पोर्चुगल । नेपालमा बाढी–पहिरोका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा पोर्चुगलको कोइम्ब्रामा श्रद्धाञ्जली तथा शोकसभा सम्पन्न भएको छ।
नेपाल सांस्कृतिक समुदाय कोइम्ब्राको आयोजनामा ५ सेप्टेम्बर २०२६ मा भएको कार्यक्रममा बाढी–पहिरोमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
मातृभूमिबाट टाढा रहे पनि प्राकृतिक विपत्तिमा परेका नेपालीप्रति ऐक्यबद्धता जनाउने तथा दुःखको यस घडीमा विदेशमा रहेका नेपाली समुदाय एकजुट रहेको सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायका साथै पोर्चुगिज तथा अन्य विदेशी नागरिकहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा देशप्रेमका गीत प्रस्तुत गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। सहभागीहरूले मैनबत्ती प्रज्वलन गरी बाढी–पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए।
कार्यक्रममा सहभागीहरूले बाढी–पहिरोबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपत्तिको यस कठिन समयमा पीडित परिवारलाई सहयोग र साथ दिन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
नेपाल सांस्कृतिक समुदाय कोइम्ब्राका सक्रिय सदस्य सन्तोष पाण्डेले मातृभूमिबाट टाढा रहे पनि नेपालमा भएको विपत्तिले विदेशमा रहेका नेपालीलाई समेत भावनात्मक रूपमा प्रभावित बनाएको बताए। बाढी–पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवार र मातृभूमिप्रति ऐक्यबद्धता प्रकट गर्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।
नेपाली समुदायसँगै पोर्चुगिज तथा अन्य विदेशी नागरिकको सहभागिताले मानवता, आपसी सद्भाव र एकताको भावना थप बलियो बनाएको पाण्डेले बताए। उनले कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली तथा विदेशी नागरिकप्रति आभार व्यक्त गरे।
नेपाल सांस्कृतिक समुदाय कोइम्ब्राले बाढी–पहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।







