५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शेषराजगज’को स्याहारमै ब्यस्त बिमला



अ+ अ-

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै ब्यस्त हुनुहुन्छ ।

कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका–१४ बनकट्टटीमा हुर्किनुभएकी ३० वर्षीया बिमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुनुहुन्छ ।

जागिरमा प्रवेश गरेदेखि नै यहाँको पिपरिया हात्तीसारमा कार्यरत बिमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजको स्याहारसुहारको जिम्मेवारी प्राप्त गर्नुभएको हो । “बिहान हात्तीलाई नुहाउनदेखि जङ्गलमा चराउने, खुवाउने र स्याहारलगायत काम गर्दै आएकी छु”, बिमलाले रासससित भन्नुभयो, “जागिरको सुरुआतमा जनावरसितको घुलमिल नहुँदा काम गर्न असहज भएको थियो, पछि बानी पर्दै जाँदा सहज बन्दै गयो ।”

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाका लागि हात्तीद्वारासमेत गस्ती गरिन्छ । यहाँ रहेका छ हात्तीबाट गस्तीलगायत निकुञ्जको कामकाज गरिँदै आएको छ । शेषराजगज छावा भने गत पुसमा मात्र पिपरिया हात्तिसारमा राखिएको बिमला बताउनुहुन्छ ।

हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन् । यहाँ हात्तीका लागि २१ कर्मचारी खटिएका छन् । ‘बिमला’ एक मात्र महिला कर्मचारीका रुपमा कार्यरत हुनुहुन्छ । “शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जंगल पसेकी छु”, उहाँले भन्नुभयो, “अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन ।”

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गोपाल चौधरीसित घरजम गरेकी बिमलाका एक वर्षीय छोरा पनि साथमै हुनुहुन्छ । “छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ”, उहाँले भन्नुभयो, “दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु ।” घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने बिमलाको ब्यस्तता हात्तिसारमा पनि उत्तिक्कै बढी छ ।

“जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मुडमा हुन्छन् भर नै हुँदैन”, बिमलाले भन्नुभयो, “ अहिलेसम्म विना डरत्रास काम गरेकी छु ।” उहाँले आफ्नो पाँचवर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकली उमेर पुगे निधन भएको देखेको बताउनुभयो । “आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दु:ख लाग्छ”, बिमला भन्नुहुन्छ–“ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ ।”

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटा ३६ पाटे बाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा दश हात्तीको दरबन्दी रहेको जानकारी दिनुभयो । “अहिले एउटा छावा (बच्चा) सहित सात हात्ती मात्रै यहाँ छन्”, उहाँले भन्नुभयो ।

विसं २०२६ मा सिकार आरक्षका रुपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । अभाव देखाउँदै निकुञ्ज प्रशासनले माथिल्लो निकायमा आवश्यकताअनुसार हात्तीको माग गरे पनि यसको सुनवाई हालसम्म हुनसकेको छैन । चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ । हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन् । रासस