१६ भाद्र २०८३, मंगलवार
,
Latest
झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै



अ+ अ-

कास्की। पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ ।

अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो । यसैबीच, अन्ततः खोलाघरभित्रका अतिक्रमित संरचना आजदेखि अभियानका रूपमा हटाउन सुरु गरिने भएको छ । महानगरले लामो प्रयासपछि अन्ततः फिर्केका अतिक्रमित संरचना हटाउन डोजर चलाउन लागेको हो ।

महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो ।  महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो ।

खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिई सकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । अतिक्रमित संरचना हटाउने कार्यको औपचारिक सुरुआत महानगर प्रमुख आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट गर्नुहुनेछ । महानगरले अतिक्रमित संरचना हटाउनका लागि सुरु गरिने अभियानको सबै तयारीका काम सकिएको जनाएको छ ।

महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिनेछ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटरस्थित लायन्स भवनदेखि  फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलाइने छ ।

अतिक्रमित संरचना हटाउने अभियान बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ । “फिर्के खोला लगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध हिसाबले काम सुरु गरेको छ । आजदेखि खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौँ,” महानगर प्रमुख आचार्यले भन्नुभयो ।

महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाहरूले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले पनि भवन खाली गरेका छन् ।

महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् ।  फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण गरिएका छन् । साबिक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ ।

फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भहरू गाडिएका थिए ।  रासस