१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र
अ अ+ अ-

झापा । मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ ।

सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो । आफ्नो ब्यारेकभित्र रहँदै आएको यस उपचार केन्द्रलाईसेनाले विसं २०६० चैत ५ गते समुदायलाई हस्तान्तरण गरेको थियो ।

त्यसअघि सैनिकहरूलाई सर्पले डसेमा शीघ्र उपचार गर्न ब्यारेकभित्र सानो युनिट सञ्चालनमा रहेको थियो । गैरसैनिक व्यक्तिलाई सर्पले डसेमा उपचारका लागि ब्यारेकभित्रै लगिन्थ्यो । बिरामीको चाप बढ्दै गएपछि सेनाले समुदायलाई नै यसको जिम्मा दिएको हो ।

मेचीनगरको चारआलीमा चन्द्रगढी जाने सडकमा पायक पर्नेगरी सेनाले उपचार केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि तत्कालीन चन्द्रगढी गाविसका अध्यक्ष दुर्गा भट्टराईको नेतृत्वमा उपचार केन्द्रका लागि सहयोग जुटाउने अभियान चल्यो । उहाँकै अध्यक्षतामा गठित समितिले केन्द्रको भवन र अन्य सुविधा थप्ने कार्य गर्यो ।

उपचार केन्द्र मानिसहरूको जीवन बचाउने थलो बन्दै गएको छ । मेचीनगरले यसका लागि भवन बनाउनदेखि सञ्चालनका लागि विभिन्न समयमा सहयोग पुर्याउँदै आएको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी बताउनुभयो । “सर्पदंश उपचार केन्द्र मेचीनगरको गौरव गर्नलायक संस्था हो”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बिरामीको चाप बढिरहेको छ । त्यसअनुरुप सेवा र सुविधाको विस्तार गर्न आवश्यक भइसकेको छ । अब यसको स्तरोन्नतिका लागि नयाँ योजना र सङ्कल्पको खाँचो छ ।”

झापा र इलामका सबै पालिकाले बैठक गरेर वार्षिक रु दुईदेखि पाँच लाखसम्म अनुदान दिने हो भने चारआलीको सर्पदंश उपचार केन्द्र मुलुककै नमूना अस्पताल बन्ने र त्यसका लागि आफू समन्वय गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो ।

मेचीनगरले यस संस्थाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेटको व्यवस्था गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि प्रदेश सरकारबाट प्राप्त योजना तथा कार्यक्रमका लागि सशर्त अनुदानस्वरुप नगरले रु १५ लाख बजेट तथा नीति कार्यक्रममा समावेश गरेको छ । नगर प्रमुख बुढाथोकीले केन्द्रको स्तरवृद्धिका नयाँ योजना बनाउन समितिका पदाधिकारीलाई आग्रह गरिसकेको बताउनुभयो ।

सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ । यो साता उपचारका लागि आएका ८० प्रतिशत इलामका थिए । बिगतमा झापाका बिरामी धेरै हुने गरेको अहिले इलामका बिरामी बढेका छन् । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१, जेठमा एक सय २३ र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले राससलाई जानकारी दिनुभयो ।

इलामको सूर्योदय वडा नं १ का ३९ वर्षीय दिनेश तामाङले यही उपचार केन्द्रका कारण आफूले नयाँ जीवन पाएको बताउनुभयो । उहाँलाई केही दिनअघि घाँस काट्ने क्रममा गुर्बे सर्पले डसेको थियो । मेचीनगर–१५ का ५१ वर्षीय जुपुई हेमरमलाई पनि गत साता ओछ्यानमै विषालु सर्पले डस्यो । तत्कालै उहाँलाई मोटरसाइकलमा चढाएर यस उपचार केन्द्रमा ल्याइएका कारण उहाँको ज्यान बच्यो ।

हिउँदमा गुप्तबास बस्ने गरेका सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । यसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । पहाडमा गुर्बे र हरेउ सर्प विषालु हुन्छन् भने तराईमा गोमन र करेत अत्यधिक विषालु हुन्छन् । उपचार नपाएमा गोमनले डसेको केही घण्टाभित्रै मानिसको मृत्यु हुने गर्छ । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदम गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ ।

केन्द्रका अध्यक्ष भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका घाइतेले सफल उपचार पाएको बताउनुभयो । केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि ९एन्टी स्नेक भेनम सिरम०को रु एक हजार पाँच सय र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार मात्र शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।

विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । कोशी प्रदेशमा १३ सर्पदंश उपचार केन्द्र रहेकामा यस जिल्लामै चारवटा रहेका छन् । चारआलीस्थित सेनाको ब्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । रासस