१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु

बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु
अ अ+ अ-

म्याग्दी। पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ ।

बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो । आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको जानकारी दिनुभयो ।

“कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको ४६ ठाउँमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म र जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म मर्मत भई यातायातका साधन सञ्चालन हुन थालेका छन् ।”

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डको सडक मर्मतका लागि स्थानीयस्तरमा उपलब्ध सडक विभाग, जलविद्युत आयोजना र निर्माण व्यवसायीको उपकरण र मजदुर परिचालन गरिएको छ ।

असोज ११ गते कालीगण्डकी बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मत कार्य पनि आजदेखि सुरु गरिने आयोजना प्रमुख शर्माले बताउनुभयो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा रसुवा र तातोपानी नाकाको विकल्पका रुपमा चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्क टुटेको छ ।

कोरला नाकामा सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन् । मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकासँग यातायात सम्पर्कबिच्छेद भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलु बजार पठाउन सकिएको छैन । दसैँका लागि भेडाच्याङ्ग्रा बजारमा बिक्रीका लागि लैजान समस्या भएको छ ।
पर्यटकीय गतिविधि ठप्प बनेको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन, जटिल प्रकृतिका बिरामीलाई अस्पताल पुग्न हेलिकप्टरको साहरा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

कटिङ, फिलिङ, डाइभर्सन, नयाँ मार्ग खोल्ने विकल्प अपनाएर सडक खुलाउने प्रयास गरिएको छ । तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा सडक खुलाउन चुनौती देखिएको छ । यसअघि सडक भएको ठाउँमा कालीगण्डकीले कटान गरेर आयोजनाको स्वीचयार्ड नजिकैबाट नदी बगेको छ ।

सडक खुलाउनका लागि स्वीचयार्डका प्रयोगमा नरहेका वैकल्पिक रुपमा रहेका दुई वटा टावर हटाउनुपर्ने भएको छ । टावर हटाउनका लागि राहुघाटको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरको सञ्चालक नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । सडक मर्मतका लागि इन्धन आपूर्तिलाई पनि सहज बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।  रासस