१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !



अ+ अ-

सुदूरपश्चिम। कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरीधाम धर्मकर्मका लागि मात्रै होइन, मृत्यु संस्कारका लागि पनि पवित्र मानिन्छ ।

त्यसैले त यहाँ टाढा–टाढाबाट मानिस आउने गर्छन् । कैलालीका गोदावरी, धनगढी, गौरीगङ्गा, चुरे र कञ्चनपुरको कृष्णपुरलगायतका क्षेत्रबाट यहाँ शव ल्याउने गरिन्छ । दैनिक करिब सात–आठ वटा शव यहाँ ल्याइने गरिन्थ्यो, तर व्यवस्थित आर्यघाट नहुँदा नागरिकले वर्षौंसम्म दुःख भोग्नुप¥यो ।

हिन्दू संस्कारअनुसार दाहसंस्कारका लागि पवित्र जल आवश्यक पर्छ, तर हिउँदमा गोदावरीमा पानीको अभाव हुन्थ्यो । वर्षायाममा खोला उर्लिएर आउँदा दाहसंस्कार गर्न जोखिम मोल्नुपथ्र्यो । शोकमा डुबेको परिवारलाई आफन्त गुमाउनुको पीडामाथि मृतकको अन्तिम संस्कार कसरी गर्ने भन्ने पिरलो हुन्थ्यो ।

गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टका लागि यो समस्या नयाँ थिएन । नगरप्रमुख हुनुभन्दाअघिदेखि नै उहाँलाई यहाँ व्यवस्थित शवदाहस्थलको अभाव खड्किरहन्थ्यो । “कुनै समय एकैदिन चार÷पाँच जनासम्मको मृत्यु संस्कारमा सहभागी हुनुपथ्र्यो । हरेकपटक गोदावरी पुग्दा मृतकका परिवारले भोगिरहेको कठिनाइ नजिकबाट नियाल्थे”, उहाँ विगत स्मरण गर्नुहुन्छ, “व्यवस्थित आर्यघाट नहुँदा दाहसंस्कारका लागि अनेक दुःख हुन्थ्यो । वर्षायाममा पानी भएर, हिउँदयाममा पानी नभएर दुःख । कैयौँ पटक शव जलाउँदै गरेका बेला बाढी आएर भागाभाग भएको देखेको छु । यसले मर्नेलाई पनि समस्या, परिवारलाई पनि बेचैनी ।”

मृत्यु संस्कारका लागि पुग्ने परिवारलाई यो केबल असुविधा मात्र थिएन । आफ्नै मान्छेको अन्तिम बिदाइ गरिरहेको क्षणमा थप जोखिम र अव्यवस्थासँग जुध्नुपर्ने बाध्यता थियो । यहाँ वर्षौंसम्म यस्तै समस्या रह्यो ।

यही दुःख देख्दा नगरप्रमुख भट्टलाई एउटा प्रश्नले पछ्याइरहन्थ्यो मृत्युपछिको संस्कारलाई सहज, सुरक्षित र मर्यादित कसरी बनाउन सकिएला ? तर त्यतिबेला समस्या समाधानका लागि उहाँसँग कुनै पदीय जिम्मेवारी थिएन । यहीबीचमा विसं २०७९ को स्थानीय तह निर्वाचनबाट भट्ट गोदावरी नगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । त्यसपछि वर्षौंदेखि मनमा रहेको सोचलाई योजनामा बदल्ने प्रयास सुरु भयो ।

उहाँ निर्वाचित भएको सुरुआतदेखि नै आवश्यकताअनुसार ट्याङ्करबाट पानी पु¥याउने व्यवस्था गरियो, त्यसले तत्कालको समस्या त टथ्र्यो, तर त्यो दीर्घकालीन समाधान थिएन । “म निर्वाचित भएदेखि नै अस्थायी उपाय त निकालेका थियौँ, तर त्यो समाधान थिएन । यहाँ स्थायी संरचना नबनाई नहुने थियो, तर आन्तरिक स्रोत थिएन । त्यसैले कहिले प्रदेश सरकार त कहिले केन्द्र सरकारसँग स्रोत जुटाउन पहल ग¥यौँ”, भट्टले भन्नुभयो ।

