१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

उजागर हुँदै अन्नपूर्णको ऐतिहासिक शीतल गुफा

उजागर हुँदै अन्नपूर्णको ऐतिहासिक शीतल गुफा
अ अ+ अ-

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीको अन्नपूर्ण गाउँपालिका–५ झोवाङको शीतल गुफा उजागर हुने क्रममा रहेको छ । स्थानीय बासिन्दाको अथक प्रयासबाट यतिखेर गुफा पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो ।दुई सय ५० मिटर लम्बाइको सो गुफाको प्रवेशद्वारमा परम्परागत कुटानीपिसानीका साधन ढिक्की र जाँतो, पञ्चेबाजा, महादेवलाई कालीनागले बेरेको, सिद्धिविनायक, बूढानीलकण्ठ, बुद्धलगायत विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ । विसं २०३७ मा शीतला माध्यामिक विद्यालय विरेठाँटीका प्रधानाध्यापक शिवप्रसाद पौडेल विद्यार्थीसहित पहिलो पटक प्रवेश गरेपछि मात्रै गुफा पत्ता लागेको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष प्रमोदकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुगम स्थान एवं प्रचुर पर्यटकीय सम्भावना रहेर पनि ओझेलमा परेको प्राचीनकालीन सो गुफा पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै रहेको छ । गुफा परिसरमा रहेको चट्टानलाई विभिन्न देवीदेवताका आकर्षक आकृति दिने र नेपालको झण्डा राख्ने तयारी भइरहेको उहाँको भनाइ छ । “गुफाको प्रवेशद्वारबाट करिब एक सय मिटरभित्र पुगेपछि १० मिटरको उचाइमा रहेको दोस्रो तलामा भर्‍याङमार्पmत प्रवेश गरिन्छ”, उहाँले भन्नुभयो, “उक्त स्थानमा पानीका कुण्ड रहेका छन्, सुरक्षाका हिसाबले अहिले त्यो ठाउँमा जानका लागि बन्द गरिएको छ ।”अध्यक्ष पौडेलका अनुसार सडकदेखि ५० मिटरको दूरीमा रहेको गुफासम्म पुग्नका लागि सुविधायुक्त पदमार्ग, आवश्यकताअनुसार फलामे भर्‍याङ, च्यालन गेटसहितको आकर्षक प्रवेशद्वार निर्माण गर्नुका साथै गुफाभित्र सिँढीसहितको बाटोसमेत निर्माण गरिएको छ ।

सडकबाट गुफासम्म पुग्न र आसपासमा विभिन्न देवीदेवताका मठ मन्दिर, यज्ञशाला, कार्यालय व्यवस्थापनसहित अवलोकनकर्ताको सुविधाका लागि आवश्यक खानेपानी, शौचालयसहित सम्पूर्ण निर्माण कार्यमा रु डेढ करोडभन्दा बढी खर्च भएको निवर्तमान अध्यक्ष सदाखर पौडेलले जानकारी दिनुभयो ।गुफाको विकासका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, डिभिजन वन कार्यालय, गाउँपालिका र स्थानीयको सहभागिता जुटाएर आवश्यक भौतिक संरचना निर्माण गरिएको उहाँको भनाइ छ ।

“गुफा फराकिलो रहेका कारण ओहोरदोहोरमा खासै समस्या छैन”, निवर्तमान अध्यक्ष पौडेलले भन्नुभयो, “दर्शकको सुविधाको लागि पार्किङ, बाटो र विद्युत्को समेत व्यवस्था गरिएको छ ।”
गुफा प्रवेशका लागि गाउँपालिकासँग स्वीकृति लिएर पहिलो पटक यही वैशाखदेखि टिकटको व्यवस्था गरिएको छ । अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकका लागि रु ५० र विद्यार्थीका लागि रु ३५ कायम गरिएको सचिव शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गुफा व्यवस्थापन समितिले पूजापाठ र टिकटका लागि एक वर्षको रु ६५ हजारमा ठेक्का लिएका स्थानीय पद्म पौडेलका अनुसार एक महिनाको अवधिमा विभिन्न देशका छ जना विदेशीसहित छ सय २० जनाले टिकट काटेर अवलोकन गरिसकेका छन् । मुक्तिनाथ लगायतका तीर्थयात्री र भ्रमण गर्ने टोली बस रोकेर शीतल गुफामा अध्ययन अवलोकन गर्ने पर्यटकको आकर्षण बढेको बताउँदै उहाँले भन्नुभयो, “विद्यार्थी पनि ग समूहमा आउने गरेका छन् ।” गाउँपालिकाका अध्यक्ष विष्णु केसीका अनुसार प्राकृतिक स्रोतको उचित संरक्षण र व्यवस्थापन गरेर पर्यटक प्रवद्र्धनका लागि पालिकाको तर्पmबाट आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । गुफादेखि भूमेथानसम्म पदमार्ग निर्माण भइसकेको छ । सङ्घ सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो पदमार्गबाट सुनाखरीको राजधानी पञ्चासेसम्म पुग्न सकिन्छ ।

अवलोकनका लागि सो स्थानमा पुग्नुभएका पत्रकार महासङ्घ कास्कीका कोषाध्यक्ष तथा कारोबार दैनिकका समाचारदाता दिनानाथ बरालले गुफालाई थप धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाको अध्ययन अनुसन्धान गरी उजागर गर्न सकेमा पर्यटन विस्तारका साथै यस क्षेत्रको विकासमा टेवा पुग्नेमा उहाँहरुको विश्वास छ । पोखराबाट ४० किलोमिटरको दूरीमा रहेको झवाङस्थित झुवारीखोलामा अवस्थित सो गुफाभित्र प्रशस्त चमेरा रहेको छन् । गाउँमा कोदोको बीउका लागि गुफाबाट चमेराको मल ल्याएर राखेपछि बीउ राम्रो हुने गरेको स्थानीय बासिन्दाको सामूहिक धारणा रहेको छ ।

सो गुफामा विशेषगरी परम्परादेखि नै बालाचतुर्दशीमा सदबीज छर्ने र शिवरात्रिमा शिवालयमा गाईको दूध चढाउने श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । सो स्थानमा कास्की, पर्वत र बागलुङदेखि भक्तजन आउने गर्दछन् । मुक्तिनाथको झल्को दिने गरी गुफा परिसरमा एक सय आठ गौमुखे धारा निर्माण गरिएको छ । जिल्ला समन्वय समिति कास्कीको मौजुदा कोषको रु २५ लाखको लागतमा उक्त धारा निर्माण गरिएको हो ।मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने सो सडकमा दैनिक सयौँको सङ्ख्यामा यातायातका साधन ओहोरदोहोर गर्ने उक्त क्षेत्रमा रहेको अलौकिक गुफालाई थप पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अपरिहार्य भएको यस क्षेत्रका व्यवसायीको सामूहिक धारणा रहेको छ । रासस