• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने



काठमाडौँ । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिनुभयो । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुन: अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् ।

निर्देशक डा मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उहाँले बताउनुभयो । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताउनुभयो । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उहाँको भनाइ छ ।

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा मरासिनीले बताउनुभयो ।

हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताउनुभयो । उहाँका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ । रासस