निरन्तरको पहलपछि सङ्घीय सरकारअन्तर्गत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार विकास आयोजना र सुदूरपश्चिम प्रदेश सरकारबाट आर्थिक सहयोग जुट्यो । त्यसपछि गोदावरीधाममा व्यवस्थित आर्यघाट निर्माण भएको हो । गत वैशाख १२ गतेदेखि आर्यघाट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

गोदावरीको त्यो बगरमा पहिलेको जस्तो अवस्था छैन । पर्यटन पूर्वाधार विकास आयोजनाको रु दुई करोड, गोदावरी नगरपालिकाको रु २४ लाख र प्रदेश सरकारको रु एक करोड गरी कुल रु तीन करोड २४ लाख लागतमा आर्यघाटका संरचना निर्माण भएका छन् । यहाँ एकैपटक सातवटा शवको दाहसंस्कार गर्न सकिने घाट छन् ।

दाहसंस्कारका लागि पानीको अभाव नहोस् भनेर दुई वटा बोरिङ निर्माण गरिएका छन् । दाहसंस्कारपछि दाहस्थल सफा गर्न सात वटा पानीका पाइपलाइन जडान गरिएका छन् । पाँच लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ बनाइएको छ । मलामीले नुहाउन मिल्नेगरी ११ वटा धाराको व्यवस्था गरिएको छ ।

मृतकका आफन्तका लागि चारकोठे किरियापुत्री घर निर्माण गरिएको छ । वर्षायाममा खोलाको बहावबाट आर्यघाट जोगाउन ग्याबिन जालीवाल निर्माण गरिएको छ । सरसफाइ र आवश्यक व्यवस्थापनका लागि एक जना कर्मचारीलाई कार्यस्थलमै खटाइएको छ । मृत्यु संस्कारका लागि चाहिने आधारभूत व्यवस्था एकै ठाउँमा गरिएका छन् । यसले वर्षौंदेखि नागरिकले भोग्दै आएको एउटा समस्या समाधान भएको छ ।

“अब गोदावरीमा कसैको मृत्यु हुँदा शोकमा डुबेको परिवारले दाहसंस्कारका लागि पानी खोज्दै भौँतारिनुपर्ने अवस्था छैन । वर्षायाममा खोलाको बहावसँग जोखिम मोल्नुपर्ने बाध्यता पनि हटेको छ”, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले भन्नुभयो ।

यो केबल भौतिक संरचना निर्माणको विषय मात्रै नभई मृत्यु संस्कारमा पनि मानिसले सम्मान र सहजता पाउनुपर्छ भन्ने सोचको परिणाम भएको उहाँको भनाइ छ । “मानिसले जीवनभर दुःख र चुनौती भोग्छ । जीवन चलाउन उसले अभावसँग जुध्छ, कठिनाइ सहन्छ र अनेक जिम्मेवारी पूरा गर्छ, तर मृत्युपछि पनि उसका आफन्तले आधारभूत संस्कार पूरा गर्न त्यस्तै दुःख भोगिरहनु नपरोस् भन्ने हाम्रो सोच थियो । त्यसले सार्थकता पाएको छ”, प्रमुख प्रशासकीय अधिकृत विनाडीले भन्नुभयो ।

‘मर्यादित मृत्युसंस्कार’

मानिसको जीवनमा जन्मदेखि मृत्युसम्म अनेक संस्कार जोडिएका हुन्छन् । तीमध्ये अन्तिम संस्कार सबैभन्दा संवेदनशील क्षण हो । मृत्यु रोक्न सकिँदैन, तर मृत्युपछिको अन्तिम संस्कारलाई सहज र सम्मानजनक बनाउन सकिन्छ ।

