• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

इलाम उपनिर्वाचन: एमालेद्वारा छ जनाको नाम सिफारिस, झलनाथ बन्लान् साझा उम्मेदवार ?



इलाम : प्रतिनिधिसभाका लागि आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेद्वारका आकाङ्क्षीबीच दौडधूप सुरु भएको छ । यो क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेले आकाङ्क्षीबीच सहमति नजुटेपछि आकाङ्क्षीहरु सबैको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले २ नम्बर क्षेत्रीय संयोजक बुद्धिप्रसाद खनाल, पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी, सुवास नेम्बाङका पुत्र सुहाङ नेम्बाङ, नरेन्द्रनाथ भट्टराई, डा.देवी क्षेत्री दुलाल र रिपल राईको नाम केन्द्रमा पठाउने निर्णय गरेकोे छ । का अनुसार सचिवालयको निर्णय आज (सोमबार) केन्द्रमा सिफारिस पठाईनेछ ।

सचिवालय बैठकमा सहमति जुटाउन प्रयास भएपनि सम्भव नभएपछि सबैको नाम सिफारिस गर्नुपरेको जिल्ला सचिव उमेश गुरुङले बताउनुभयो । जिल्ला उपाध्यक्ष उदयबहादुर राई संयोजकत्वको कार्यदलले पनि सहमतिको प्रयास गर्दा सम्भव नभएपछि छ जनाकै नाम सचिवालयमा पठाएको गुरुङको भनाई छ । पार्टीको केन्द्रीय अन्तरपार्टी निर्देशनमा आकांक्षीमध्ये एक महिलासहित तीन जनाको नाम जिल्लाले सिफारिस गर्नुपर्ने उल्लेख छ ।

यता, नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्कासहित जिल्ला नेताहरू भेषराज आचार्य, केशव थापा र नगेन्द्र कुमाललगायतको नाम उम्मेदवारको चर्चामा छ । अब केहि दिन भित्रमा उम्मेद्वार सिफारिस गर्ने सभापति खड्काले बताउनुुभएको छ । खड्का आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुहुन्छ । ‘विगत निर्वाचनपछि कांग्रेस गाउँमा सक्रिय छ, २ नम्बर क्षेत्रमा पनि हाम्रा मतदाता बढेका छन्, कांग्रेसप्रति मतदाताको विश्वास बढेको छ,’ उहाँ भन्नुुुुुुुुुुुुहुुन्छ ।

खड्का २०७९ को निर्वाचनमा एमाले नेता सुुवास नेम्बाङसँग झिनो मतान्तरले पराजित हुनु भएको थियो । उहाँले भन्नुभयो, ‘पार्टी संगठन र मतदाताबीचको सम्बन्ध सुध्रिएको छ ।’ कांग्रेसले उपनिर्वाचनको तयारीका क्रममा आफूले गरेका राम्रा काम मतदातासम्म लैजाने र अब पार्टी कसरी अघि बढ्नुपर्छ भनेर मतदातासँगै छलफल गरिरहेको कांग्रेसले जनाएको छ ।

सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)बाट यो क्षेत्रको उपनिर्वाचनमा केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वसांसद् धीरेन शर्मा रमण र गत प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र २ (२)मा पराजित कान्छा लावतीको नाम उम्मेदवारको चर्चामा छ । पार्टी जिल्ला कमिटीले इच्छुकमध्येबाट तीन जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गर्नेछ ।

केही दिनभित्रमा उम्मेद्वारको नाम सिफारिस गरिने पार्टीका जिल्ला कार्यालय सचिव प्रकाश परियारले बताउनुुभएको छ । उपनिर्वाचनमा माओवादी निर्वाचन क्षेत्रका पालिकामा केन्द्रित हुँदैछ । केन्द्रमा सत्ता समीकरण बदलिएपछि पनि माओवादी आफ्नै दलको उम्मेदवार यो क्षेत्रमा उठाउने तयारीसहित निर्वाचन क्षेत्रमा केन्द्रित भएको हो । माओवादीले चैत ४ मा चुलाचुली, माङ्सेबुङ र माई तथा चैत ५ मा इलाम, देउमाई र फाकफोकथुममा निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रम राखेको पार्टीका जिल्ला कार्यालय सचिव प्रकाश परियारले जानकारी दिनुुभयो ।

नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन भएपछि २०७९ सालको निर्वाचनमा माओवादीले इलाम क्षेत्र २ मा उम्मेदवारी दिएको थिएन । त्यस निर्वाचनमा माओवादीले गठबन्धनबाट जिल्लाका प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारमध्ये इलाम क्षेत्र २ (२)मा मात्र उम्मेदवारी दिन पाएको थियो ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले तीन जनाको नाम सिफारिस गरेको छ । जसपाका सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूलाई उम्मेद्वारका लागि सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

पछिल्लो समय निकै चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले छ जनाको नाम सर्टलिस्टमा राखेको चर्चामा आएपनि सार्वजनिक भएको छैन । सो पार्टीले स्थानीय उम्मेद्वारलाई नै प्राथिमिकता दिने जनाएको छ । रास्वपाबाट धर्म गौतम, महेन्द्र थापा, विष्णु काफ्लेको नाम चर्चामा छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम चर्चामा छ । उहाँ गत निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेतसँग दुई हजार ६४५ मतान्तरले पराजित हुनुुभएको थियो । खनाललाई वर्तमान पाँचदलीय गठबन्धनले साझा उम्मेदवार बनाउने चर्चा पनि इलाममा छ । यद्यपि यस बारेमा कुनै निर्णय भइसकेको छैन ।

उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले थालेको आन्दोलनको नेतृत्व थेगिमले गर्दै आउनुुभएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेद्वारको रुपमा पत्रकार मिलन लिम्बूले उम्मेदवारी घोषणा गरिसक्नुुुुुभएको छ ।

यो पटक राजनीतिक समीकरण फेरिएर एमाले, माओवादी, रास्वपा र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन बनेको अवस्थामा अबको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेद्वार बन्छन् कि सबै दलले फरक फरक उम्मेद्वार उठाउँछन् भन्ने यकिन भएको छैन ।

कुन दलले उम्मेदवारी पाउने भन्ने निश्चित भइसकेको छैन । आउँँदो उपनिर्वाचन इलाम कांग्रेसको सन्दर्भमा निकै रोचक र महत्वपूर्ण बन्ने देखिएको छ । विगत निर्वाचनको परिणाम, गठबन्धन र पराजित उम्मेदवारबाट भएको चुनावी समीक्षाले आउँदो उपनिर्वाचन इलाम कांग्रेसका लागि कस्तो रहला भन्ने धेरैको चासो छ ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट विजयी हुुनुभयो । तर, नेम्बाङले जित्दा न एमाले क्षेत्र २ मा ‘ढुक्क’ रहन सक्यो, न पराजित हुँदा कांग्रेसले चित्त बुझायो । आफूलाई हराइएको भन्दै कांग्रेस उम्मेदवारले निर्वाचन आयोगमा निवेदनसमेत दिए ।

त्यो निर्वाचनमा कांग्रेस उम्मेदवार तथा जिल्ला सभापति डम्बरबहादुर खड्का नेम्बाङसँग एक सय १४ मतको अन्तरले मात्रै पराजित हुुनुुभयो । नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बन्नुुभएको थियो । निकटतम् प्रतिद्वन्द्वी खड्काले २९ हजार नौ सय छ मत प्राप्त गर्नुभएको थियो । ०७९ सालको निर्वाचनमा इलाम क्षेत्र २ को समानुपातिकमा माओवादीले पाँच हजार एक सय ५३ मत ल्याएको थियो । समानुपातिकमा एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार हजार छ सय ८६ मत ल्याएका थिए ।

आउँदो उपनिर्वाचनको मुखमा सत्ता समीकरण फेरिएको छ । अहिलेकै परिवेश हेर्ने हो भने कांग्रेससँग माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) पनि साथमा छैनन् ।

सम्भवत: यो उपनिर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाँदैछ । एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मिति तोकेपछि जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र बनाएको छ । मतदाता नामावली रूजु गर्ने, निर्वाचनमा चाहिने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू सुरू गरेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयलले बताउनु भयो ।

निर्वाचन कार्यतालिका

निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह वितरणको कार्यक्रम छ । चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्त गरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ । वैशााख १२ गते मध्यरातिदेखि मौन अवधि रहने छ । २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

इलाम क्षेत्र न.२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ ।

प्रदेश सभा खण्ड अन्तर्गत यस निर्वाचन क्षेत्रमा इलाम २ (क) र (ख) छन् । निर्वाचनका लागि १ सय ४९ ओटा मतदान केन्द्र र ७९ ओटा मतदान स्थल रहने आयोगले जनाएको छ ।