काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको थियो ।
यसअघि बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानूनी रिक्तता हटाउन विधेयक ल्याइएको बताउनुभयो ।
मन्त्री गौतमले अनुसन्धान गर्ने निकाय कुनै एक स्थानमा मात्र सीमित विषय नभएको उल्लेख गर्दै सबै प्रकारका सूचना प्रधानमन्त्रीसमक्ष पुग्ने व्यवस्था हुनु उपयुक्त हुने सरकारको धारणा रहेको स्पष्ट पार्नुभयो ।
विधेयक पारित भएसँगै विशेष सेवा तथा अनुसन्धानसम्बन्धी कानूनी व्यवस्थामा देखिएको रिक्तता हटाउने सरकारको प्रयास अघि बढेको छ ।







