• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

दिन नपाएको गुलाफ



कलेजको क्यान्टिन । हिजोआज शून्य छ । एकदमै उराठ । निरीह र शोकमग्न । लाग्छ, आशौच बारेको छ त्यसले । जति नै भिडभाड भए पनि मान्छेहरु क्यान्टिनको दाया छेउमा जाँदैनन् । जान रूचाउँदैनन् वा त्यो कसैका लागि रिजर्भ गरिएको छ ।

त्यसो त त्यो छेउ एक प्रकारको रिर्जभजस्तै थियो डेनिस र कृपाका लागि । उनीहरु सँगै आउँथे । बिहानै चना, चिया खान्थे । अनि मात्र छिर्थे कक्षामा । कक्षा खाली हुनेबित्तिकै त्यहीँ पुग्थे र पेट मिचिमिची हाँस्थे । केही खान्थे, अनि कक्षातिरै लाग्थे । त्यो स्थान उनीहरुका लागि अघोषित बुकिङ थियो । सायद उनीहरु एकान्तप्रेमी थिए— सधैं एकनास, एउटै कुर्सी, एकै किसिमको बसाइ ।

अचेल खाली छ त्यो स्थान । महिनौ भइसक्यो, उनीहरु बस्ने कुर्सीमा धुलोका पत्रपत्र देखिन्छन् टाढैबाट । त्यहाँ कोही बस्तैन सायद । त्यसैले होला, सफा गर्नका लागि पनि क्यान्टिनवालाको नजर पुगेको छैन । अरु टेबलकुर्सी पुछिन्छ तर त्यो पुछिएको पनि छैन । दायाँ/बायाँ सारिएको पनि छैन ।

हामी क्यान्टिनको मध्यभागमा थियौं । बाफ उडाउँदै वेटरले तातो चिया ल्याएर टेबलमा राखिसकेको थियो ।

“अरु केही लिने ?” मैले सोधें । टाउको हल्लाउँदै ‘नखाने’ सङ्केत गरी उसले । सदाबहार मुस्कुराउने उसका अधर गम्भीर पीडामा थिए । अनुहारको लालित्य नीरमा रुपान्तरण भएको थियो ।

“परिस्थिति तिम्रो हातमा छैन । समय हाम्रो बसमा कहिल्यै हुँदैन । त्यसैले स्विकार गर जे तिम्रो पक्षमा परेको छ । अन्तिम सत्य त्यही हो ।” निकै समयको सन्नाटापछि मैले भनें । ऊ फगत चिया रित्तिएको गिलासलाई हेरिरहेकी थिई । सायद तुलना गर्दै छे— ‘म पनि यसरी नै रित्तिइसकेकी छु । कसैबाट पिइसकिएकी छु । जुठो गिलासमा फेरि चिया कसले राख्छ ?’

मैले साचें, ‘चिया पिइसकेपछि गिलासै कहाँ फालिन्छ र ? चिया जति आवश्यक छ, त्योभन्दा बढी गिलासको महत्व छ । गिलासै नभए चिया कसरी पिइन्छ ?’

प्रतिक्रियाहीन उसको एकाग्रता भङ्ग गर्ने प्रयासमा मैले भनें— “सबैले सोचेको र चिताएको पुग्दैन । ‘माटोको भर ढुङ्गा, ढुङ्गाको भर माटो’, ‘नङमासुको सम्बन्ध’, … … यी सब वाहियात विषय हुन् । न माटोले सधैं ढुङ्गालाई भर दिएको हुन्छ, न त ढुङ्गा नै माटोको भरमा विश्वस्त हुन सक्छ । दीर्घकालीन विश्वास कहीँ हुँदैन । यदि हुन्थ्यो भने माटो पग्लिएर बग्दा ढुङ्गाले बज्रिएर फुट्नुपर्दैनथ्यो । ढुङ्गाले लडिबुडी खेल्दा माटो फुसफुसिएर झर्नुपर्दैनथ्यो । कैयौंपल्ट माटोको विश्वासघातले ढुङ्गा टुक्रिनुपरेको छ । कणकणमा आफ्नो सिङ्गो अस्तित्व गुमाउँदै कमजोर बन्नुपरेको छ । अनि कैयौंपल्ट ढुङ्गाले धोका दिँदा माटोले वर्षासँगै बगेर पानीमा आफ्नो अस्तित्व विलीन गर्नुपरेको छ ।”

“मेरो मनले मलाई नै धोका दियो । आत्मघाती गोल ! पीडा हुँदैन र ?” लामो समयको मौनता तोड्दै उसले भनी । उसका आँखामा आँसु टिलपिलाए ।

