रोबोटले आफ्नो स्वतन्त्रता र सीमा बुझ्दैन। स्वतन्त्रता र सीमा बुझ्नलाई विवेक चाहिन्छ। तर रोबोटको जन्म स्वतन्त्र चिन्तनबाटै भएको हो । स्वतन्त्रता व्यक्तिको जन्मेदेखि कै गुण हो ।समाज ,जीबन र राजनीतिमा यही गुण नै प्रजातन्त्र हो ।
व्यक्तिगत स्वतन्त्रताको अनतिक्रम्य विचारले व्यक्ति निरंकुश बन्छ। त्यसैले नियम भित्रको स्वतंत्रता प्रजातन्त्र हो । स्वतंत्रताका प्रवर्तक जे एस मिलको यो धारणा साम्यवाद ,पुजिबाद सबैमा अमर छ। विश्व राजनीतिमा यो भन्दा उत्तम तन्त्र आजसम्म छैन। प्रजातन्त्र भित्रकै सीमा र स्वतन्त्रताले समाज र अर्थशास्त्र भित्र नयाँ विचार र मान्यताको जन्मदिन्छ। यिनै लोकतन्त्र र स्वतन्त्रताका विचारले आज विश्व यो ठाउँमा आइपुगेको छ। तर सँगसँगै यसका खराबीहरु पनि देखिन थालेका छन्।
कानुनको शासन स्वतन्त्रताको रक्षक हो। कानून के होइन भन्ने विषयमा फ्रान्स, बेलायत र युरोपीय देशभर शत्रौ र अठारौं शताब्दीमा ठूलो बहस चल्यो। मन्टेस्क्यु ,डायसि ग्लाडस्टोनहरुको यस विषयमा एउटै मत छैन। मान्छेको जन्मको अधिकार बन्देज हुँदैन भन्ने मन्टेस्क्युको धारणा युरोपमा कानुनका विद्यार्थीको लागि चुनौतीको विषय बन्यो। सीमा विहिन नियमले मान्छे जंगली युगमा फर्किन्छ भन्ने उनको शक्ति पृथकीकरण सिद्धान्तले आजसम्म प्रजातन्त्रको सीमालाई रक्षा गरेको छ।
अहिले प्रजातन्त्रलाई सीमाबद्ध गर्ने अन्तर्राष्ट्रिय कानुनहरु देशभित्र अनुबन्धित हुँदैछन् । सिमापारी स्वार्थकोलागि देशभित्र जे बोलेपनि पपुलर हुइन्छ भन्ने वाक स्वतंत्रताले प्रजातन्त्रको सीमा भत्काउँदै छ। पद्धतिमा होइन प्रवृत्ति सुधारबाट देश बनिन्छ भन्ने धारणा अहिले व्यापक छ। यो सही होला। तर मानविय र भौतिक विकास गरेका देशहरु पद्धतिबाट अगाडि बढेका छन्। देशभित्रको आलोच्य राजनीतिले यस्तो गलत स्वतन्त्रतालाई थप प्रोत्साहन गर्दैछ ।
प्रजातन्त्र, प्रणाली संस्थागत भइसकेका देशमा यसले शिक्षा मात्र प्राप्त गर्ला। तर त्यहाँको वाक स्वतंत्रता संविधानको सीमाभन्दा बाहिर छैन िहाम्रोमा नेतृत्व र पदै पिच्छे देशको नीति ,राष्ट्रियता र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा फरक फरक चिन्तन र धारणा छन् ।यि धारणाहरु व्याक्तिगत विचार र अभिव्यक्ति हुनसक्छन् ।तर यो विषय प्रजातन्त्रको अति प्रयोग होइन भन्न सकिँदैन।
अहिले प्रविधिले प्रजातन्त्रलाई चुनौती दिदैछ। प्रजातन्त्रले बहुमतको विश्वास गर्छ। प्रत्येक व्यक्तिको हातमा अहिले सूचना प्रविधि छ। शासनमा पद्धति र अनुशासन कठोर भएन भने प्रविधिले जुनसुकै शासनको अन्त्य गर्न सक्छ भन्ने थोरै सूचना नेपालमा गएको निर्वाचनले दिएको छ। यो बहुमत भविष्यमा कति दिगो हुन्छ हेर्न बाँकी छ ।तर राजनीतिक दल र पद्धतिमा विश्वास गर्ने हरूलाई आगामी दिन सजिलो छैन ।किनकि अबको प्रजातन्त्रको अभ्यास बहुमतमा होइन व्यक्तिमा सरिसकेको छ।
२००७ सालपछिको सात दशक पछि पनि हाम्रो राजनीति र प्रशासन संस्थागत हुन सकेकै छैन ।अझै राजनीति भित्रको प्रणाली र प्रशासन भित्रको संरचना विनिर्माण अवस्थामा छन् । भारतजस्तो संस्थागत निश्चितता अझै नेपालमा छैन। यसलाई साधारण भाषामा संक्रमणकाल भनिन्छ । जनताको सोधपुछ ,सुविधा ,पहुच अन्तर्राष्ट्रिय अनुभव अब देशभित्र सीमित छैन। अब मानिसहरु जस्तोसुकै तरिकाबाट पनि विकास, रोजगार उन्नति चाहन्छन्।
यो चिन्ता र चिन्तनलाई राजनीतिक दलले पछ्याउन नसकेमा प्रजातन्त्रको वर्णशंकर पद्धति उन्नयन नहोला भन्न सकिँदैन। यसैको संकेत विशेषगरी हाम्राजस्ता अल्पविकसित देशहरुमा देखिन थालिसकेको छ।