प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ, जसअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।
प्रधानमन्त्री अस्पताल भर्ना भएको खबर फैलिएपछि सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्ताहरुमा उनको स्वास्थ्यबारे चासो बढ्यो । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा भर्ना
भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालले प्रारम्भिक अपडेट गरेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही दिनयता सुख्खा खोकीको समस्या झेलिरहेका थिए । चिसो बढेसँगै छातिमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको र पूर्वसावधानी स्वरुप अस्पतालमा लगिएको बालुवाटार स्रोतले जनाएको छ । उपचारमा संलग्न डा. सायमीले पनि ओलीको स्वास्थ्य अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले अझै दुई-तीन दिन चिकित्सकको निगरानीमा राख्न सुझाव दिइएको बताए ।