२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द



अ+ अ-

महोत्तरी। पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

अत्यधिक बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्नसक्ने बताउँदै बिहीबार (२१ जेठ) र शुक्रबार २२ (जेठ) दुई दिन नगरक्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जानकारी दिनुभयो ।

बर्दिबास जिल्लामा सबैभन्दा बढी विद्यालय रहेको स्थानीयतह हो । यहाँ ५५ सामुदायिक र अन्य संस्थागत र धार्मिक गरी विद्यालयको सङ्ख्या ८० माथि छ ।

जिल्लामा गत शनिबारयता धेरै गर्मी बढेको छ । शनिबारयता निरन्तर मध्यान्हतिर ३८ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहँदै आएको छ । गत आइतबार नै जिल्लाकै गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा कोठामै १० जना छात्रा बेहोस भएर ढलेका थिए । उपचारपछि सबै छात्रा अब ठिक भइसकेका छन् ।

दिनदिनै दिनभरि घामको प्रचण्ड राप र तातो हावा बहने क्रम बढेको छ । यसले जनजीवन निकै प्रभावित भएको छ । त्यस्तै एक÷दुई दिनभित्र मौसममा सुधार नभए विद्यालय बन्द गर्नेबारे छलफल गरिने मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतह छन् ।

गर्मी छल्न बर्दिबासले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेपनि अन्य स्थानीयतहले भने अहिलेसम्म यस्तो सूचना गरेका जानकारी नभएको शिक्षा विकास समन्वय इकाई महोत्तरी कार्यालयका प्रमुख निर्मल घिमिरेले बताउनुभयो ।

गर्मीले गर्दा हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ । प्रचण्ड गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ ।

अत्यधिक गर्मीले विद्यालय पढ्न जाने ससाना नानीहरू, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी महिला र कडा शारीरिक श्रम गर्ने मजदुर बढी समस्यामा परेका छन् । रासस