• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

भ्रष्टाचारका नायकहरुको “साँडे डुक्राइ” अति भयो !



अमेरिकामा एकताका राष्ट्रपति ट्रम्पको साँडे डुक्राइ निकै चर्चामा रहने गरेको थियो । उहाँले विभिन्न किसिमका अरिंगाल समूहहरु बनाएर आफ्नो जयजयकार गराउनु हुन्थ्यो ।ती अरिंगालको माध्यमबाट अन्तिमसम्म पनि अनेकौं वितण्डा मच्चाइरहनुभयो ।

अमेरिकाको पुरानो र प्रजातन्त्रको मुख्य पहरेदार मानिएको रिपब्लिकन पार्टीको साखमा समेत धब्बा लगाइदिनु भयो । उहाँको साँडे डुक्राइका सम्बन्धमा कयौं पुस्तक, लेख र टिप्पणीहरु तयार भए ।

उहाँको साँडे डुक्राइलाई ४ वर्षपछि जनताले अन्त्य गरिदिए र त्यतिवेला सत्तामा रहँदा गरेका वितण्डाका लागि अहिले विभिन्न तहका अदालतमा आत्मसमर्पण गर्दै हिंड्नु परेको छ ।

अमेरिकामा प्रजातान्त्रिक मूल्य मान्यता र विधिको शासन भएकोले यो सम्भव भइरहेछ ।

नेपालमा भने साँडे डुक्राइको गति झन् झन् बढिरहेकोछ ।

भ्रष्टाचारका नायकहरुको साँडे डुक्राइले देशको अस्तित्व र छविमै आघात पुगिरहेकोछ ।

नीतिगत भ्रष्टाचार गर्नेहरु नै कानुन र न्यायिक प्रणाली माथि धावा बोल्न पछि पर्दैनन् ।

कतिपय भ्रष्टाचारका नायकहरु आफुलाई भ्रष्टाचारको मुद्धा लगाउलान् भनेर अख्तियारको प्रमुख तथा प्रधान न्यायाधीशहरु उपर महाभियोग प्रस्ताव दर्ता गर्छन् र त्यसलाई टुङ्गोमा नपुर्याइ बखेडा झिक्छन् । अनि भ्रष्टाचारको नियन्त्रण गर्ने भनेर ठूला भाषण दिन्छन् । जव आफ्नै गठबन्धनका मान्छे र पार्टीका सहयोगी र तिनका सन्तानहरु भ्रष्टाचार लगायतका अपराधमा संलग्न भएको प्रमाण भेटिन थाल्छ अनि अनुसन्धान गरिरहेका राष्ट्र सेवकहरुको सरुवा गरेर अपराधीलाई बचाउन लागिपर्छन् ।

भ्रष्टाचारबाट बच्न र बचाउन सत्तामा रहनै पर्ने मानसिकताले गाँजेकाहरु जस्तोसुकै गठबन्धन गर्न तयार हुने गरेको देखिन्छ ।अझ उनिहरु नै साँडे डुक्राइमा अग्रस्थानमा रहने गरेका छन् ।

नीतिगत भ्रष्टाचार गर्ने अनि मलाई गलत कुरा हो भन्ने थाहा भएन भन्दै पन्छिन्छन् । त्यति मात्र हो र ! अनुसन्धान गर्ने निकायमा गई बयान दिनुको सट्टा राष्ट्रसेवकलाई आफ्नु घरमा बोलाएर बयान गराउने जस्तो घृणित कार्य गर्ने गराउने समेत गर्न थालेका छन् ।

कतिपय भ्रष्टाचारका नायकहरु आफ्नो मान्छेले गरेको भ्रष्टाचार वा अपराध बाहिर आउनासाथ उ त निर्दोष छ भनेर संरक्षणको प्रयास गरिहाल्छन् । संसदीय समितिले गरेको छानविन अस्वीकार गर्दै अर्को आयोग गठन गरेको घोषणा गर्छन् तर आयोगलाई कामै गराउँदैनन् । अनि भन्ने गर्छन् म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।

भ्रष्टाचार सम्बन्धी कानुनलाई कमजोर बनाउन विधेयक पेश गर्छन् र पार्टीको ह्वीप लाएर पास गराउन सहयोग गर्छन् । अनि भन्छन् भ्रष्टाचार नियन्त्रण नै मेरो लक्ष्य हो ।

संसदमा बहुमतको आडमा विचौलिया र भूमाफियाको अगुवाइमा उनिहरुको इच्छा अनुसार भूमी सम्बन्धी ऐन र नेपाल ट्रष्ट ऐनमा संशोधन गरी सार्वजनिक र सरकारी जग्गाको दोहन गर्ने बाटो खुलाउँछन् र त्यसको आडमा भएका भ्रष्टाचारमा कारवाही गरेर देखाऊ भनेर साँडे डुक्राइ गर्छन् । अनि भन्छन् कसैले गोली हान्न सक्छ हत्कडी लाउन सक्तैन । धन्न गुठी सम्बन्धी विधेयकमा काठमाण्डौका सचेत जनताले समयमा नै रोक लगाए नत्र गुठी सम्बन्धी जग्गाहरुको पनि वेहाल हुने थियो ।

नीति वा कानुनमा कसैको स्वार्थले काम गर्न सक्छ । गल्ति हुन सक्छ । तर थाहा भएपछि नेताहरुले त्यसलाई सच्याइहाल्नु पर्छ । तर नेपालका नेताहरुले नीतिगत निर्णयको नाममा भ्रष्टाचारलाई बढाइरहेछन् । सार्वजनिक र सरकारी जग्गाहरु व्यक्तिको नाउँमा जाने बाटो खोलिदिएका छन् ।

जनस्वास्थ्य सेवा ऐनले विदेशमा उपचार गरेको खर्च नेपाल सरकारले नव्यहोर्ने व्यवस्था गरेको छ । तर त्यस प्रावधानको विपरित मन्त्रिपरिषदको निर्णयले ठूलाठालुहरुलाई उपचार खर्च दिइरहेका छन् । यो नीतिगत भ्रष्टाचार हो । यसलाई नरोके भविष्यमा ठूलो समस्या आउन सक्छ ।

अव यस किसिमको साँडे डुक्राइ त्यागेर जनताको पक्षमा काम नगरे नेताहरुको भविष्यको जीवन दुखदायी हुन सक्छ है ।

यो साँडे डुक्राइ अति भइसक्यो ।