‘ तिम्रो प्रेममा शंका गरेको होइन तर तिम्रो विश्वास ओभरफ्लो भयो । उसको विश्वास जित्न सकिनौ । ’ मैले यसो भनिरहँदा उसका आँखाबाट ढिक्का /ढिक्का आँसु खसिरहेका थिए ।
आँखाको नियन्त्रणमा आँसु हुने भए किन यस्तो हुन्थ्यो ? कैयौंपल्ट ऊ डा“को छाडेर रोएकी छे मेरा अगाडि । आँखा त द्वार मात्रै हो, आँसु उत्पन्न गराउ“छ भावनाले । डेनिसप्रति उसको भावना आँसु बनेर बगेको थियो । प्रेममा आँसु त कति बग्यो । त्यसको लेखाजोखा छैन ।

महिनौं भइसक्यो ऊ यसरी आँसुमा डुबेको । भावनामाथि आइलागेको विपत्तिले अनवरत आँसुको वर्षा गराइराखेको छ । त्यही आँसुको वर्षामा डुबेको छ उसको मन । आस्था र विश्वासको बाँध भत्किएपछि मन आँसुको डुबानमा त पर्छ नै । चाहन्थें तत्काल उद्धार गरु“ । तर उद्धारका संयन्त्रले उसको पनि त विश्वास जित्नु आवश्यक थियो । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ’ भन्छन्, आहत भएको उसको मनलाई ढाडस दिन चाहन्नथें म । स्थिति विश्लेषण गर्दै अनुहारको छाला खुम्च्याउनुबाहेक मसँग उसलाई दिने सान्त्वनाको उपहार थिएन ।

“समयसँगै पीडाको स्वरुप हिम्मतमा बदल्नुपर्छ तिमीले । कति रून्छ्यौ ? कति कमजोर पाछ्र्यौ आपूmले आफैलाई ? हिउँदभरि मायाप्रीति गाँसेका ढुङ्गा र माटोले भिन्न हुनुपर्ला भन्ने सोचेका होलान् र ? तर असारे वर्षाले कमजोर बनाएको मित्रता साउने भेलले बगाउँछ, अनि ढुङ्गो बगरमा पुग्छ । माटो पानीमा घुल्दै फेरि त्यही ढुङ्गालाई हिर्काउँदै बहन्छ । उसले आफ्नो षड्यन्त्रकारी ‘सकुनि’ पानी हो भन्ने पत्तै पाउँदैन । हो, उन्मुक्त यौवन नै तिम्रो प्रेमको ‘सकुनि’ हो ।” सम्झाउने प्रयासमा म अलि बढी नै भावुक बनें ।

“त्यस्तो बेपर्वाह हुनै सक्तैन ऊ । म उसको गैह्रजिम्मेवारी स्विकार्न सक्तिनँ । मलाई विश्वास छ— ऊ मलाई सम्झिरहेछ, मलाई बोलाइरहेछ । सायद कुनै असहज परिस्थितिमा होला ऊ, एक दिन अवश्य आउनेछ । त्यही कुर्सीमा बसेर मन्द मुस्कानसहित मलाई इसारा गर्नेछ साथका लागि । अनि अशान्त बनेको मेरो मन छातीमा टाँसेर वेदनाको पोको फुकाउनेछु ऊसँग । म त्यो पल व्यग्रतासाथ पर्खिरहेकी छु ।” टेबलमा घोप्टो परी ।

भन्नु धेरै थियो उसलाई तर घाँटी अवरूद्ध भयो । निकै बेरपछि बिस्तारै टाउको उठाई र दायाँपट्टिको त्यही खुला छेउतिर हेर्दै भन्न थाली— “सम्झनाका खातहरु खप्टिइरहेछन् निरन्तर । खहरेझै मस्तिष्कबाट ‘स्क्यान’ हुँदै मनमा बज्रिरहेछ । सबै मीठा पलहरु खण्डित भइरहेछन् । अनलाईनमा उसँग भएका वार्तालापहरु स्क्यान भईरहेछन् अनि ती प्रेमिल अनूभूतिले पीडा दिईरहन्छन् । तर गल्ती त म बाट पनि भएकै हो । किन आफैलाई विर्सिएर विश्वास गरेँ ? ” भावुकताको सीमा थिएन ।

अपनत्व र सम्पुर्णताको अनुभूतिले उसलाई घायल बनाउँथ्यो घरिघरि । फेरि ऊ आफैलाई केलाउन थाल्थी । आफुलाई सम्पुर्ण रुपमा सुम्पिएकोमा आत्मग्लानी पनि देखिन्थ्यो । परिचय देखि प्रेमीसम्मका सबै खुट्किलामा चालेका पदचापहरुमा पश्चताप छ उसलाई कहीँ कतै अन्तरदिलमा । लाग्दैनथ्यो, ऊ भर्रखरै १९ मा टेकेकी छे । समय र परिस्थितिले उसलाई यति छिटै परिपक्व बनाइदियो । उसको एकोहोरो लगाब देखेर म साह्रै भयभीत भएँ । डेनिसको त्यो कुटिल स्वभाव प्रति ऊ पुरै बेखर थिई । सायद प्रेम भनेकै यस्तै हुँदोहो ।

