• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा



लिस्बन । पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन सुरु गरेको छ । सेवा सुरु भएसँगै शिविर वरपर रहेका सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको टोलीका प्रमुख एवं विभागका निर्देशक मोतिबहादुर श्रीसले राससलाई जानकारी दिनुभयो ।

शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी एक सय ८३ जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिएको छ ।

नयाँ राहदानी बनाउन छ हजारले अनलाइन आवेदन भरेकाले सोही सङ्ख्याको हाराहारीमा दरखास्त सङ्कलन हुने अनुमान गरिएको निर्देशक श्रीसले बताउनुभयो । समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको बताउँदै तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन उहाँले सेवाग्राहीलाई आग्रहसमेत गर्नुभयो ।

“अहिले राहदानी बनाउन अग्रिम आवेदन दिएकालाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । आवश्यकता र कामको चाप हेरेर कन्सुलरसम्बन्धी अन्य आकस्मिक र जरुरी सेवा दिने प्रयास गर्नेछौँ”, श्रीसले भन्नुभयो ।

दश दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास, गैरआवासीय नेपाली सङ्द्ध पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका छन् । टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी छन् । टोलीले अगस्त ११ तारिख (साउन २७ गते)सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा दिनेछ ।

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।