९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल

गुठीमा धनी श्रीरामचन्द्र मन्दिरमा आउँदैन पर्याप्त आयस्ता

गुठीमा धनी श्रीरामचन्द्र मन्दिरमा आउँदैन पर्याप्त आयस्ता
अ अ+ अ-

काठमाडौँ : निजी गुठीमा नेपालकै धनी मन्दिरमध्येमा पर्ने काठमाडौँ महानगरपालिका वडा नं ९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा गुठीको आयस्ता भने आउँदैन ।

मन्दिरका नाममा काठमाडौँको बत्तीसपुतली, हाँडीगाउँ, साँखु र नाङ्लेभारेलगायत विभिन्न स्थानमा ३७३ रोपनी जग्गा छ ।

यसमध्ये वर्षमा करिब ७० रोपनी जग्गाको मात्र तिरो उठ्ने गरेको श्रीरामचन्द्र निजी गुठीका सचिव केशवध्वज राणाले राससलाई जानकारी दिनुभयो । वार्षिक करिब ५० जनाजति मोहीमात्र जग्गाको कुत बुझाउन गुठीमा आउने गरेका छन् । गुठी संस्थानले तोकेको दरअनुसार नै निजी गुठीले कुत लिने गरेको सचिव राणाले बताउनुभयो । धेरै मोही कुत तिर्न नआउँदा मन्दिरको व्यवस्थापनमा समस्या हुने गरेको छ ।

निजी गुठीले श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिलाई केही वर्षदेखि रामनवमीको अवसर पारेर वार्षिक रु एक लाख ५० हजार मात्र दिने गरेको छ । मन्दिरमा नित्य एवं नैमित्तिक पूजाआजा, मर्मतसम्भार, सरसफाइलगायत काम समितिले नै गर्दै आएको छ ।

विसं १९२८ मा मन्दिर स्थापना गर्नुहुने कम्यान्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले राख्नुभएको दानपत्रको व्यहोरामा नित्य, नैमित्तिक पूजा गरी बिग्रे, भत्केको मर्मत गर्न जग्गा राखिएको उल्लेख छ । दानपत्रमा टन्डन परिवारको एकोद्दिष्ट र पार्वण श्राद्ध गर्न पनि जग्गाको आयस्ता उपयोग गरिने उल्लेख छ । यसको संरक्षणका लागि टन्डनले आफ्नो शेषपछि छोरीपट्टिका नाति महेन्द्रध्वज राणालाई अख्तियारी दिएको दानपत्रमा उल्लेख छ ।

आयस्ता नउठ्दा विसं २०४८ अघि मन्दिर जीर्ण बनेको थियो । स्थानीयवासीको सक्रियतामा श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समिति गठन गरी अहिलेको स्वरुप दिइएको सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । अहिले यो मन्दिर नेपालकै स्वच्छ, सफा र आकर्षक मन्दिरका रुपमा स्थापित भएको छ । जीर्ण मन्दिरलाई उद्धार गर्न गुठीको आयस्ता उपयोग हुन सकेन । व्यक्ति, व्यक्तिबाट चन्दादान सङ्कलन गरी मन्दिर जीर्णोद्धार गरिएको उहाँले सुनाउनुभयो । दाताबाट लिएर गरिएको खर्चको प्रत्येक वर्षको हिसाबकिताब राखिएको समितिले जनाएको छ ।

समितिले जीर्णोद्धार गरेर मन्दिरलाई आकर्षकरुपमा स्थापित गरेपछि यहाँ भक्तजनको आकर्षण बढेको थियो । विवाह, व्रतबन्ध, लाखबत्तीलगायत धार्मिक कर्म गर्न आउनेबाट समितिले शुल्क लिएर मन्दिर व्यवस्थापन र पूजाआजामा खर्च गर्दै आएको छ । मन्दिरमा भक्तजनको आकर्षण बढेकैबेला विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति गर्‍यो ।

