१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

पर्यटक तान्दै मोटरबोट

पर्यटक तान्दै मोटरबोट
अ अ+ अ-

काठमाडौँ । नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको सायद साढे पाँच दशकअघि हो । सन् १९६८ मा एड्मन्ड हिलारीले हेमिल्टन नामका दुईवटा मोटरबोट कोशी र गण्डकी नदीसम्म ल्याउनुभएको थियो । तत्कालीन समयमा यी बोट यातायात तथा ढुवानी प्रयोजनका लागि ल्याइएको थियो । हिलारीले केही समय नेपालका नदीमा ती मोटरबोट चलाएपछि स्वदेश फर्कनुअघि तत्कालीन भरतपुर गाउँ पञ्चायतलाई उपहार दिनु भएको थियो ।

उपहारमा प्राप्त ती बोटलाई भरतपुर गाउँ पञ्चायतले केही समय विदेशी पाइलट राखेर सञ्चालन गर्‍यो पनि । तर पछि मर्मतसम्भारलगायतका समस्याले यी बोट सञ्चालनमा निरन्तरता भएन । केही समयपछि तीनै बोट भाडामा लिएर कोशी नदीमा चलाइयो ।

त्यसपछि लामो समयसम्म नेपालका नदीमा मोटरबोट खासै चलेनन् । फाट्टफुट्ट भने ढुवानी वा यातायातका रुपमा सञ्चालन भने भएका थिए । पछिल्लो एक दशकयता नेपालका यिनै मोटरबोट पर्यटकीय गतिविधि बढाउने माध्यम बनेका छन् । अहिले कैयौँ नदी तथा जलाशयमा मोटरबोट हुँइकिएको देखिन्छ । पूर्वमा कोशीदेखि पश्चिममा सुर्खेतको बुलबुल तालसम्म मोटरबोट सञ्चालन भइरहेको छ । मोटरबोट सञ्चालनमा आएसँगै ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ ।

नेपालमा मोटरबोट पर्यटनको सुरुआत गर्ने श्रेय व्यवसायी राजकुमार श्रेष्ठलाई जान्छ । चितवनको ठिमुरामा लभ्ली रिसोर्ट सञ्चालन गर्नुभएका उहाँले नारायणी नदीमा पहिलोपटक मोटरबोट सञ्चालन गरी पर्यटकलाई आकर्षित गर्नुभएको थियो । उहाँले जापानबाट दुई वटा जेट स्की र एउटा जेट बोट ल्याएर नारायणी नदीमा सेवा सुरु गर्नुभएको थियो । उहाँकै सिको गरेर पछि अन्य कम्पनी पनि थपिए । तर पछि यसले पनि निरन्तरता पाउन सकेन ।

सन् २०१६ मा लमजुङका विष्णुबहादुर ढकालले नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनी स्थापना गरेपछि भने मोटरबोट पर्यटनले पुनर्जीवन मात्र पाएन देशैभर फैलिएको छ । “हाम्रो कम्पनीले नेपालमै मोटरबोट उत्पादनका साथै मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तयार पारेपछि मोटरबोट सञ्चालन गर्नेहरु बढे”, ढकालले भन्नुभयो, “पछिल्लो समय हामीले जनशक्ति पनि उत्पादन सुरु गरेका छौँ, हाल हाम्रो कम्पनीबाट मोटरबोट उत्पादन गरी सञ्चालन गर्ने कम्पनीहरु बढेका छन् ।”

ढकालका अनुसार नेपालमा मोटरबोट पर्यटनको ठूलो सम्भावना छ । नेपालका कैयौँ नदी र जलाशयमा मोटरबोट सञ्चालन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने अवस्था बनेको छ । केही स्थानीय सरकारले त आफूकहाँ भएका नदी र जलाशयमा मोटरबोट सञ्चालनका लागि सहजीकरण गर्दै सो क्षेत्रको पर्यटन गतिविधि बढाएका छन् । भरतपुर महानगरपालिका, बागमती नगरपालिका, आबुखैरेनी गाउँपालिका तथा वीरेन्द्रनगर नगरपालिकाले आफ्नै अग्रसरतामा पर्यटनको प्रबद्र्धनमा मोटरबोट सञ्चालन गरेको उहाँको भनाइ छ ।

