२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत



अ+ अ-

बाजुरा। बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन परिवार विस्थापित भएका छन् । गएरातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् ।

अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो । “गएराति करिब ८ः०० बजे अविरल वर्षापछि वीरेखोलामा एक्कासी ठूलो बाढी आयो । त्यसपछि घरबाहिर निस्क्यौँ, अहिलेसम्म न खाना छ, न त बास”, उहाँले भन्नुभयो ।

बाढीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् । थप १८ परिवारसमेत जोखिममा रहेको साउदले बताउनुभयो ।

भीषण बाढीबाट वीरेखोलाका ४१ परिवार प्रभावित भएको बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले एक माछा पोखरी, दुई वटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्‍याएको छ । धानबाली बगाएपछि खेत बगरमा परिणत भएको छ । बाढीबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बडुवालले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले बाढी प्रभावित परिवारलाई तत्काल त्रिपाल उपलब्ध गराएको छ । रेडक्रस बाजुरा शाखाका उपमन्त्री बिपीन विष्टका अनुसार विस्थापित २३ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।

पाँच वर्षअघिको त्यो दिन, फेरि उही जोखिम

अहिले मात्रै होइन, वीरेखोलाका बासिन्दा पाँच वर्षदेखि नै बाढीपहिरोको त्रासमा छन् । विसं २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा गएको बाढीले यहाँको धेरै खेतीयोग्य जमिन बगाएको थियो । किसानले पुस्तौँदेखि खेती गर्दै आएको जमिन एकैछिनमा बालुवा र ढुङ्गाले पुरिएको थियो । कसैका लागि त्यो खेत थियो, कसैका लागि परिवार पाल्ने आधार । त्यही जमिन बाढीपछि बगर बन्यो ।

बाढी रोकिएपछि नदी आफ्नो पुरानै बाटोमा फर्कियो । तर बाढीले दिएको घाउ भने स्थानीयको मन र जमिनमा उस्तै रह्यो । अहिलेको बाढीले भने त्यही पुरानो डरलाई फेरि वास्तविकतामा बदलिदिएको छ । विस्थापित भएपछि वीरेखोलामा बाढीको जोखिम कति गम्भीर छ भन्ने फेरि देखिएको छ । यहाँका स्थानीयका लागि यो केवल एउटा विपति मात्रै होइन, बारम्बार दोहोरिइरहेको सङ्कट हो ।

“एकातिर खेतीयोग्य जमिन गुमेको पीडा छ, अर्कोतिर घरबास नै सुरक्षित नरहने अवस्था छ”, स्थानीय कली साउदले भन्नुभयो, “नदी कटान र बाढीको जोखिम बढ्दै गएपछि अब कहाँ बस्ने, के खाने भन्ने ठूलो सङ्कट भएको छ ।”

सुन्दरताभित्र लुकेको त्रास

सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो । यसको आँगनमै बुढीगंगा नदी बगिरहेको छ । सामान्य अवस्थामा नदीको बहाव हेर्दा यहाँका बासिन्दाका लागि यो प्रकृतिको सुन्दर दृश्यजस्तो लाग्छ ।

वर्षायाम सुरु हुनासाथ जिल्लाका विभिन्न ठाउँ तथा छिमेकी जिल्ला अछामबाट समेत झरनाको अवलोकन गर्न तथा फोटो–भिडियो खिच्न आउनेको भीड लाग्ने गर्छ । तर वर्षायाम सुरु भएसँगै यही बिरेखोलाको सुन्दरता स्थानीयका लागि त्रासको कारण बन्ने गरेको छ ।

पानी बढ्दै जाँदा नदीको गर्जनसँगै यहाँका बस्तीमा डर पस्छ–कतिबेला घरखेत बगाउने हो भन्ने चिन्ताले । “घरआँगनमै बुढीगङ्गा नदी बग्छ, गाउँकै बीचमा वीरेखोला बगिरहेको छ”, स्थानीय मतिकला खड्काले भन्नुभयो, “आँगनबाट नदीको कटान र पछाडिबाट खोलाले कतिखेर बगाउँछ भन्ने चिन्ता हुन्छ । हिजोको मात्रै होइन, यसअघि पटकपटकको बाढीले खेतीयोग्य जमिन बगर भइसक्यो । अब कुन दिन घरसँगै हामीलाई बगाउने हो भन्ने डर छ ।”

जमिन बगर बन्यो, अब घर बग्ने चिन्ता

कृषिमा निर्भर परिवारका लागि खेत केवल जमिनको टुक्रा होइन, जीविकोपार्जन गर्ने मुख्य आधार हो । २०७७ सालको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि धेरै परिवारले उत्पादनको आधार गुमाएका थिए । अहिले फेरि बिरेखोला झरनाको बाढीले घरबासमा समेत जोखिम निम्त्याएपछि समस्या झन् गम्भीर बनेको स्थानीय कमला साउँदले बताउनुभयो । “खेत रहेन, अब घर पनि सुरक्षित छैन,” उहाँले भन्नुभयो, “कहाँ गएर बस्ने ? अन्त कतै ठाउँ छैन ।”

वर्षौँदेखि नदी कटान र बाढीको जोखिममा रहेका वीरेखोलाका स्थानीयका लागि अहिलेको बाढीले फेरि एउटै प्रश्न खडा गरेको छ । पहिले खेत गुम्यो, अब घर पनि गुम्ने हो कि ? तत्कालका लागि २३ परिवार सुरक्षित स्थानमा सारिए पनि वीरेखोलाको दीर्घकालीन जोखिम भने यथावत् रहेको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवाल बताउनुहुन्छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीपछि भएको क्षतिको बारेमा यकीन विवरण सङ्कलन र घटनाबारे बझ्ने कार्य भइरहेको जानकारी दिनुभयो । रासस