कलेज छुट्टी भयो । यथावत् पीडामा हामी छुट्टियौं । डेनिसप्रतिको पीडादायी अनुभव अलिकति पनि हटाउन सकिनँ मैले । मलाई झन् पीडित बनायो । म सिधै डेनिसकहाँ पुगें । म भित्र पस्ता ऊ फेसबुकमा व्यस्त थियो । अविवादन गर्दा पनि उसका नजर ल्यापटपबाट हटेका थिएनन् ।

“ओइ ! हेर त जालमा अर्की मछली । वाह ! क्या परफेक्ट !” उसले स्क्रिनमा युवतीको फोटो देखाउँदै भन्यो ।

“उफ! तँ कहिले सुध्रिन्छस् ?”

“के भा छु र म ?” ल्यापटपबाट आँखा नहटाई बोल्यो ।

“ल्यापटप त छोड् पहिला । म तँ सँग कुरा गर्न आएको । जरूरी छ ।” मैले अलि चर्को बोलें ।

“अरे यार ! भन् न, म सुनिरहेछु । तँ पनि साह्रै नहुने के ! गर्लफ्रेन्ड त होइनस् नि, आँखा जुधाएर कुरा गर्नुपर्ने ?”

“तेरो दिमागमा गर्लफ्रेन्डभन्दा अरु केही छ ? हैन कस्तो मान्छे तँ ?” मैले जबरजस्ती उसको ल्यापटप बन्द गरिदिएँ ।

“ह्या ! के गरेको ? कस्तो यार ? जस्ट रिक्वेस्ट एसेप्ट गरेकी थिई । हाई भनूँला भनेको त बन्द पो गरिदियो !” ल्यापटप खोस्न खोज्दै थियो, मैले भनिहालें, “कति जनालाई हाई गर्छस् ?”
“अरे यार, म तँ जस्तो हो त ? मर्दका कतिकति….” कोठै थर्कने गरी हाँस्यो ऊ ।”

“कृपाप्रतिको तेरो व्यवहार मलाई ठीक लागेन । कम्तीमा एक पटक सँगै बसेर कुरा गर् । आफ्नो कुरा प्रस्ट राख् । मान्छेलाई त्यसरी दु:खी बनाउनुहुँदैन । अझै यो त भावनाको विषय पर्‍यो ।”

“ए ! उसो भए तँ कृपाको मिडिएटर भईस् ? कहिले देखि ? ”

“तँ जे भन् तर यसरी कसैको प्रेमको खुमलखुला घाँटी रेट्न सक्तैनस् ।”

“मलाई लेक्चर नदे । मेरो क्षमतामा तेरो मापदण्ड लागू हुँदैन । मैले उसलाई कुनै प्रतिवद्धता दिएको छैन । म उसको अगाडि कहिले पनि प्रेममा स्पष्ट थिईन । मेरो अस्पष्टतालाई उसैले बुझ्नु पर्ने थियो । मैले उसलाई कहिलेही प्रेम गरिनँ । आफु अनुकुल प्रयोग गरेँ । मैले उसलाई भनिसकेको छु ‘अब हामी सँगै हुन सक्तैनौ’ भनेर । तेरो लेक्चर गएर त्यसैलाई सुना । ”
“ओई ! प्रेम गर्छे ऊ तँलाई, आफैलाई विर्सिएर । उसको अवस्था कस्तो छ अहिले ? थाहा छ तँलाई ? ”

“म गर्दिनँ । केही भन्नु छ ? अवस्था जस्तोसुकै होस् । मलाई के मतलब ? एक–दुई दिन मोटरसाइकल चढेकी के थिई । मसँग प्रेम गर्ने ? एक–दुई दिन घुम्न जाँदैमा मैले जीवनभर साथ दिनुपर्ने ? यो सत्य युग हो र ? रिल्याक्स ! तेरो डिक्स्नेरीमा यो शब्द छ ? छैन भने अपलोड गर् । उसले पनि रिल्याक्स गरी, मैले पनि रिल्याक्स गरें । हिसाबकिताब बराबर । बीस पनि नपुग्दै एउटैलाई प्रेम गरेर ‘फिदा’ बन्ने हो भने यो जवानीको के काम ?”

कृपाका शिरानीमा रहेका दर्जन बढी गुलाफ मेरा आँखा वरिपरि नाच्न थाले । ‘डेनिसको कुटिल प्रपञ्जमा कतिजना कृपाहरु शिकार हुने हुन् ? यो प्रेमले किन यति विघ्न पीडा दिएको ?’ म सोच्तै थिएँ ।

मेरो हातबाट ल्यापटप लगी च्याट गर्न सुरू गरिसकेको थियो डेनिसले । हेर्दाहेर्दै त्यही युवतीसँग डेट मिलायो र बाहिरियो ।