• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ शुरु हुने



काठमाडौं । सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु गर्ने भएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलीदेखि सो सिस्टम शुरु गर्न लागेको जानकारी दिनुभएको हो । आईतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुसँगको सामुहिक भेटमा उहाँले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पार्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको शुरुवात गर्नुपरेको बताउनु भयो । उहाँले प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताउनु भयो । सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उहाँले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्यायपालिका भित्र भएका अनियमितताका कुराहरु । अब त्यो त न्यायपालिका भित्र हुनसक्ने, भएका, हुने अनियमितताका कुराहरुलाई हामीले एउटा विधि र प्रणालीबाट सम्बोधन गर्नुपर्छ । सम्बोधन गर्ने क्रममा कतिपय कुराहरुलाई व्यवहारिक रुपमा पनि त्यसलाई सुक्ष्म रुपमा हेर्नुपर्ने, परख गर्नुपर्ने स्थिति आईपर्छ । सकभर हामीहरु चाहीँ एउटा प्रविधिबाटै जाऊ । प्रविधिमैंत्री भयो भने त्यस्ता भनाईहरु, त्यस्ता काम कारबाहीहरुको गुनासो कम आउँछ कि भन्ने कुरा भएको हुनाले भोली मात्रै मैले जुन अस्ती तपाईहरुको सामुन्ने भएको थिए । पेशी तारेख अटोमेशन शुभारम्भ । कि अब पेशी तारेख हुँदाखेरी कर्मचारीहरुले एउटा प्रविधिबाट मात्रै तोकिने, त्यसमा मानव हस्तक्षेप नहुने प्रविधि भोलिदेखि म शुभारम्भ गर्दैछु । यस्तैयस्तै माध्यामबाट हामी अनियमिततालाई छेक्ने, अनियमितता हुन नदिने आदि कुराहरु सानातिना व्यवस्थापकीय कार्यहरुबाट पनि गर्न सकिन्छ होला । प्रविधिमा म त धेरै भरोसा गर्दछु । मैले भने कि त्यो पूरा प्रविधिमैत्री छ । हरेक कुराहरु प्रविधिमै आवद्ध हुनुपर्ने, त्यो नभई हुँदै नहुने । कर्मचारीहरुले त्यो प्रविधिमा आवद्ध भएनन भने कामै अगाडि नबढ्ने । जान्नैपर्ने बाध्यता छ त्यो । गर्नैपर्ने बाध्यता छ, त्यो । त्यसलाई सफल पार्नु पाएदेखि सानातिना हामीमाथि लागेको जो होलान पनि । ती अनियमितताहरुलाई न्युनिकरण गर्न सकिन्छ कि भन्ने मलाई लागेको छ । त्यसैले अनियमितता हुने कुराहरुमा न्याय सेवा दिने क्रममा हुने अनियमितता त फेरि छुट्टै ढंगले त्यो छानबिन, जाँचबुझ हुन्छ नै । त्यो त अध्ययन भई नै रहन्छ । न्याय परिषद छ । न्याय परिषद्ले हेर्छ । हेरिराखेको छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले न्यायाधीश नियुक्ती नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताउनु भयो । मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरु समेत नहुँदा अपm्ठ्यारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘न्यायाधिश नियुक्तीको विषय म तत्काल गरिहाल्छु । न्यायाधीश नियुक्ती नगरी नहुने भएको छ । त्यो मैले महशुस गरेको छु । म त्यसमा लागि सकेको छु । छिट्टै त्यो नतिजामा आउँछ होला । साथीहरु कम छ । मुद्दाहरुको बोझ छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार संप्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।