नगरप्रमुख भट्टको यही बुझाइबाट गोदावरीमा व्यवस्थित आर्यघाट बन्न सहज भएको हो । उहाँ मर्यादित मृत्यु संस्कारलाई मर्यादित जीवनकै एउटा आधार मान्नुहुन्छ । गोदावरीको आर्यघाट त्यही मानवीय संवेदनासँग जोडिएको भट्टको कथन छ । “जीवनको अन्तिम सत्य मृत्यु हो । मृत्युलाई रोक्न सकिँदैन, तर मृत्युपछिको यात्रा पीडादायी नहोस्, अन्तिम संस्कार सहज र सम्मानजनक होस् । गोदावरीमा बनेको आर्यघाटले यही सानो तर गहिरो मानवीय अर्थ बोकेको छ”, उहाँले भन्नुभयो ।

गोदावरीको नयाँ आर्यघाटले विकासको परिभाषालाई पनि एउटा फरक कोणबाट सम्झाएको छ । “विकास सधैँ ठूला सडक, भवन र संरचनामा मात्र देखिँदैन । कहिलेकाहीँ मानिसको सबैभन्दा कठिन घडीमा उसको एउटा दुःख कम गरिदिनु पनि विकास हो”, इञ्जिनियर जनक खड्का भन्नुहुन्छ ।

शोकमा रहेको परिवारलाई मृतकको अन्तिम संस्कारका लागि थप पीडा भोग्न नपर्ने अवस्था बनाउनु पनि स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी हो । गोदावरीको आर्यघाट त्यसैको एउटा उदाहरण बनेको छ । “पहिले कसैको मृत्यु भयो भने परिवार शोकमा हुने, त्यसमाथि दाहसंस्कार कसरी गर्ने भन्ने अर्को चिन्ता थपिन्थ्यो । अचेल कम्तीमा अन्तिम संस्कारका लागि आवश्यक आधारभूत व्यवस्था भएको छ । यसले नागरिकलाई केही सहज भएको छ”, खड्काले भन्नुभयो ।

‘संरचना बनेपछि जिम्मेवारी पनि थपिएको छ’

आर्यघाट व्यवस्थित बनेसँगै त्यहाँ रहेका संरचनाको संरक्षण र दीगो उपयोग अर्को सरोकारको विषय भएको नगरपालिकाले जनाएको छ । निर्माण भएको केही समयमै त्यहाँका ११ वटा पित्तलका धारा चोरी भएका र फोहर व्यवस्थापन चुनौतीका रूपमा देखिएको नगरपालिकाले जनाएको छ ।

त्यसैले नगरप्रमुख भट्ट सबैलाई बनेका संरचनाको संरक्षणमा सकारात्मक भूमिका खेल्न आग्रह गर्नुहुन्छ । “आर्यघाट निर्माण भएपछि वर्षौंदेखिको दुःख हटेको छ । अब यो सम्पत्तिको जगेर्ना गर्ने दायित्व पनि सबैको हो”, उहाँले भन्नुभयो, “नगरले आवश्यकताअनुसार पूर्वाधार थप्दै जान्छ, तर यो हामी सबैको साझा सम्पत्ति हो भनेर नागरिकले पनि माया गरिदिनुपर्छ ।”

गोदावरीको त्यो खोला किनार, जहाँ केही वर्षअघिसम्म पानी खोज्दै, बाढीको जोखिम मोल्दै र अव्यवस्थाबीच मृतकको अन्तिम संस्कार गर्नुपर्ने बाध्यता थियो, हाल यहाँ व्यवस्थित आर्यघाट बनाइएको छ । मृत्युको दुःख उस्तै छ । आफन्त गुमाउनुको पीडा पनि उस्तै छ, तर आर्यघाट बनेपछि कम्तीमा त्यो पीडामाथि अर्को पीडा नथपिने अवस्था बनेको छ ।

गोदावरीको यो आर्यघाट जीवनको अन्तिम सत्यलाई बदल्न नसकिए पनि अन्तिम संस्कारको बाटो सहज बनाउन सकिन्छ भन्ने उदाहरण बनेको छ ।