काठमाडौँ। नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला सहभागीका लागि ‘ग्रिन रन’को रि–रन आयोजना गरेको छ ।
गत साउन ६ गते आयोजित दौडमा प्राविधिक कारणले महिला प्रतिष्पर्धाको विजेता छनौट हुन नसकेपछि शनिवार पुनः महिला दौड आयोजना गरिएको हो ।
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउने उद्देश्य ‘ग्रिन रन’ आयोजना गरिएको जानकारी दिनुभयो । जलवायु परिवर्तनविरुद्ध जनचेतना अभिवृद्धि गर्न राजनीतिक दलहरूले जिम्मेवारी लिनुपर्ने उहाँको भनाई छ ।
जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, नदी तथा हिमतालमा जोखिम बढेको उहाँले बताउनु भयो । आगामी पुस्ताको जनजीवन प्रभावित हुन नदिन नेपालका हिमालको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ ।
उहाँले जलवायु परिवर्तनसँगै महिला तथा बालबालिकाको सुरक्षा, बालश्रम अन्त्य, जातीय विभेद तथा घरेलु हिंसाको अन्त्य पनि राजनीतिक दलहरूको जिम्मेवारीभित्र पर्ने बताउनु भयो । राजनीतिक दलको प्रमुख जिम्मेवारी समाजमा आत्मसम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नु भएको उहाँको भनाई ।
ड्रग्सको समस्याका कारण परिवारमा परेको असर, बालश्रम, घरेलु हिंसा तथा जलवायु संकटजस्ता सामाजिक समस्याको समाधानका लागि राजनीतिक नेतृत्वले जनचेतना र अभियान सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले कार्बन उत्सर्जन घटाउने, कार्बन सिङ्क बढाउने तथा पृथ्वीको वातावरण संरक्षण गर्न कार्यमा जुट्न अपिल समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पृथ्वी जलवायु परिवर्तनबाट सङ्कटमा छ, सङ्कटमा छ भनेपछि यसलाई चाहिँ जनचेतना जगाइराखेर जलवायु परिवर्तनबाट पृथ्वीलाई जोगाऔँ र आगामी पुस्तालाई राम्रो पृथ्वी हस्तान्तरण गरौँ, कार्बन सिङ्क गरौँ, कार्बन उत्सर्जन गर्ने कुरालाई रिड्युस गर्दै जाऔँ भनेर चाहिँ अपिल गर्ने कसको काम ? राजनीतिको । बालकहरूले चाहीँ स्कुल पढ्न पाऊन्, बाबुआमाले चाहिँ ज्येष्ठ नागरिकले घरघरमा सम्मान पाऊन् भनेर अपिल गर्ने काम कसको भन्दा राजनीतिको । त्यसैले राजनीतिको यी समग्र ब्रडर इस्युहरू जे छन्, यो इस्युहरूको सन्दर्भमा बोल्ने क्रममा चाहिँ आज चाहिँ ‘जस्टिस फर गरिमा’ भनेर पनि महिला दिदीबहिनीहरू मार्फत नै प्रदर्शन भएको छ । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज फेरि रि–रन महिलाहरूको गराइराखेर जलवायु जनचेतना जगाउने कुरामा जोड दिने काम भयो ।’
नेपाली काँग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जलवायु परिवर्तनले नेपालमा ठुलो असर गरेको बताउनुभयो । सोही कारण जलवायू परिवर्तनको सचेतना जगाउनको लागी महिलाहरु ग्रिन रन प्रतियोगितामा सहभागी भएको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसले वीपी कोईराला स्मृति दिवसको अवसरमा साउन ६ गते आयोजना गरेरको ग्रिन रन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा महिलातर्फको बिजेता घोषणा गर्न नसकेको कारण शनिवार पुनः आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी महिलाहरूले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै ‘जस्टिस फर गरिमा’ नारा समेत प्रदर्शन गरेका थिए । –न्युज एजेन्सी नेपाल











