१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?



अ+ अ-

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका ३५ वटा भन्दा बढी पुल बगाएको छ। रसुवा, नुवाकोट र धादिङका पक्की, बेलव्रिज तथा झोलुङ्गे पुल बगाएको हो।

बाढीले केही पुल पूरै बगाएको छ भने केहिमा आंशिक क्षति पुर्‍याएको छ। तर त्रिशूली नदीमा भीषण बाढी आउँदा पनि धादिङको गल्छीमा रहेको एउटा पुल भने जोगिएको छ। अधिकांश पुलमा क्षति हुँदा धादिङस्थित महेशदोभानमा त्रिशूली नदीमाथी निर्माणधिन पुल जोगिएको हो। धादिङवेशी जोड्ने फुर्केखोला पुल समेत बाढीले लैजाँदा गल्छीको पुल कसरी जोगियो त ? सडक विभागका महानिर्देशक डा विजय जैसीकाअनुसार नदीको भौगोलिक बनोट, पुलको स्पान र पुलको जग चट्टानभित्र गहिरोसम्म पुर्‍याएर निर्माण गरेको कारण जोगिएको देखिन्छ।

बाढीको तिब्र बहाव महानिर्देशक डा. जैसीलाई पनि उक्त पुल जोगिन्छ भन्ने लागेको थिएन। तर बाढीको बहाव यस क्षेत्रमा आइपुग्दा केही कमजोर भएको र पुल रहेको स्थानमा नदीको बहाव फैलिन सक्ने पर्याप्त ठाउँ भएकाले बाढीको प्रत्यक्ष दबाब कम हुन पुग्यो। सोही कारण पुलका संरचनात्मक भागमा ठूलो क्षति हुन नपाएको उनले बताए। चट्टानी भू–बनावट र नदीको फराकिलो क्षेत्रले पनि पुललाई बाढीको अत्याधिक वेगबाट जोगाउन सहयोग गरेको उनको भनाइ छ।

तर यही प्रकृतिको संरचना रहेको त्रिशूलीकै तुप्चे क्षेत्रमा रहेको अर्को पुल भने बाढीले बगाएको उनले बताए। महानिर्देशक जैसीकाअनुसार यसपटकको बाढी सामान्य अनुमानभन्दा निकै ठूलो थियो। टिमुरे र रसुवागढी क्षेत्रमा बाढीको छाल करिव १०० मिटरसम्म माथि पुगेको आकलन गरिएको उनले बताए। यस्तो असाधारण बाढीमा सामान्य डिजाइन मापदण्डअनुसार निर्माण भएका संरचना जोगिन कठिन हुने उनको भनाइ छ।

अब पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन

रसुवा बाढीले पुलमा ठूलो क्षति पुर्‍याएपछि सडक विभाग पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने पक्षमा पुगेको छ। बाढीका कारण क्षति पुगेका सडक तथा पुलको स्थलगत निरीक्षणपछि विभागका महानिर्देशक डा जैसीले पुलको डिजाइन परम्परागत ढंगले अब गर्न नहुने बताउनुहुन्छ। यसपटकको बाढीले नेपालमा पुल निर्माणसम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उनले बताए।

जलवायु परिवर्तनका कारण भविष्यमा विपद् थप बढ्न सक्ने भएकोले अब पुल निर्माणसम्बन्धी मापदण्ड पुनरावलोकन अनिवार्य भएको उनको भनाइ छ। उनकाअनुसार अब नेपालले आफ्नै भौगोलिक तथा जलवायुसँग मिल्ने मापदण्ड विकास गर्नुपर्नेछ। पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका र अग्ला पुल निर्माण गर्नेगरी मापदण्ड बनाउनुपर्ने उनले बताए।

रणनीतिक र ‘लाइफलाइन’ पुललाई विशेष प्राथमिकताका साथ बलियो बनाउने विषयमा विभागले छलफल अघि बढाएको पनि उनले जानकारी दिए।

हाल नेपालमा हाइड्रोलोजिकल मापदण्डअनुसार सामान्यतः १०० वर्षको ‘रिटर्न पिरियड’ लाई आधार मानेर पुलको डिजाइन तथा पानीको बहाव र ‘फ्री बोर्ड’ निर्धारण गर्ने गरिएको छ। तर जलवायु परिवर्तनका कारण नदीमा आउने बाढीको प्रकृति र तीव्रता परिवर्तन भइरहेकाले पुराना मापदण्ड मात्र पर्याप्त नहुने महानिर्देशक डा. जैसीले बताए।–न्युज एजेन्सी नेपाल