८ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु



अ+ अ-

काठमाडौँ। ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोड्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

संघीय संसदको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सोमवार विषय विज्ञ धनप्रसाद लामिछानेसँग भएको छलफलमा सांसदहरूले खर्क नीतिलाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोड्नुपर्ने बताएका हुन् ।

बैठकमा नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले खर्कलाई केवल पशुपालनमा मात्र सिमित नगरी जडिबुटी र पर्यटनसँग समेत एकीकृत रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउनु भयो । विद्यमान ‘खर्क ऐन २०६८’ मा सुधारको खाँचो रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा जिल्ला विकास समितिलाई दिइएको जिम्मेवारी र तदर्थ व्यवस्थापन समिति अधिकार सम्पन्न नहुँदा खर्क नीतिको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अब यसलाई राष्ट्रियकरण गरिएका खर्कहरूसँग जोडेर एकीकृत ढङ्गले अगाडि बढाउनुपर्छ ।’

नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालका बहुमूल्य जडिबुटी र वनस्पतिको व्यावसायिक खेती हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । भिमल, आँख र अल्लो जस्ता वनस्पतिको व्यावसायिक उत्पादन गरी निर्यात बढाउन सकिने उहाँको तर्क छ । उहाँले कच्चा पदार्थ आयात गरेर गरिने व्यवसायभन्दा स्वदेशी उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद विष्टले भन्नुभयो, ‘अल्लोको साग युरोपमा उच्च मूल्यमा बिक्री हुने सम्भावना छ, तर हामीले यसको उपयोग गर्न सकेका छैनौँ । वन ऐन, निकुञ्ज ऐन र खर्क ऐनलाई एकीकृत गरी नीतिगत सुधार नगरेसम्म हाम्रो व्यवसाय निर्यातमुखी हुन सक्दैन ।’

छलफलमा नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले खर्कको व्यावसायिक उपयोग गर्दा राष्ट्रिय सुरक्षा र सम्भावित दुरुपयोगको पक्षलाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो । खर्क क्षेत्रहरू प्रायः सीमावर्ती इलाकामा हुने भएकाले व्यावसायिकरणका नाममा हुनसक्ने नीतिगत छिद्र (लुपहोल्स) र सुरक्षा चुनौतीबारे सचेत रहनुपर्ने उहाँको भनाइ छ ।

काँग्रेसकै सांसद युवराज शर्माले ठूला फार्महरूभन्दा पनि प्रत्येक ग्रामिण परिवारलाई पशुपालनमा प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने बताउनु भयो । प्रत्येक परिवारले थोरै संख्यामा भएपनि भेडा वा अन्य पशुपालन गरेमा राष्ट्रिय स्तरमा ठूलो उत्पादन हासिल गर्न सकिने र यसले ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने उहाँले बताउनु भयो ।

समितिमा भएको यस छलफलले खर्क नीतिको व्यावहारिक कार्यान्वयन र कानूनी जटिलताहरू फुकाउँदै यसलाई मुलुकको आर्थिक विकासको आधार बनाउनुपर्ने निष्कर्ष निकालेको छ । –न्युज एजेन्सी नेपालक