• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

चिट्ठी बाँड्नेको कथाः ‘हल्कारा’



काठमाडौँ । अहिले प्रविधिमय जीवन छ । कसैलाई केही भन्नु छ वा सन्देश पुर्याउनु छ भने सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँगाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा चलचित्र बनेको छ ।

कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिए । चलचित्रले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रले वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गर्ने बताए ।

“हामीले हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरेका छौँ । योसँगै गाउँको परिस्थिति, सामाजिक सचेतना पनि समेटेका छौँ । वैदेशिक रोजगारीमा रहेकाले यसलाई नजिकबाट महसुस गर्नु हुनेछ”, निर्देशक सापकोटाले भने । उनले नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । उनी आफ्नो चलचित्रलाई पूर्णरूपमा व्यावसायिक भन्न रूचाउँछन् । यद्यपि ‘हल्कारा’ लाई कालोपोथी, सेतो सूर्य, ऐना झ्यालको पुतलीको श्रेणीमा बुझिएको छ । निर्देशक सापकोटा श्रेणीगत भिन्नतामा सहमत छैनन् ।

“नेपालमा व्यावसायिक चलचित्रको परिभाषा फेरिएको छ । मनोरञ्जन जसरी पनि लिन सकिन्छ । एउटा गीत, एउटा द्वन्द्व र हास्य दृश्यलाई मात्र मूलधारको चलचित्र भनेर व्याख्या गरिनु सही होइन”, निर्देशक सापकोटाले भने, “मेरो चलचित्रमा ठूला दृश्य, चलचित्र भवनमा अनुभव गरिने ध्वनि छन् । यसले दिने मनोरञ्जनको शैली भने फरक हुन सक्छ ।”

चलचित्रमा शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठीले निर्वाह गरेका छन् । हुलाकीलाई बाल्यकालमा देखेका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पार्नुभएको पात्रले सहज बनायो । “निर्देशकले दिनुभएको पटकथाले मेरो बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ”, अभिनेता त्रिपाठीले भने, “यो पात्रले आफ्नो अव्यक्त चाहना, सामाजिक दायित्व र आर्थिक पाटोलाई सबल बनाउन सङ्घर्ष गरिरहेको छ । हल्काराको आँखाबाट त्यो समय, परिस्थितिलाई सहजै देख्न र महसुस गर्न सकिन्छ ।”

अभिनेता त्रिपाठीले यही चलचित्रमार्फत अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । उनीसँगै छायाँकारले अवार्ड जितेपछि चलचित्रको चर्चा सुरु भएको अभिनेता त्रिपाठीले बताए । उनले भने, “हामीले मौलिक विषयलाई उठान गरेर चलचित्रमा ल्याएका छौँ । तर हामीलाई विदेशीले राम्रो छ भनेर प्रमाणित गरेपछि मात्र एक वर्गले विश्वास गर्नु हुन्छ । नेपाली मौलिक विषयलाई पर्दासम्म ल्याउन प्रोत्साहित गर्ने दायित्व दर्शकको पनि हुन्छ ।”

चलचित्रमा हल्काराको श्रीमतीको भूमिका विनिता थापामगरले निर्वाह गरेकी छन् । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुगेकी अभिनेत्री थापामगरले अडिसन दिएर पात्रलाई प्राप्त गरेकी थिइन् । “यो पात्रलाई मैले आफ्नो कलाकारिताको अनुभवलाई मिसाएर पूर्ण गरेकी छु । उसको पनि आफ्नै चाहना छ । केही सामाजिक प्रभाव पनि हुन सक्छ”, अभिनेत्री थापामगरले भनिन्, “यसमा अभिनेत्रीको परिभाषालाई पछ्याइएको छैन । उसको सुन्दरता अनुहारमा नभई पात्रको विभिन्न आयाममा झल्किन्छ । पात्र बाँचेकी छु ।”

चलचित्रलाई सार्वजनिक प्रदर्शनमा ल्याउनुअगाडि विभिन्न अन्तर्राष्ट्रिय चलचित्रसम्बन्धी महोत्सवमा सहभागी गराइयो । केहीमा पुरस्कार र केहीमा छनोट भएको निर्देशक सापकोटाले जानकारी दिए । “हाम्रो नेपालमा बनिरहेको चलचित्र सूत्रमै केन्द्रित छ । पटकथामा देखिएका दृश्यलाई छायाङ्कन गर्दा दृश्य व्याकरण नमिल्दो देखिन्छ । यी यस्तै केही कारणले विदेशमा आयोजना हुने महोत्सवमा हाम्रो चलचित्र सहजै सहभागी गराउँदैनन् । यद्यपि केही व्यक्तिको नामकै कारण चासो दिने पनि गरेका छन्”, निर्देशक सापकोटाले भने ।

चलचित्रमा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारले अभिनय गरेका छन् । यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । वैशाख २९ गते प्रदर्शन तय गरिएको चलचित्रलाई जीजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गर्दैछन् ।