३ पुष २०८२, बिहीबार
,
Latest
नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित



अ+ अ-

झापा ।  डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।

सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो । कोशी प्रदेशको १४ जिल्लामै डेङ्गु फैलिएको छ ।

उहाँका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उहाँको भनाइ छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ । गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ । डेङ्गुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ ।

साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, सङ्खुवासभा आठ सय ६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेङ्गुका बिरामी फेला परेका छन् । डेङ्गु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेङ्गुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि डेङ्गु सङ्क्रमितको सङ्ख्या झन् बढ्दो रहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेङ्गुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेङ्गुका बिरामीमा देखिन्छन् ।