५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रापालनबाट स्वरोजगार



अ+ अ-

म्याग्दी। मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थाल्नुभएको छ ।

पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो । “घरमै भएका दुई वटा माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका र माउबाख्राको सङ्ख्या ४८ वटा पुगेको छ”, उहाँले भन्नुभयो, “वार्षिक १५ देखि २० वटाको हाराहारीमा बिक्री हुन्छ ।”

बाख्रापालन सुरु गरेपछि घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनमा सहज भएको पुनले बताउनुभयो । सामाजिक काममा पनि आबद्ध पुन बाख्रापालन सुरु गर्नुअघि परम्परागत खेतीकिसानी र पशुपालन गरेर जीविकोपार्जन गर्दै आउनुभएको थियो । उहाँलाई बाख्रापालनमा श्रीमतीले पनि सघाउनुभएको छ ।

अठार महिनादेखि दुई वर्षको खसीलाई तौलअनुसार १५ देखि २० हजार मूल्य पार्न सकिने पुनले बताउनुभयो । बाबियाचौर, तातोपानी र बेनी बजारमा मासुका लागि खसीबोका बिक्री हुन्छ । धार्मिकस्थल मालिकामा बलि चढाउनका लागि पनि बोका, पाठा लैजाने गर्छन् । खसीबोकाकै हाराहारीमा पाल्ने किसानहरु पनि पाठापाठी किन्न आउँछन् ।

पुनले विसं २०७८ मा हिदी बाख्रापालन फार्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएको थियो । स्थानीय जमुनापारी जातको बाख्राको नश्ल सुधार गरेर पाठापाठी उत्पादन गर्न उन्नत बोयर जातको बोका पाल्नुभएको छ । बोयर बोकाबाट नश्ल सुधार गरेका पाठापाठी छिटो बढ्ने, तौल धेरै हुने भएकाले आम्दानी वृद्धिका लागि सहज भएको पुनको अनुभव छ ।

उक्त फार्ममा बाख्राको ब्यवस्थित खोर निर्माणका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु पाँच लाख अनुदान सहयोग गरेको थियो । मङ्गला गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उन्नत बोयर जातको एक वटा बोका उपलब्ध गराएको छ । फार्म स्थापनाका क्रममा लागेको रु १० लाख ऋण पनि खसीबोका र पाठापाठी बेचेर तिरिसकेको पुनले बताउनुभयो ।

बाख्राको खोरभित्र फरक÷फरक उमेर समूहका बाख्रा, बोका, खसी र पाठापाठी राख्ने छुट्टाछुट्टै कोठाहरु छन् । बधुवा प्रणालीबाट बाख्रापालन गरेका पुनले आहराका लागि बहुवर्षीय डालेघाँस खेती गर्नुभएको छ । घाँसखेती विस्तार र बाख्रापालनलाई थप व्यवस्थित गरेर निरन्तरता दिने पुनले बताउनुभयो । रासस