• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

सदनमाथि सरकारको हालिमुहाली बन्द गरौँ: सांसद श्रेष्ठ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गर्नुभएको हो ।

उहाँले मंगलवार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले जनप्रतिनिधिको समयको केही मूल्य नहुने हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले संसद र मन्त्रिपरिषद् दुई निकायबीच समन्वय गर्न नसक्नेले धेरै मन्त्रालयका बीचमा समन्वय गर्ने खालको काम कसरी गरिएला ? भनेर प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हिजोको अधिवेशन आकस्मिक रुपमा स्थगित भयो । क्याबिनेट मिटिङ ४ बजे छ भन्ने सुन्नमा आयो । समय नजुध्नेगरी समय मिलाउन सक्दैनथ्यो यो दुईवटा बैठकहरुको । आम नागरिकले सरकारी कार्यालयमा सबै कागजात प्रक्रिया पुर्‍याएर घण्टौँ लाइन बसेपनि अचानक आज काम हुँदैन भोलि आउनुस् भन्छन् । त्यसरी जनतालाई व्यवहार गरिने देश हो यो हाम्रो । यहाँ जनताको समयको मूल्य छैन । हामी जनप्रतिनिधि, जनताबाट छानिएर आएको प्रतिनिधिको समयको पनि केही मूल्य नहुने हो ? एकपटक सदन बस्दा १० लाख रुपैयाँ हाराहारीमा खर्च हुने भनेर पत्रपत्रिकामा आएको थियो ।

सरकारले कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्थामा के यो दशलाख रुपैयाँ हामीले बचाउन सक्दैनथ्यौँ ? के करदाताको पैसा त्यति सस्तो छ ? आफ्नो खल्तीबाट पैसा नजाने भएपछि मलाई बाल भन्न पाइन्छ र ? मलाई निकै अचम्म लागेको छ । यसरी अन्तिम घडीमा सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने रहेछ । यो त चलनचल्ती र रिती नै बसिसकेको रहेछ । कसरी पचेको हामीलाई ? गल्तीलाई गल्ती भनौँ । सुधारौँ । सदन र मन्त्रीपरिषद् जम्मा दुईवटा निकायबीच समन्वय गर्न नसक्ने हामी ठूलो परियोजनामा धेरै मन्त्रालय र निकायबीच समन्वय झन् कसरी होला ? सडक विभागले आज पिच गर्छ । भोलि खानेपानीले गएर पिच बिगार्छ । बाटो चाहीँ घाम लागे धुलो, पानी परे हिलो । अनि बिरामी हुने हामीहरु । सदनमाथि सरकारको यस्तो हालिमुहाली बन्द गरौँ ।’

सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको बताउनु भयो ।