

काठमाडौँ–विराटनगरको एकतर्फी रु सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरुले बढाएर रु नौ हजार नौ सय पुर्‍याएको जनाइएको छ । साथै काठमाडौँ–धनगढीको एकतर्फी भाडा रु १७ हजारसम्म निर्धारण गरिएको छ ।

हाल काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ । यस्तो अवस्थामा यात्रुहरुसँग हवाई उडानको विकल्प छैन । काठमाडौँ भित्रने धादिङ्को झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ । काठमाडौँबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोलालगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएका छन् ।

हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालले जानकारी दिनुभयो । रासस