ढकालका शब्दमा कोशी नदीमा यातायात र ढुवानीका हिसाबले मोटरबोट सञ्चालन राम्रो मानिए पनि नारायणी नदी र मर्याङ्दी जलायशमा मोटरबोट सञ्चालन गरी पर्यटक आकर्षित गर्न राम्रो देखिएको छ । उहाँका अनुसार भरतपुर महानगरपालिकाले मोटरबोट सञ्चालनका कारण मनोरञ्जन करबाट मात्रै वार्षिक औसत रु ५० लाख सङ्कलन गर्दै आएको छ । यसबाट स्थानीय सरकारको राजस्व समेत बढेको छ ।

“सफा पानी, पर्याप्त लम्बाइ भएकाले मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलायश मोटरबोट सञ्चालनका लागि राम्रो छ, यस्तोमा मोटरबोट गतिविधि उत्कृष्ट मानिन्छ”, उहाँले भन्नुभयो । त्यसबाहेक नेपालगञ्जको वाटरपार्कमा बोट राइडिङकै कारण भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।

भरत ताल र नारायणी नदीमा पनि मोटरबोटकै कारण पर्यटक बढेका छन् । पछिल्लो समय सुर्खेतको बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि तालको स्वरुप नै फेरिएको छ । चितवनको देवघाटमा रहेका विभिन्न कुण्ड घुम्न पनि मोटरबोट माध्यम बनेको छ । त्यसबाहेक भरतपुरको शिवघाट, सिन्धुलीको खुर्कोटलगायतमा मोटरबोट चलिरहेको छ । बर्दियाको राजापुरमा बोट चढेर डल्फिन हेर्न पाइन्छ । मोटरबोटका गतिका कारण पानीको छाल निस्कँदा डल्फिन आउने गरेका छन् । यसले सो क्षेत्रको पर्यटकीय गतिविधि बढाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बोटेबोरा कम्पनीसँगको सहकार्यमा बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएपछि तालको स्वरुप मात्रै फेरिएको छैन, आम्दानीको नयाँ स्रोत पनि थपिएको छ । लामो समयदेखि जलकुम्भी र फोहोरले भरिएको तालको अस्तित्व सङ्कटमा परेको अवस्थामा फोहोर सफा गरी बोटेबोरा कम्पनीले मोटरबोट सञ्चालनमा ल्याएको छ । कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेवापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ ।

वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालबाट फोहोर निकालेपछि पानीको सतह कम भएको र नगरपालिकाको सहकार्यमा केही माथिपट्टी रहेको दशधाराबाट रातिको समयमा पानी ल्याइएको बताउनुभयो । मोटरबोट सञ्चालनपछि बुलबुले ताको स्वरुप फेरिएको उहाँको भनाइ छ ।

तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ । साथै, बोटेबोरा कम्पनीले नेपालगञ्ज उपमहानगरपालिकासँगको समन्वयमा वार्षिक रु २५ लाख बुझाउने गरी  वाटरपार्कमा मोटरबोट सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय मोटरबोट सञ्चालनमा आकर्षण देखिनुमा बागमती नगरपालिकामा रहेको भरत तालमा मोटरबोट सञ्चालन हुनु पनि हो । सुरुमा माछापालनका लागि बनाइएको पोखरीलाई तालमा परिणत गरिएपछि मोटरबोट सञ्चालन गरिएको थियो । मोटरबोटकै कारण उक्त क्षेत्रको पर्यटकीय गतिविधि मात्रै बढेको छैन, सयौँ जनाले रोजगारी पनि पाएका छन् ।

बागमती नगरपालिकाका उपप्रमुख लिलाकुमारी मोक्तानका अनुसार भरत तालमा मोटरबोट सञ्चालनका कारण धेरैले रोजगारी पाएका छन् भने यसबाट पालिकाको आम्दानी पनि बढेको छ । “हाल ३० भन्दा मोटरबोट सञ्चालन भइरहेका छन्, ताल आसपासमा विभिन्न होटल, रेष्टुराँ तथा पसल सञ्चालन भइरहेका छन् । सामान्य दिनमा औसतमा दुई हजार र मेलापर्व र बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार मोटरबोट सञ्चालनबाट नगरपालिकाले २० प्रतिशत शुल्क लिने गरेको छ ।

