२८ असार २०८३, आईतवार
,
Latest
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छः सचेतक परियार बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द ‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’ बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित राप्तीमा बेपत्ता एक जनाको शव फेला इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर गोदावरी नदीबाट एक जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइफुन ‘बाभी’को कहर : चीनमा नौ लाखभन्दा बढी विस्थापित



अ+ अ-

किलुङ। शक्तिशाली टाइफुन ‘बाभी’का कारण शनिबार ताइवानको उत्तरी भाग, जापानका दक्षिणपश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक प्रभाव परेको छ । चीनमा नौ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौँ घरपरिवार विद्युत्‌विहीन भएका छन् ।

यसै साता चीनको दक्षिणी र मध्य क्षेत्रमा आएको चरम मौसमी अवस्थाका कारण कम्तीमा ३९ जनाको मृत्यु भएको छ । दर्जनौँ नदीमा बाढी आएको छ भने एउटा जलाशयको बाँध फुटेको छ । चीनको पूर्वी झेजियाङ प्रान्तको वेन्झाउ सहरमा आइतबार बिहान टाइफुन ‘बाभी’ जमिनमा ठोक्किने अनुमान गरिएको छ । स्थानीय प्रशासनका अनुसार शुक्रबार अबेरसम्म आठ लाख ८७ हजार ८०१ जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

वेन्झाउका अधिकारीहरूले सम्भावित ठुलो क्षतिलाई ध्यानमा राख्दै सबै उपलब्ध स्रोत परिचालन गरिएको बताएका छन् । पूर्वी झेजियाङ र उत्तरपूर्वी फुजियानमा अत्यधिक वर्षाको पूर्वानुमानपछि स्थानीय बासिन्दाले घर र पसलका झ्याल तथा सटरलाई सुरक्षित बनाउन विशेष तयारी गरेका छन् । उत्तरी चीनमा परेको अविरल वर्षाका कारण थप एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ । सम्भावित बाढी नियन्त्रणका लागि राजधानी बेइजिङ नजिकको मियुन जलाशयबाट पानी छोड्ने मात्रा पनि बढाइएको छ ।

ताइवानमा उडान रद्द, हजारौँ विद्युत्‌विहीन

ताइवानको उत्तरी क्षेत्रमा शनिबार अधिकांश सडक सुनसान देखिएका छन् । तीव्र हावा र वर्षाका कारण लगातार दोस्रो दिन अधिकांश व्यवसाय बन्द रहे । आँधीका कारण १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सयौँ उडान रद्द भएका छन् भने टापुभर एक लाख ७० हजारभन्दा बढी घरपरिवार विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

किलुङका एक नास्ता पसल सञ्चालकले अत्यावश्यक सेवामा खटिएका मानिसलाई खाना पुर्‍याउन आफू बाहिर निस्किएको बताउनुभयो । प्रशान्त महासागर हुँदै अघि बढ्ने क्रममा ‘सुपर टाइफुन’को स्तरबाट कमजोर बनेको ‘बाभी’को अधिकतम निरन्तर हावाको गति शनिबार प्रतिघण्टा १३७ किलोमिटरमा झरेको ताइवानको केन्द्रीय मौसम प्रशासन (सिडब्लुए) ले जनाएको छ । हावाको झोक्काको गति भने प्रतिघण्टा १७३ किलोमिटरसम्म पुगेको छ । सिडब्लुएले उत्तरी ताइवानमा अत्यधिक वर्षा र तटीय क्षेत्रमा १० मिटरसम्म अग्ला खतरनाक छाल आउन सक्ने चेतावनी दिएको छ ।

फिलिपिन्स र जापान पनि प्रभावित

फिलिपिन्समा टाइफुनका कारण आएको वर्षा, पहिरो र अन्य घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । करिब ११ हजार मानिस विस्थापित भएका छन् भने दर्जनौँ बन्दरगाह बन्द गरिएका छन् र ३१३ जहाज सुरक्षित स्थानमा राखिएका छन् । जापानका दक्षिणपश्चिमी टापुमा आँधीको प्रभावका कारण ओकिनावामा १८ हजारभन्दा बढी घरपरिवार र अन्य संरचना विद्युत्‌विहीन भएका छन् । मियाको क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । दर्जनौँ उडान रद्द हुँदा २६ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।

जलवायु परिवर्तनले बढायो जोखिम

युरोपेली सङ्घको कोपर्निकस मरीन सर्भिसका अनुसार विश्वका महासागरले गत जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम गरेका छन् । समुद्री सतहको तापक्रम बढ्दा उष्णकटिबन्धीय आँधी थप शक्तिशाली बन्ने र अत्यधिक वर्षा गराउने सम्भावना बढ्ने वैज्ञानिकले बताएका छन् ।

यस वर्ष पुनः सक्रिय भएको ‘एल निनो’ मौसमी प्रणालीले पनि प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम बढाएर यस्ता आँधीको प्रभाव थप तीव्र बनाउन सक्ने अनुमान गरिएको छ । यद्यपि ताइवानका केही स्थानीय बासिन्दाले सरकारी चेतावनी अपेक्षाभन्दा बढी कडा भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार केही क्षेत्रमा अनुमान गरिए जस्तो तीव्र वर्षा र हावाहुरी देखिएको छैन, यद्यपि अधिकारीले सतर्कता अपनाउन आग्रह गरेका छन् । रासस/एएफपी