१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू



अ+ अ-

तम्घास । गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । जिल्लाको धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका हुन् । धुर्कोट गाउँपालिकाले शैक्षिकसत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागू गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिनुभयो ।

यो वर्षदेखि कक्षा ८ सम्म नै स्थानीय पाठ्यक्रम लागू गर्ने गाउँपालिकाको तयारी छ । “पाठ्यक्रम तयार गरी यसै वर्षबाट लागू हुन्छ”, उहाँले भन्नुभयो, “पाठ्यपुस्तक अर्को वर्ष आइपुग्छ ।” पाठ्यक्रममा धुर्कोटका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल, भूगोल, आर्थिक पक्षलगायत विषय समेटिएको गाउँपालिकाले जनाएको छ । गुल्मी दरबार गाउँपालिकामा अघिल्लो शैक्षिकसत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम लागू गरिएको थियो । पाठ्यक्रम कक्षा ३ सम्मका लागि तयार भए पनि पाठ्यपुस्तक लेखनको काम बाँकी रहेकाले लागू नगरिएको शिक्षा शाखा प्रमुख नरेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

“कक्षा दुई र तीनको पाठ्यपुस्तक लेखन कार्य चल्दैछ, यही वर्षदेखि कक्षा २ मा लागू हुन्छ”, उहाँले भन्नुभयो, “संस्कृति, आर्थिक स्थिति, स्थानीय सीपलगायत विषयलाई प्राथमिकतामा राखेका छौँ ।” गुल्मी दरबारमा दुई वटा निजी र २९ वटा सामुदायिक विद्यालय छन् । पुस्तकका लागि छपाइ खर्च रु डेढ लाख र लेखन खर्च रु तीन लाख लागेको शाखा प्रमुख शर्माले बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १ र २ मा स्थानीय पाठ्यक्रम लागू गरेको थियो । यो वर्ष कक्षा ३, ४, ६ र ७ मा लागू गर्ने शिक्षा शाखा प्रमुख अग्निधर लोहनीले बताउनुभयो । पाठ्यक्रममा कालीगण्डकीको परिचय, विपद्सम्बन्धी योजना, विपद् न्यूनीकरणमा गाउँपालिकाको योजना, दैवी प्रकोपलगायत विषय समेटिएको छ । पुस्तकका लागि गत वर्ष छपाइ खर्च रु दुई लाख ५२ हजार र बैठक, खाजा खर्च एवं लेखाइ खर्चमा रु एक लाख खर्च भएको उहाँले जानकारी दिनुभयोे ।

अर्को वर्ष कक्षा ५ र ८ मा पनि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी छ । कालीगण्डकीमा रहेका दुई वटा निजी विद्यालयमा पनि पाठ्यक्रम लागू गरिएको छ । सबै विद्यार्र्थीले पाठ्यपुस्तक निःशुल्करुपमा प्राप्त गरेका छन् । रेसुङ्गा नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म लागू गरेको छ । कूल २५० थान पुस्तक छापेर विद्यालयलाई प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिनुभयो । पाठ्यक्रम १०० पूर्णाङ्कको रहेको छ । यसका लागि कूल रु तीन लाख ५० हजार खर्च भएको उहाँको भनाइ थियोे ।