त्यसो त स्याङ्जाको मिर्मीदेखि सेतिबेनीसम्मको बाँधमा यातायातका रुपमा स्टिमर भनिने मोटरबोट सञ्चालन लामो समयदेखि भइरहेको छ । नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीका सञ्चालक ढकालले मोटरबोटलाई पर्यटकीय मनोरञ्जनका साथै यातायातको साधनका रुपमा सञ्चालन गर्न सकियो भने निकै ठूलो फाइदा लिन सकिने धारणा राख्नुहुन्छ । “अहिले नदी र जलाशयमा मोटरबोट बढी सञ्चालन भइरहेका छन् । मनोरञ्जनका हिसाबले राम्रो पनि हो तर यसको बढी उपयोग ढुवानी वा यातायातका रुपमा गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार भारतको कलकत्तादेखि चितवनको दासढुङ्गासम्मको रुटमा १० टनसम्मको जहाज सजिलै ल्याउन सकिन्छ । यसो गर्न सकिएमा भने ढुवानी खर्च निकै कम हुन्छ ।

उहाँका अनुसार हिजोका दिनमा नेपालमा जलपर्यटनसम्बन्धी गतिविधिमा र्‍याफ्टिङ मात्रै रहेकामा अहिले मोटरबोट थपिएपछि पर्यटकीय गतिविधि बढेको छ । आगामी दिनमा यसैका आधारमा विभिन्न पर्यटकीय गतिविधि पनि सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । “हिजोका दिनमा विदेशमा गएर गरिने ‘वाटर स्पोर्टस्’का गतिविधिहरु आगामी दिनमा नेपालमै पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि कैयन सम्भावना छन् ।”

जलाशयमा डुङ्गा चलाउँदा सामान्य अनुभव मात्रै प्राप्त हुने र मोटरबोटको प्रयोग तथा अन्य गतिविधि गर्दा वास्तवमै साहसिक जलपर्यटन हुने उहाँको भनाइ छ । “मोटरबोटमार्फत गरिने गतिविधिमा हावा, पानी र गतिको सम्मिश्रण हुन्छ । यसले खेललाई साहसिक बनाउँछ ।”

उहाँ हामीकहाँ भएका जलाशयहरु विद्युत् उत्पादनमा मात्रै प्रयोग भइरहेको भन्दै त्यही जलाशयमा मोटरबोट सञ्चालन गरी थप आर्थिक गतिविधि बढाउन सकिने धारणा राख्नुहुन्छ । “विदेशमा रु पाँच हजारमा गर्ने गतिविधि आजका दिनमा एक प्लेट मम:मा हुने खर्चमै हामीले उपलब्ध गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “रन अफ रिभरमा औसतमा रु दुई सय ५० देखि तीन सय ५० सम्ममा अनुभव लिन सकिन्छ ।”

नेपालमै बन्छ बोट

नवलपरासीको गैँडाकोटमा रहेको नेपाल सीप एन्ड बोट बिल्डिङ कम्पनीले पछिल्लो एक दशकयता बोट निर्माण गर्दै आएको छ । “हामीले नेपालका नदीहरुको बहाव, पानीको गहिराइ, खोलाको गतिको अध्ययन गरिसकेका छौँ, सोहीअनुसार बोट उत्पादन गर्छौ”, कम्पनीका अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँका अनुसार कम्पनीले जापानको सुजुकी मरिन कम्पनीले उत्पादन गर्ने इन्जिन र प्रविधि प्रयोग तथा मेकानिकल स्टेरिङ प्रणालीका लागि अमेरिकाको मल्टिफेलेसको प्रणाली प्रयोग गरी बोट उत्पादन गर्दै आएको छ । उहाँका अनुसार एउटा बोट उत्पादनका लागि सामान्यतया: औसतमा रु २० लाख पर्छ । त्यसबाहेक ग्राहकको रुचि र आवश्यकताका आधारमा यसको खर्च थपघट हुनसक्छ ।