काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ‘इक्यान लिडर्स मिट ३.०’ आयोजना गर्ने भएको छ। झापाको बिर्तामोडमा असोज २ देखि ४ गतेसम्म आयोजना हुने कार्यक्रमको आतिथ्य इक्यान झापा शाखाले गर्ने भएको हो।
इक्यान झापा शाखाका अध्यक्ष राजकुमार कार्कीका अनुसार देशभरका इक्यानको नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो। यसअघि पहिलो संस्करण इक्यान चितवन शाखाको आतिथ्यमा र दोस्रो संस्करण इक्यान मकवानपुर शाखाको आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा इक्यान केन्द्र, विभिन्न शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित देशभरबाट करिब १५० जना नेतृत्व तहका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, सञ्चार सीप, वित्तीय व्यवस्थापन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र अन्तरक्रिया गरिनेछ।
इक्यानका अनुसार नेपालमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र विस्तार भइरहेका बेला विद्यार्थीको विदेश अध्ययन, गन्तव्य छनोट, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्बन्ध, विद्यार्थी मोबिलिटी, डिजिटल प्रविधि तथा गन्तव्य मुलुकका बदलिँदा शिक्षा र अध्यागमन नीतिका कारण यस क्षेत्रको भूमिका थप चुनौतीपूर्ण र जिम्मेवार बन्दै गएको छ।
इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्कीले हाल इक्यानमा ७५० भन्दा बढी सदस्य संस्था आबद्ध रहेको जानकारी दिए। काठमाडौंमा केन्द्रित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका गतिविधि, अनुभव र अवसरलाई प्रदेश तथा जिल्लास्तरका शैक्षिक बजारसँग जोड्दै विकेन्द्रीकृत संस्थागत नेतृत्व निर्माणलाई इक्यानले प्राथमिकता दिएको उनले बताए।
लिडर्स मिट ३.० मा ‘ग्लोबल एजुकेशन मोबिलिटी’मा नेपालको भूमिका र स्थानबारे समेत व्यापक छलफल हुने जनाइएको छ। कार्यक्रमका छलफल तथा अन्तरक्रियाबाट प्राप्त निष्कर्षलाई समेटेर ‘झापा घोषणापत्र’ जारी गरिने इक्यान झापाका निवर्तमान अध्यक्ष रोशन सुवेदीले जानकारी दिए।
घोषणापत्रमार्फत ग्लोबल एजुकेशन मोबिलिटीमा नेपालको वर्तमान अवस्था, सम्भावना, चुनौती, राष्ट्रिय हित तथा आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण प्रस्तुत गरिनेछ। विद्यार्थी हित, नैतिक अभ्यास, संस्थागत जवाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी तथा नीतिगत संलग्नतालगायत विषयलाई घोषणापत्रमा प्राथमिकता दिइने बताइएको छ।
लिडर्स मिटले इक्यान केन्द्र र शाखाबीचको संस्थागत सम्बन्ध, समन्वय तथा सञ्चारलाई थप मजबुत बनाउँदै साझा रणनीतिक दिशा तय गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ। सहभागी नेतृत्वले आ–आफ्ना क्षेत्र र संस्थामा देखिएका चुनौती, अनुभव तथा सफल अभ्यास आदानप्रदान गर्ने इक्यान झापा शाखाका उपाध्यक्ष अशोक भण्डारीले बताए।
इक्यान झापा शाखाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्की प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन इक्यान झापा शाखाका उपाध्यक्ष अशोक भण्डारीले गरेका थिए।