समितिकै पहलमा दाताबाट सहयोग सङ्कलन गरी राजधानीका सांस्कृतिक सम्पदामध्ये बत्तीसपुतलीको श्रीरामचन्द्र मन्दिर पहिलोपटक पुन:निर्माण भएको थियो । भूकम्पपछिको पुन:निर्माणको हिसाबकिताबसमेत समितिले सुरक्षितसाथ राखेको छ । दाताले जुन प्रयोजनका लागि निजी गुठी स्थापना गरेर मन्दिरका नाममा जग्गा राखेका थिए । त्यसमा खर्च हुन सकेको छैन । उदारमना दाताको सहयोगबाट नै मन्दिरको जीर्णोद्धार, पुन:निर्माण एवं नित्य, नैमित्तिक कर्मसमेत सम्पादन हुन थालेको छ ।

श्रीरामचन्द्र मन्दिर निजी गुठीमा तिरो तिर्न आउनुभएका काठमाडौँ महानगरपालिका वडा नं ७ पनेकु टोलका सागर सिग्देल हजुरबाका पालामा गुठीको १२ आना जग्गा खरिद गरी उपभोग गरेकामा अहिले सडकले लिएर आठ आनामात्र बाँकी हुँदा पनि सडकमा परेको चार आनाको पनि तिरो तिर्नुपरेको गुनासो गर्नुहुन्छ । निजी गुठीले भने जग्गाको हालसाविक गर्न नसक्दा यस्तो समस्या देखिने गरेको जनाएको छ । १२ आना जग्गाको वार्षिक रु एक हजार ७०० तिरो तिर्ने गरेको सिग्देलले राससलाई जानकारी दिनुभयो ।

विसं २०६५ देखि निजी गुठी जग्गा बेचबिखन रोक्का हुँदा मोहीलाई समस्या भएको छ । यसबाट मोहीले गर्जो टार्न पाएका छैनन् । अदालतको आदेशमा १५ वर्षदेखि निजी गुठी जग्गा बेचबिखनमा रोक लगाइएको हो । यो व्यवस्था छिटो हटाउन मोहीले माग गर्दै आएको समितिका सदस्य सचिव टन्डन बताउनुहुन्छ ।

बत्तीसपुतली थुम्कोमा तीन रोपनी चार आनामा मन्दिर क्षेत्र फैलिएको छ । सडकबाट ९० फिट उचाइमा मन्दिर स्थापित छ । मन्दिरमा राम, सीता, भरत, लक्ष्मण र शत्रुघ्नको पूर्णकदको मूर्ति ढुङ्गामा कुँदेर स्थापना गरिएको छ । बाहिरी भागमा हनुमानको पूर्णकदको मूर्ति छ । मन्दिर वरपर शिवालय छ । देवी, गणेशलगायत मूर्ति पनि मन्दिर क्षेत्रमा स्थापित छ । नेपालमा राजकीय गुम्बज शैलीमा निर्माण गरिएको थोरै मन्दिरमध्येमा यो पनि पर्छ ।

यहाँ प्राप्त पुरातात्विक अवशेषबाट बत्तीसपुतली ऐतिहासिक र पुरातात्विक महत्व भएको प्राचीनस्थल हो भन्नुहुन्छ संस्कृतिविद्समेत रहनुभएका समितिका सदस्य सचिव टन्डन । तर यो विषय प्रमाणित भने नभएको उहाँले सुनाउनुभयो । तर, बत्तीसपुतली नाम रहनुमा विभिन्न किम्बदन्ती सुनिने गरेको छ ।

एउटा किंवदन्तीअनुसार अहिले श्रीरामचन्द्रको भव्य मन्दिर भएको स्थानमा स्वर्गबाट ३२ वटी अप्सरा पुतलीकारुपमा आएर एक/एक महत्वपूर्ण कुरा सुनाएर गएका थिए । यसैले यो ठाउँलाई बत्तीसपुतली भनिएको हो भन्ने स्थानीय बुढापाकाको भनाइ छ । विसं १९५३ को अभिलेखमा पहिलोपटक बत्तीसपुतली नाम लेखिएको विषय नयराज पन्तले रुपरेखा अङ्क १५७ को लेखमा उल्लेख गर्नुभएको छ ।

पूर्णप्रसाद मिश्र/रासस